भर्खरै :

नेमकिपाको चुनाव चिह्न मादल

नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न मादल हो । अहिले हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि नेमकिपाको चुनाव चिह्न मतपत्रको दसौँ रोलक्रममा रहने निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तह निर्वाचन ऐनमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रमको व्यवस्था गरिएको थियो । प्रदेश सभा सदस्य निर्वाचन ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको व्यवस्थामा निर्वाचनमा समानुपातिकमा प्राप्त मतको आधारमा अर्काे निर्वाचनका लागि चिह्न निर्धारण हुने व्यवस्था भएअनुसार नेमकिपाको मादल चिह्न दसौँ रोलक्रममा परेको हो ।
मादल नेमकिपाको परिचित चिह्न हो, जनताको परिचित चिह्न हो, स्थापित चिह्न हो । स्थानीय तहको निर्वाचनमा हरेक मतदाताले मादल चिह्न रोजीरोजी छाप हालेर जनताका योग्य उम्मेदवार छान्नुपर्ने हुन्छ । नेमकिपा देश र जनताको पक्षमा सङ्घर्ष गरिरहेको पार्टी हो । दलको सिद्धान्त र विचारको आधारमा इमानदारीपूर्वक राजनीति गरिरहेको पार्टी हो । देशमा आमूल परिवर्तनको निम्ति जनतालाई राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपले सचेत र सङ्गठित गर्नुपर्छ भन्ने मान्यताको आधारमा नेमकिपाले समाजवादी प्रचार अभियान छोडेको छैन । पद र पैसाको निम्ति राजनीति नगर्ने नेमकिपा जनताको विश्वासिलो पार्टी हो । देश र जनताप्रति समर्पित नेमकिपालाई जनताले रोज्नुपर्छ, दलको चुनाव चिह्न मादलमा छाप राख्नुपर्छ ।
निर्वाचन सिद्धान्त र विचारको लडाइँ गर्ने थलो हो । विचारको यो लडाइँमा शोषित पीडित जनता या बहुमत जनताको प्रतिनिधित्व गर्ने दल नेमकिपालाई छान्नु प्रत्येक मतदाताको कर्तव्य हो । देशघाती दललाई जिताउनुको अर्थ आफू पनि देशघाती साबित हुनु हो । भ्रष्टाचारी, कालाबजारी, जनविरोधीजस्ता आपराधिक उम्मदेवारहरूलाई मतदान गर्नुको अर्थ आफू पनि त्यहीँ पङ्क्तिमा उभिनु हो । कुनै दल ठूलो र सत्तामा रहेको आधारमा हामीले मतदान गर्ने होइन । दलको सिद्धान्त र विचारको आधारमा मतदान गर्ने हो । कुनै पनि मतदाताहरूले पैसा, भोजभतेर, लोभलालचको आधारमा मतदान गर्ने होइन । यसतर्फ सबै मतदाताहरू सचेत हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *