भर्खरै :

भनपा १० मा धन्यवाद ज्ञापन कार्यक्रम

भक्तपुर, १९ चैत । भक्तपुर नगरपालिका १० नं वडा समितिको आयोजनामा २०७४ सालको स्थानीय निर्वाचनमा विजयी जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकालमा १० वडामा भएका विभिन्न गतिविधिहरूमा सहयोग गर्नुहुने वडावासीलाई धन्यवाद ज्ञापन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकामा नेमकिपाको घोषणापत्र र जनताको सुझावअनुसार कार्य भएको एउटैमात्र नगरपालिका रहेको बताउँदै एमाले ४० प्रतिशत, काङ्ग्रेस ३३ प्रतिशत, माओवादी १५ प्रतिशत स्थानीय तहमा निर्वाचित भए पनि काम नभएको बताउनुभयो ।
उहाँले नेमकिपाले शिक्षा, स्वास्थ्य, सफाइ, सम्पदा संरक्षण र नमुना नगर बनाउने सोचले नगरवासीको सेवामा काम गरेको उल्लेख गर्दै जनप्रतिनिधिविहीनको समयमा पनि सहयोग गरेको बताउनुभयो ।
सार्वभौम देशमाथि भएको भारतको थिचोमिचोको विरोध गर्दै उहाँले भारतले नाकाबन्दी गर्दा नेमकिपाले संसद्मा आवाज उठाएको बताउनुभयो ।
उहाँले देशमा रासायनिक मलको व्यवस्था नगरी किसानमाथि खेलबाड गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरले पाएको ख्याति जनताको साथ र सहयोगले नै हो भन्नुभयो । उहाँले घोषणापत्रको आधारमा भनपाले कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले वडाका विकास योजनाबारे जानकारी दिनुभयो । पूर्वउपमेयर चैत्यराज शाक्य, चन्द्रबहादुर उलक र जितेन्द्र मुनंकर्मीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरूले विभिन्न उपभोक्ता समितिमा बसेर काम गरेका महानुभावहरू, कोरोनाको समयमा सहयोग गर्ने स्वयम्सेवकहरू, वडाका विभिन्न बाजा खल, स्वास्थ्य स्वयम्सेविका, खेलकुद समिति र खेलकुदमा सहयोग गर्नेहरूलाई धन्यवाद–पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *