भर्खरै :

चुच्चे नक्सा ‘गायब’ हुनुको रहस्य थाहा पाउनैपर्छ

प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी देश भारतको तीनदिने औपचारिक भ्रमण गरी आइतबार स्वदेश फर्के । प्रम देउवाको भ्रमणले नेपाल–भारत सम्बन्ध थप प्रगाढ भएको विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बताइयो । राजनीतिक, कूटनीतिक र धार्मिक महत्वको रूपमा लिइएको उक्त भ्रमणले सीमा विवाद संवादबाट समाधान हुने कुरा पनि सरकारले फुक्यो । नेपाल–भारतका सीमासम्बन्धी विवादहरू संवाद र कूटनीतिकमार्फत समाधान हुने विश्वास पनि सरकारले बतायो । सीमा समस्या अहिलेको विवाद होइन । हरेक पटकको भ्रमणमा भारतीय शासकहरूसँग भेट्दा सम्बन्ध थप प्रगाढ भएको र सीमा विवाद संवादमार्फत टुङ्गिने कुरा फुकेको हुन्छ । तर, व्यवहारमा केही हुँदैन, भइरहेको छैन । नेपाल–भारतको सीमा विवाद अहिले पनि ज्यूँका त्यूँ नै छ । सीमा विवाद समाधान संवादमार्फत टुङ्गयाउने कुरा दर्जनौँ होइन सयौँ पटक भनिसकेको होला । तर, यथार्थमा त्यसको कुनै प्रक्रिया अघि बढेको छैन ।
नेपाली शासकहरू भारतीय शासकहरूसमक्ष बोल्नै सक्दैनन्, बोल्ने आँट गर्दैनन् । नेपाल र नेपालीलाई परिरहेको समस्या बताउन नसकेरै भारतजस्ता विदेशी शक्ति राष्ट्रहरूले नेपाल सरकारको कमजोरीको फाइदा उठाइरहेका छन् । यसबारे नेपाल सरकारले सोच्नैपर्छ । नेपाल र भारतबीचको सीमा विवाद, खुला सीमा र नेपाली भूमिमा रहेको भारतीय सेनाबारे नेपाल सरकारले भारत सरकारको ध्यानाकर्षण गर्नैपर्ने हो । सरकारले यस्तो ध्यानाकर्षण भारत भ्रमणको बेलामा मात्र होइन अरु बेला पनि कूटनीतिक माध्यमबाट गरिरहनु जरुरी छ । देशको यस्तो महत्वपूर्ण सवालमा नेपाल सरकार बेखबर हुनुहुँदैन । देशको भूमि जोगाउन सरकारले पहल नगर्नु भनेको मौन समर्थन गर्नु हो या भारतसामु आत्मसमर्पण गरेको सरह हो ।
चैत २१ गतेको राजधानीमा ‘नेपाली दूतावासमा चुच्चे नक्सै ‘गायव’ शीर्षकको समाचार छापियो । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा चुच्चे नक्सा भएको नेपालको नक्सा नै छैन भन्ने समाचारको सार हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको नक्सा दूतावासमा किन राखियो भन्ने प्रश्न राजनीतिज्ञहरूले गर्न थालेका छन् । चुच्चे नक्सासमेतको नेपालको नक्सा भारतीय पक्षले दबाब दिएर राख्न नदिएको हो वा भारतस्थित नेपाली राजदूतले हटाएका हुन् ? राजधानी दैनिकको सो समाचारमा सरकारले चुच्चे नक्सा सार्वजनिक भएलगत्तै भारतस्थित नेपाली राजदूतावासमा राखेको उल्लेख छ । तर, अहिले कोठामा सो नक्सा देखिएन । राखिएको नक्सा कहाँ गयो ? कसले लग्यो ? चासोमात्र होइन, सोको छानबिन गरेर यथार्थ कुरा थाहा पाउनुपर्छ र दोषीमाथि कारबाहीको प्रक्रिया थाल्नुपर्छ । भएको नक्सा ‘गायब’ हुनुको अर्थ एउटा नक्सा र नक्साको मूल्यको कुरा होइन, त्यो प्रवृत्तिको कुरा मात्र पनि होइन, त्यो नेपाली भूमिकै अपमान हो । त्यो रहस्य थाहा पाउनैपर्छ । यसमा सरकार र सत्तारुढ दलको ध्यान जानैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *