भर्खरै :

ललितपुरमा प्रथम नेपालभाषा साहित्य तःमुंज्या

ललितपुर, १९ चैत । पहिलो नेपालभाषा साहित्य तःमुंज्या ललितपुरको खोकनामा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले जनताको साहित्यमा समयको आवाज प्रतिध्वनित हुने धारणा राख्दै भूपी शेरचनको ‘हुँदैन बिहान मिर्मिरेमा ताराहरू झरेर नगए …’ राणा शासनको अत्याचारविरूद्धको आवाज भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “खोकना र बुङमतीको सांस्कृतिक सम्पदा म्हासिने गरी बनाइने द्रुतमार्गले जनतालाई के–कस्तो दुःख हुन्छ र द्रुतमार्ग निर्माण योजना किन खारेज गर्नुपर्छ भन्ने विषयमा अबको साहित्यमा उल्लेख हुनु जरूरी छ । एमसीसी सम्झौताका देशद्रोही प्रावधान र अमेरिकी साम्राज्यवाद र नेटोजस्तो सैन्य मोर्चाको कारण युक्रेनमा सङ्कट उत्पन्न भएको हो । रूसले युक्रेनको असैनिकीकरणमात्र चाहेको हो, युद्ध नचाहेकोबारे पनि साहित्यमा लेखिनु जरूरी छ ।”
“पाँच वर्षअगाडि स्थानीय तहको निर्वाचन घोषणापत्रमा नेकाले कृषिमा उद्यमशीलता, माध्यमिक तहसम्म पूर्ण निःशुल्क र अनिवार्य गर्ने उल्लेख गरेको थियो । माओवादीको घोषणापत्रमा समृद्ध गाउँ नगर, गाउँ गाउँमा सिंहदरबार उल्लेख थियो । एमालेको घोषणापत्रमा आफ्नो गाउँ आफै बनाऔँ, शिक्षित बेरोजगार हुनु नपर्ने, एक घर एक रोजगारी उल्लेख थियो । तर ती पार्टीहरूले घोषणापत्रअनुसार प्रतिबद्धता पूरा गरेनन्”, सचिव सुवालले भन्नुभयो ।
“अहिले दाल, चामल र तरकारी भारतबाट आयात बढ्दो छ । ओरियन्टल र सिभिल सहकारीलगायतले अर्बौँ रूपियाँ ठगी गरेका छन् । ४३ प्रतिशत विद्यार्थी महँगो शुल्क तिरेर निजी विद्यालय र कलेजमा अध्ययन गर्न बाध्य छन् । सुविधा नहुँदा गाउँ उठीवास भएको छ । ८० लाख युवा वैदेशिक रोजगारीमा छन् । चुनावमा ४० दिनको लागि एक लाख म्यादी प्रहरीको सूचनामा ४ लाखको दर्खास्त प¥यो । काठमाडौँ विश्वकै प्रदूषित ठाउँ भयो । यी विषयहरूबारे पनि साहित्यमा लेखिनुपर्छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भाषा साहित्यको विकास पुँजीवादी सरकारले नभई जनताका साहित्यकारहरूले गर्ने धारणा राख्दै नेपाली जनताको सांस्कृतिक, ऐतिहासिक धरोधर हामीले नै उँचो बनाउनुपर्ने बताउनुभयो । उपत्यकाको संस्कृति र सामाजिक संरचना ध्वस्त गर्ने काममा नेपाली काङ्ग्रेस, एमाले र एमाओवादी लागिपरेको चर्चा गर्दै अबको निर्वाचनमा ती पार्टीहरूलाई पराजित गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुरका अध्यक्ष नारायण महर्जनले जनताको साहित्यले आदर्श समाज निर्माणमा सहयोग गर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या भक्तपुरका अध्यक्ष आशाकुमार चिकंबन्जारले कामदार जनताले लेखेपछि मात्र जनताको साहित्य विकास हुने बताउनुभयो ।
कवीन्द्र डंगोलको सभापतित्वमा भएको कार्यक्रममा कृष्णभगत महर्जन, बुद्धरत्न शाक्य, शरणगोपाल डंगोल, अशोक महर्जन, नेपाल डंगोल र अष्टबहादुर महर्जनलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा खोकनाका वरिष्ठ कार्टुनिस्ट मोहनश्याम डंगोल र वरिष्ठ राग गुरु काजीलाल डंगोललाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *