भर्खरै :

पुस्तक संस्कृति

“पुस्तक नभएको कोठा आत्मविहीन शरीरजस्तै हो ।” यो भनाइले मानिसको जीवनमा पुस्तकको महत्वलाई निकै सूक्ष्म वर्णन गरेको छ । सभ्यताको इतिहासमा मानिसले आविष्कार गरेका असङ्ख्य अमूल्य वस्तुमध्ये सबभन्दा अनुपम आविष्कार हो –पुस्तक । चराचर जगतका असङ्ख्य प्राणीमध्ये मानिसको विशिष्टता उसको विचार र चिन्तनमा निहित छ । मानिसका त्यही विचार, चिन्तनशीलता र कल्पनशीलताको सङ्ग्रह गर्ने वस्तु पुस्तकले मानिसलाई पृथ्वीको सभ्य र सुसंस्कृत प्राणी बनाउन अतुलनीय भूमिका खेलेको छ । त्यसकारण पुस्तकको आविष्कार भएयता मानिसको संस्कृति पुस्तकसँगसँगै हुर्किँदै आएको छ ।
संसारमा त्यो समाज अघि बढेको देखिन्छ जुन समाजमा पुस्तक अध्ययन संस्कृति जीवन्त छ । पुस्तक लेखन, पठन, बहस, विमर्श चलेको समाज आफू हिँड्ने अगाडिको बाटोमा प्रस्ट हुने गरेको छ । शाब्दिक अर्थमा पुस्तक निर्जीव भौतिक वस्तु भए पनि त्यसले समाज र सिङ्गो संसारलाई जीवन दिन अहम् भूमिका खेलिरहेको हुन्छ ।
पुस्तक अध्ययन संस्कृतिलाई प्रश्रय दिने हेतुले ‘आरम्भ समूह’ले सोमबारबाट भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनको आरम्भ गरेको छ । आफै पनि पुस्तक अध्ययनमा गहिरो रुचि राख्नुहुने अध्ययनशील व्यक्तित्व नारायणमान बिजुक्छेँले सोमबार प्रदर्शनको उद्घाटन गर्नुभयो । पुस्तक प्रदर्शनको आरम्भ गर्ने क्रममा कार्टुनिस्ट दामोदर सुवालका व्यङ्ग्यचित्रहरूको सङ्कलन पनि सार्वजनिक गरियो ।
पृथ्वीनारायण शाहले भक्तपुरमाथि कब्जा जमाएपछि यहाँको ऐतिहासिक पुस्तकालयमा आगजनी गरेको इतिहासले भक्तपुर र तत्कालीन मल्ल राज्यहरू पुस्तक संस्कृतिमा अगाडि रहेको थाहा हुन्छ । भक्तपुरलाई ‘ज्ञान र विज्ञानको केन्द्र’ बनाउने आजको राजनीतिक नेतृत्वले पनि पुस्तक संस्कृति प्रवद्र्धनकै माग गर्छ । भक्तपुरको जनज्योति पुस्तकालयको तस्बिर सामाजिक सञ्जालमा हालै पोस्ट हुँदा दसौँ हजार मानिसले पुस्तकालयको भव्यता देखेर खुसी व्यक्त गरेका थिए । नःपुखुसँगैको जनज्योति पुस्तकालयको परिवेश पुस्तकप्रेमीलाई ज्ञान आर्जनको निम्ति हौस्याउने किसिमको छ ।
भक्तपुरमा गएको दशकदेखि पुस्तक प्रदर्शनी हुन थालेको हो । विभिन्न समयमा पुस्तकप्रेमीहरूका विभिन्न समूह मिलेर रचनात्मक कार्यक्रम गर्दै आएका छन् । कोभिड–१९ महामारीको कारण केही वर्ष रोकिएको पुस्तक प्रदर्शनी यो वर्षबाट पुनः आरम्भ भएको छ । यो शिलशिला आगामी दिनमा पनि जोड्न जरुरी छ । निःसन्देह प्रतिकूलताका अजङ्ग पहाड बाटोमा नभएको होइन । तर, ‘पहाड पन्छाउने मूर्ख बुढो मान्छे’को विवेक जस्तै यो अजङ्गको पहाड पन्छाएपछि पुस्तौँ पुस्ताले पाउने चेतनाको उज्यालो भने युग युगको लागि हुनेछ ।
पुस्तक प्रदर्शनमा पुस्तकप्रेमीहरूको उत्साह र पुस्तक व्यवसायीहरूको सक्रियतामा लेखक र समाजका पथप्रदर्शकहरू होस्टेमा हाइसेले समाजलाई सांस्कृतिकरूपमा समृद्ध बनाएको छ । भक्तपुर संस्कृतिले धनी नगर भन्नुको अर्थ बाजागाजा र नाचगान त हुन् नै, अध्ययन र अन्तरक्रियाको संस्कृतिको पनि केन्द्र बनाइनु पर्छ । भक्तपुरको संस्कृतिको संरक्षण गर्नुको अर्थ मन्दिर, पाटी पौवा र बाजागाजा, नाचगानको संरक्षण गर्नु त हो नै । त्यसका साथै नयाँ पुस्तालाई नवीन विचार र विश्व परिवेशको अध्ययनको निम्ति पढाउनु, पुस्तक किन्नु र आपसमा छलफल गर्नु पनि हो ।
आरम्भ समूहले थालेको अभियान हजार माइलको यात्राको एउटा पाइलामात्र हो । सुसंस्कृत समाज बनाउन हिँड्नुपर्ने बाटो लामो छ । तथापि, त्यो लामो यात्राको निम्ति पुस्तक प्रदर्शनीमार्फत चालिएको कदम ज्यादै महत्वको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *