भर्खरै :

मित्र, मित्रता र कृतघ्नता

समाजमा असल, मध्यम र अधम गरी तीन किसिमका मानिस हुन्छन् भनी प्राथमिक विद्यालयमा गुरुहरूले पढाउनुहुन्थ्यो । खानेकुरामा पनि गुणकारी, हानी नगर्ने र हानीकारक भनी तीन थरी वस्तु हुन्छन् । त्यस्तै, मानिस, संस्था र राज्यसमेत परोपकारी, सरल र दुष्ट रहेको व्यवहारले देखाउँदै छ । लगानी र व्यापारमा पनि एक पैसा दिएर १० पैसा ब्याज र नाफा लिनेहरू पनि हुन्छन् ।
देश देश र राज्यहरू पनि व्यवहारमा राम्रा, ठिक्कको र खराब देखिँदै आएको हामी भोग्दै छौँ । मित्र देशहरूले नेपाललाई एम्बुलेन्सजस्ता बिरामी र अस्पतालको सेवा गर्न दिएको उपहारलाई ‘रक्सी’ र ‘लागु पदार्थ’ ओसारपसार तथा जुवा खेल्न समेत प्रयोग भएको समाचार पढ्छौँ ।
विद्यालय र अनेक शिक्षालयहरू पनि राम्रा मित्र राष्ट्रहरूले उपहारको रूपमा निर्माण गर्दै नेपाल र नेपाली जनतालाई प्रदान गर्छन् । तर, हाम्रा नेपालीहरूले ती भवनहरू वर्षाैँसम्म प्रयोग गरेका हुँदैनन् भने कहीँ – कहीँ त शौचालयहरूलाई नर्क तूल्य बनाएका हुन्छन् । अनि, सरसफाइ र मर्मत गर्न तथा थप केही निर्माण गर्न तत् तत् मित्र देशका दूतावासहरूसँगै गुहार माग्छन् !
हामी आफ्नो देश नेपाललाई ‘सभ्य’ र ‘सुसंस्कृत’ एवम् ‘नैतिकवान्’ सम्झन्छौँ । तर, हाम्रा जनप्रतिनिधि, ‘राष्ट्रिय’ पार्टीका नेता र कर्मचारीहरूको व्यवहार माथि उल्लेख गरिएजस्तै छ । सम्भवतः यो स्थिति नेपालको मात्रै नहुन सक्छ ! भारतको जीटीभीले एक पटक जापानले निर्माण गरेको दु्रतत्तर रेलमार्गका डब्बाहरूमा सजाइएका भाँडाकुँडा, पङ्खा, तकिया, तन्ना आदि लिन मिल्ने सबै सामान आफ्नै देशका यात्रुहरूले २–४ हप्तामै लिएर वा खाली गरेर आ–आफ्नो ‘बहादुरी’ देखाएको प्रशारण गरेको थियो ।
कहिलेकाहीँ यस्ता व्यवहारलाई ‘तेस्रो विश्वको’ व्यवहार भन्ने गरिन्छ । नेपाल पनि ‘तेस्रो विश्व’ मै पर्छ । यसमा अरूलाई दोष दिनुभन्दा आफ्नै देशका नेताहरूले निर्वाचनको बेला मतदाताहरूलाई विविध विषयका सदाचारबारे बताउन आवश्यक छ ।
हाम्रा नेपाली कविहरूले यस्ता विषयमा आफ्ना अभिव्यक्तिहरूमार्फत सचेत पार्न प्रयास नगरेका होइनन् । ‘गुणका वैरी मनुष्य जाति’ भनेर मानव समुदायकै नकारात्मक पक्षलाई सङ्केत गर्दै सुधार र शिक्षित गर्न आह्वानको रूपमा लिने गरेको पाइन्छ ।
यस्ता अनेक अँध्यारा पक्षहरू हुँदाहुँदै नेपाल र नेपाली जनताले आफ्ना मित्र राष्ट्रहरूले प्रदान गरेका कल–कारखाना र सेवाका साधनहरूलाई बेच्दै र खाँदै जाँदा हामी विदेशी व्यापारिक सामानमा भर पर्दै गयौँ । यसबारे सोभियत सङ्घ र चीन अगाडि छ । कति उपहार दिएका कल–कारखानालाई हामीले मर्मतसम्भारै नगरी पत्रु बनाएर राख्यौँ । बढी मोल तिरेर तथा देशमै उत्पादन गर्न छोडेर विदेशी वस्तु उपयोग गर्दै छौँ ।
दोष कसको ? सरकार, कर्मचारी, शासक दलहरू वा सम्पूर्ण नेपाली जनताको ? होइन, सम्बन्धित संस्था–कारखाना, विभाग, कार्यालयका हाकिमहरू जिम्मेवार हुन् । एक बेला सिंहदरबारकै सयौँ मर्मत गर्न सकिने सवारी साधनलाई पत्रु बनाएर धेरै रकम एजेन्टलाई खुवाएर पनि नयाँ र महँगा गाडी हामीले किन्यौँ ! के हाम्रो देशभक्ति र कर्तव्य त्यही हो ?
हिजोको त्यस व्यवहारले आज हाम्रा मित्रहरूसँग नयाँ सहयोगको याचना र अनुरोध गर्न लज्जाबोधको अनुभव गर्दै छाँै । जबकि, ती नयाँ मित्रहरूलाई पुराना विषय थाहा नभएको पनि हुन सक्छ । यसबारे हाम्रा परराष्ट्र मन्त्रालयका पदाधिकारी, मन्त्री र राजदूतावासहरूमा काम गर्ने कर्मचारीहरू एवम् हामी साधारण जनता बढी संवेदनशील हुनैपर्ने अनुभव हुन्छ ।
हाम्रो नयाँ पुस्तालाई देश र जनताप्रति मात्रै होइन, हामीलाई दुःखको बेला सहयोग गर्ने सबै मित्रहरूप्रति कृतज्ञ हुने शिक्षा दिन आवश्यक छ । किनभने, ‘रोटी एक हातले पाक्दैन’ र ‘ताली एक हातले बज्दैन ।’ हाम्रो दैनिक व्यवहारमा जस्तै कूटनैतिक क्षेत्रमा पनि कृतज्ञता र कृतघ्नताको अर्थ लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *