भर्खरै :

के पार्टी पाटी हो ?

निर्वाचन नजिकिएसँगै शासक दलहरूले जिल्ला–जिल्लामा अरू पार्टीका नेता कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउने लहर चलाएका छन् । एउटा पार्टीमा रहेका नेता कार्यकर्ताहरू आफ्नो पार्टीमा धाक–इज्जत कायम नरहेको लागेपछि अर्को पार्टीमा गइरहेका छन् । यसरी पार्टी प्रवेश गराउने र गर्नेहरूले पार्टीको आदर्श, सिद्धान्त र विधानलाई भने धुजाधुजा पारिरहेका छन् । पार्टी प्रवेश गराउनेहरूको ध्यान जसरी भए पनि पार्टी ठूलो बनाउनु र निर्वाचन जित्नु रहेको छ । पार्टी प्रवेश गर्नेहरूको ध्यान पनि सके चुनावको टिकट निश्चित गरेरै पार्टी बदल्ने नभए सकेसम्म फाइदा लिनु रहेको देखिन्छ । त्यसरी पार्टी प्रवेश गर्ने र केही दिनमा छोड्ने क्रियाकलापबाट राजनीतिक पार्टीलाई उनीहरूले जो पनि आउने र जाने पाटीसरह बनाएका छन् ।
राजनीतिक पार्टी एउटा निश्चित आदर्शका लागि उपयुक्त सिद्धान्त बोकी त्यसलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा व्यवहारमा लागू गरी अगाडि बढिरहेको एक सङ्गठित समूह हो । आदर्श र सिद्धान्त त्यागिसकेपछि ती समूहहरू विभिन्न स्वार्थ बोकी आ–आफ्नो व्यक्तिगत वा गुटगट स्वार्थका लागि लागिपर्ने मानिसहरूको झुन्ड वा आपराधिक समूह जस्तै भएका छन् । फरक यति हो आपराधिक समूहहरू हाकाहाकी लुट्ने गर्छन् र स्वार्थी समूहहरूले कानुन मिलाएर, जनताको आँखा छलेर देश र जनतामाथि लुट मच्चाउने कार्य गरिरहेका छन् । त्यस्ता समूहभित्र रहेका तुलनात्मकरूपमा निःस्वार्थी र इमानदार व्यक्तिहरूको चित्त दुख्नसक्ला तर वास्तविकता यही हो । नभए हिजोसम्म राजनीतिक शत्रु वा वर्ग शत्रुको कित्तामा रहेकाहरू हिजोको आजै आफ्नो पार्टीको नेता कसरी बनाउन मिल्छ र ? के विचार परिवर्तन गरे नगरेको परीक्षणकालमा राखेर जाँच गर्नु पर्दैन र ? कम्युनिस्टहरू पतन भएर पुँजीवादी हुन समय लाग्दैन तर एकजना पुँजीवादी पार्टीमा सक्रिय मानिस एकाएक कम्युनिस्ट कसरी बन्न सक्ला र ? हुन त सत्तामा गएका कम्युनिस्ट नामधारी पार्टीहरूको लागि त कम्युनिस्ट शब्द जनतालाई झुक्याउने र चुनावमा जनताको मत तान्नको लागि प्रयोग गर्ने ब्रान्डभन्दा बढी केही रहेन । नेपाली जनताले त्यस्ता पाखण्डी पार्टीहरूलाई बहिष्कार गरेर सच्चा कम्युनिस्ट, समाजवादी र देशभक्त पार्टी रोज्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *