भर्खरै :

सूर्यविनायक नगरपालिकामा महिला सम्मेलन

भक्तपुर, १९ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घ सूर्यविनायक नगर समितिको दोस्रो नगर सम्मेलन नेमकिपाका केन्द्रीय सदस्य एवं नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरको आतिथ्यमा शनिबार सम्पन्न भयो
सभामा अतिथि थापामगरले कामदार महिलाहरू राजनीतिकरूपले सचेत र सङ्गठित भएमात्र कामदार जनताले सुख पाउने बताउनुभयो ।
माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा पार्टीको मार्गनिर्देशक सिद्धान्त भएको स्पष्ट पार्दै उहाँले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ भन्नुभयो ।
एमसीसी सम्झौता देशघाती भएकोले उक्त सम्झौता खारेज नभएसम्म नेमकिपाले विरोध गरिरहने उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य थापामगरले भन्नुभयो, “भारतले नक्कली कम्युनिस्ट तयार गरी माओको नाममा १० वर्षे ‘जनयुद्ध’ गरेर सोझा–सीधा जनतालाई झन् दुःख भयो ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले महिला सचेत भए समाजमा परिवर्तन चाँडो हुने धारणा राख्नुभयो ।
लोभलालच र व्यक्तिगत स्वार्थबाट टाढा रहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले महिलालाई पुरूषलाई भन्दा बढी रोग लाग्ने सम्भावना भएकोले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले भ्यू टावरको नाममा सरकारमा गएको पार्टीले देशको अर्बौँ रुपियाँ अनावश्यक काममा खर्चिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भ्यू टावरको सट्टामा स्वास्थ्य र शिक्षामा बढी लगानी गरेको भए कामदार जनताले केही भए पनि राहत पाउँथ्यो ।”
पार्टीका अर्का केन्द्रीय सदस्य एवं नेक्रामहिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैया सुवालले नेक्रामहिला सङ्घले स्थापनाकालदेखि कामदार वर्गका महिलाहरूको मुक्तिको लागि सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष मनशोभा त्वातीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वाती, किसान सङ्घका राजेन्द्र बखुन्छे, युवा सङ्घका रोशन मचामसी, आयोजक समितिका मीना मास्के र चनमती बखुन्छेँले पनि बोल्नुभएको थियो ।
सम्मेलनले मीना मास्केको अध्यक्षतामा १५ सदस्यीय नेक्रामहिला सङ्घ सूर्यविनायक नगर समिति चयन गरेको छ ।
निर्वाचित पदाधिकारीहरूलाई महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगर र कमलमैयाँ सुवालले बधाई दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *