भर्खरै :

नपली सिर्जनानगरका स्थानीय र जनप्रतिनिधिबीच भेटघाट तथा छलफल

भक्तपुर, १८ चैत । भक्तपुर नगरपालिका वडा नं. १ को वडा कार्यालयको आयोजनामा नपली सिर्जना नगरका स्थानीय वडावासी र भक्तपुर नगरपालिकाका जनप्रतिनिधिबीच शुक्रबार समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचन जनताको राजनैतिक चेतनास्तर नाप्ने ब्यारोमिटर भएको बताउँदै स्वच्छ, धाँधलीरहित र निष्पक्ष ढङ्गले तोकिएको मितिमै स्थानीय निकायको चुनाव हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा पैसा खर्च गरी चुनाव जित्ने गलत संस्कारको विकास भइरहेको बताउँदै प्रमुख प्रजापतिले समाजवादी व्यवस्था संसारको नवीनत्तम व्यवस्था रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको साथ र सहयोगले हामीले काम गर्न सहज महसुस गरेका छौँ । जनप्रतिनिधि र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर यो अवस्थामा पुग्न सम्भव भएको हो ।”
राजनीतिक दलहरूको सिद्धान्तहीन गठबन्धनको कुनै औचित्य नभएको बताउँदै उहाँले राजनीतिक पार्टी भनेको विचार र सिद्धान्तको आधारमा चल्नुपर्छ भन्नुभयो ।
भक्तपुर नपाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाई नगरभित्र सञ्चालित विद्यालयहरूमा पठनपाठन गर्दै भक्तपुरको इतिहास, भूगोल, कला—संस्कृति, सम्पदा, मौलिक सीप तथा प्रविधि र विभिन्न पक्षका विशिष्ट व्यक्तित्वहरूको जीवनीबारे जानकारी दिने प्रयास गर्दै आएको प्रस्ट पार्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीमा पठन संस्कृतिको विकासको लागि जनज्योति पुस्तकालयलाई स्तरीय बनाउनुका साथै वडा–वडामा रहेका पुस्तकालयहरूलाई पनि व्यवस्थित गर्ने प्रयासमा जुटेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडावासी जनताको प्राथमिकताको आधारमा विकास निर्माणलाई अगाडि बढाएको प्रसङ्ग जोड्दै वडाको खानेपानी समस्या समाधान गर्न सम्बन्धित ठाउँमा पहल भइरहेको जानकारी गराउनुभयो । वडाले भक्तपुरको भाजुपोखरी, रानीपोखरीलाई पुनःजीवन दिने काम गरेको उल्लेख गर्दै सल्लघारीस्थित १०८ रोपनी जग्गामा पर्खाल निर्माण गरी संरक्षण गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नपली सिर्जना सेवा समितिका अध्यक्ष राममणि पोखरेलले सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुर नगरपालिकाले गरेको काम प्रशंसनीय रहेको उल्लेख गर्दै नपाले नगरका मूल सडकमा बिछ्याएको ढुङ्गाले नगरको सुन्दरता अझ बढाएको बताउनुभयो ।
नपली सिर्जना सेवा महिला उपसमितिका उपाध्यक्ष मञ्जु निरौलाले भक्तपुर नगरपालिकाको पाँच वर्ष कार्यकालमा नपली सिर्जनानगरमा धेरै विकास निर्माणका गतिविधि भएको बताउँदै जनप्रतिनिधिकै पहलका कारण बर्सेनि हुने बाढी र डुबानको समस्या समाधान भएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो । स्थानीय वडावासीहरूले नपली सिर्जनानगरका विविध पक्षबारे नगर प्रमुख प्रजापति र वडाध्यक्ष खत्रीसँग आ–आफ्नो जिज्ञासाहरू राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *