बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
सेमेस्टर सिस्टम कसैको लागि ऐन र कसैको लागि चयन भएको छ । यो नियम सबैको लागि समान छैन । विशेष गरेर समाजशास्त्र विभागमा सेमेस्टर सिस्टमअनुसार ८० प्रतिशत हाजिर हुनुपर्ने प्रावधान रहे पनि जो पावरको नाजिक छ, त्यो विद्यार्थी एक दिन कक्षाकोठामा उपस्थित नभए पनि आन्तरिक मूल्याङ्कनमा ४० मा ४० नम्बर दिइएको छ भने नियमित कक्षामा उपस्थित हुने, राम्रो विद्यार्थीको न्यूनतम नम्बर २० मात्र दिइएको छ । ४० नम्बर प्रोफेसरको हातमा हुने हुँदा त्रिभुवन विश्वविद्यालयमा जति अन्याय, विभेद हुँदा पनि त्यसको विरूद्धमा विद्यार्थीले आवाज उठाउन सक्दैनन् । जुन विद्यार्थीले आवाज उठाउँछ, त्यो विद्यार्थीको भविष्य चौपट पर्ने काम प्रोफेसर र डिपार्ट प्रमुख मिलेर गर्छन् । ४० नम्बर विद्यार्थीलाई लगाम लगाउने औजार भएको छ ।
विद्यार्थीको क्षमता, उसको सिर्जनशिलताको आधारमा भन्दा पनि कुन विद्यार्थी कुन पार्टीको हो ? आफ्नो जातको हो कि ! अन्य जातको हो । उसको आमाबुबा कुन पदमा छन् । त्यसको आधारमा मनपरी तरिकाले दिन कार्यालयमा नम्बर पठाइन्छ । आन्तरिक नम्बर कति आएको छ, सम्बन्धित विद्यार्थीलाई थाहा हुँदैन ।
त्रिभुवन विश्वविद्यालयमा भएका विद्यार्थी नेताहरू, विद्यार्थी नेता नभएर प्रोफेसरका झोलेहरू हुन् । एक गिलास चिया र एक प्लेट मममा बिक्ने, विद्यार्थी नेता कसरी विद्यार्थीको नेता हुनसक्छ ? जब कि विद्यार्थीहरूको समस्याको बारेमा उठेको आवाजलाई दबाउनको लागि व्यक्तिगत स्वार्थको लागि प्रोफेसरसँग घाँटी जोड्न जान्छ भने त्यसलाई के आधारमा विद्यार्थी नेता भन्ने ? २० नम्बर हाजिरको २० नम्बर टर्म पेपर गरेर ४० नम्बर जबसम्म प्रोफेसरको हातमा हुन्छ तबसम्म त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले गलत क्रियाकलाप र अन्यायको विरूद्धमा आवाज उठाउन सक्दैनन् । विद्यार्थी आन्दोलन पनि उठ्न सक्दैन ।
जसरी एउटा हान्ने गोरूलाई उसको नाक छेडेर नाथ हालेर उसको मालिकले आफ्नो काबुमा लिन्छ, त्यसरी नै यो ४० नम्बर प्रोफेसरको हातमा हुनु पनि विद्यार्थीलाई नथेको जस्तै हो । यो सेमेस्टर सिस्टम गरिबका छोराछोरीलाई उच्च शिक्षाबाट वञ्चित गराउने हतियारमात्र भएको छ । सेमेस्टर सिस्टमको नियम पूर्णरूपमा लागू गर्नुपर्छ ।
Leave a Reply