भर्खरै :

वडावासीलाई जनप्रतिनिधिको धन्यवाद

भक्तपुर, १९ चैत । भक्तपुर नगरपालिका २ नं.वडा कार्यालयको आयोजनामा स्थानीय तहको निर्वाचनपछि सम्पन्न भएका विकास निर्माण र सम्पदा पुन निर्माण कार्यमा उपभोक्ता समिति र अनुगमन समितिमा बसी योगदान गर्नुभएका पदाधिकारीहरू र वडा कार्यालयको आयोजनामा भएका विविध गतिविधि एवं कोभिड—१९ नियन्त्रण र न्यूनीकरण कार्यमा सहयोग गर्नुभएका स्वयंसेवकहरूलाई धन्यवाद—पत्र वितरण भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पाटीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले विभिन्न उपभोक्ता समिति, अनुगमन समितिका पदाधिकारी र स्वयंसेवकहरूलाई धन्यवाद—पत्र वितरण गर्नुभयो ।
सांसद गोसाईले पार्टीले मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराअनुसार कामदार जनताको हक र हितमा काम गरिरहेको बताउनुभयो ।
जनताको सेवाको लागि जनतालाई परिचालन गरी उपभोक्ता समितिमार्फत काम गर्नु र जनतालाई सुसूचित पार्नु सराहनीय काम हो भन्नुभयो ।
भक्तपुर नगरपालिका साविक वडा नं.१५ का पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले भक्तपुर नगरपालिका सधैँ जनताको सेवाकै लागि सक्रिय रहेको र विरोधीहरूले जहिले पनि असहयोग गर्ने गरेको बताउनुभयो ।
पूर्ववडाध्यक्ष आशकुमार कोजुले देको मिवा इतापाके जग्गा एकीकरण आयोजनामा भइरहेको विरोध विरोधको लागि विरोध र सही कार्य अवमूल्यन गर्ने गतिविधि हो भन्नुभयो ।
भक्तपुर नगरपालिका २ नं.वडाका वडाध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपभोक्ता समितिका प्रतिनिधिहरूको तर्फबाट लक्ष्मीभक्त लासिवा, वडा सदस्य तुल्सीलक्ष्मी दुमरु र श्यामसुन्दर मातांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *