इरान–अमेरिका तनाव फेरि चर्कियो अमेरिकी सेनाद्वारा हर्मुज जलडमरु कब्जा गर्ने असफल प्रयास
- बैशाख २५, २०८३
वर्षौँ वर्ष शारीरिक र मानसिक अवस्था कमजोर झेलेपछि ७३ वर्षमा उसको निधन भयो ।
सन् १९४९ को अप्रिल ४ मा जन्मेको नाटो अमेरिकी पिता र युरोपेली आमाको सन्तान हो । जन्मिनु एक वर्षअघि नै त्यसको अवधारणाले गर्भाधान भएको थियो । दसकौँ पछि नाटो एउटा ठूलो परिवार बनेको छ । अहिले उसको सन्तान ३० वटा देशमा फैलिएको छ ।
दोस्रो विश्वयुद्धमा प्रेममा परेका आमाबुबाले उसको नाम उत्तर एटलान्टिक सन्धि सङ्गठन जुराए । यो नाममा आमाबुबाका महत्वाकाङ्क्षा लुकेको छ । यद्यपि, उसले आमाबुबाको सपना पूरा गर्न सक्छ वा सक्दैन, त्यसको कुनै टुङ्गो छैन ।
‘रक्षात्मक मोर्चा’ को रूपमा उसको दिनचर्या निकै उत्साहका साथ सुरु भएको थियो । तर, सुरु सुरुका दिनमा उसले सर्वसाधारणलाई खतरा भन्दै गरेका युद्ध वास्तवमा हुने युद्ध नै नभएको अहिले क्रमशः पुष्टि हुँदै गएको छ । शीतयुद्ध कहिल्यै पनि ‘गरम’ युद्ध भएन । त्यसको कुनै प्रयोजन सिद्ध भएन । नाटो मानसिक रोगबाट पिरोलियो । उसलाई मानसिक दीर्घरोगले च्याप्यो । उसले चिताएजस्तो विध्वंस किन भएन भन्ने कुरा नबुझेर ऊ बहुला भयो । नाटोको यस्तो अवस्था आमाबुबाको निम्ति निकै दुःखको विषय बन्यो । तर, उनीहरूले आफ्नो बिग्रेको सन्तानका रहर पूरा गर्न खोजिरहे ।
उमेर बढ्दै जाँदा नाटोलाई पनि मध्य जीवनका सङ्कटले च्याप्न थाल्यो । उसले संसारको प्रहरीको रूपमा आफ्नो उपादेयता पुष्टि गर्न खोजिरह्यो । उसले आफूमाथि आइलागेको सङ्कटमा नयाँ काम खोज्न नयाँ नयाँ घोषणा गर्दै गयो । त्यही क्रममा अफगानिस्तानमा केही समयको लागि बिदा मनाउन गएको नाटोको उताको बसाइ बीस वर्ष लम्बियो । नाटो छाड्दा ऊ पस्नुअघि भन्दा अवस्था थप खराब भइसकेको थियो । अरू पारिवारिक झैझगडा पनि भए ः नाटोको सदस्य देश टर्की अर्को सदस्य संरा अमेरिकाले सिर्जना गरेको सङ्कटको कारण युरोपको सुरक्षाको निम्ति ‘खतरा’ भएपछि नाटोको भलाइको लागि सिरियामाथि युद्ध थोपरियो ।
राम्रो मनसायबाट सुरु भएको नाटोको आफ्नै शैलीको सुरक्षा बलले ६० करोड जनतालाई दुःख दियो । मानसिक रोगका साथै उसलाई आफू ठूलो भन्ने रोग पनि लागेको थियो । जसले गर्दा उसलाई दीर्घ रोग लाग्यो । धेरै धेरै देशमा ऊ सुनिँदै गयो । ऊ क्रमशः झोक्याहा बन्दै गयो । कहिलेकाहीँ ऊ आफ्नो छरछिमेकबाट धेरै टाढाजस्तै लिवियामा समेत हिंसा फैलिनुको कारण बन्यो । परिवारका केही सदस्य र आफन्तले उसलाई सजग बनाउन खोजेका थिए । जस्तै फ्रान्सले उसलाई सजग बनाएको थियो । फ्रान्सले सबभन्दा पहिला नाटोको ‘मस्तिष्कघात’ भएको पत्ता लगाएको थियो । यो रोग पहिचान सही प्रमाणित भयो । नाटो आज त्यो बिन्दुमा पुगेको छ, जुन बिन्दुबाट अब ऊ फर्किन पनि सक्दैन । विस्तार हुने नाटोको उत्साह बुबाले उसलाई सिकाएको खराब बानी थियो । वाशिङ्टनको सिनेटका अल्पज्ञानी सदस्यहरूले नयाँ सदस्यता प्राप्त गर्न उसलाई मद्दत गरे ।
वास्तवमा कुनै पनि सङ्कट व्यवस्थापन गर्नुभन्दा उसको विस्तार हुने त्यो खराब लतले थप सङ्कट निम्त्याइरहेको छ । यसको सबभन्दा पछिल्लो उदाहरण त युक्रेनको सङ्कट हो । नाटोको पूर्वतिर विस्तार हुने चाहनाले रुससँगको द्वन्द्वमा पु¥यायो । नाटोलाई धेरै वर्षदेखि उसको बदमास बानीले एकदिन उसलाई समस्यामा पार्ने चेतावनी दिइएको थियो । तर, उसले आफ्नो लत त्याग्न सकेन । आमाबुबाको माया मोलाहिजा उसको निम्ति लततिरको बाटो बन्यो, जसको कुनै औषधि नै छैन । धेरै लतीहरूजस्तै आफै सम्हालिए मात्र लतबाट मुक्त हुन सक्छ । तर, नाटोको सन्दर्भमा त्यसो कहिल्यै भएन ।
केही समय उसलाई सबैले छिःछिः र दुरदुर गरे । धेरै लतमा परेका मानिसहरूजस्तै उसले पनि झूटो बोल्यो । केही कुरा लिखित त थिएन । तर, रुसलाई उसले पूर्वतिर विस्तार हुने आफ्नो कुनै मनसाय नभएको बताइरह्यो । एक इन्च पनि पूर्वतिर नबढ्ने उसले भनिरह्यो । त्यो वचनमा अडिग रहन नसक्दाको परिणाम युक्रेनमा अहिले देखिँदै छ ।
यस्तो अवस्थामा नाटोको मृत्यु निश्चित छ । तर, असान्दर्भिकता र दुरूपयोगको कारण थप जटिलता आउने देखिन्छ । नाटो सुरुमा प्रतिरक्षात्मक मोर्चाको रूपमा स्थापना भएको थियो । त्यसपछि सङ्कटमोचन सङ्गठनको रूपमा । तर, उसको उद्देश्य संसारमा अमेरिकी प्रभुत्ववाद कायम राख्ने हतियारको रूपमा प्रयोग हुनु नै थियो । त्यो अमेरिकाको एउटा हतियारसिवाय केही होइन । शान्ति वा स्थायित्व ल्याउने उसको कुनै लक्ष्य छैन । उसको उद्देश्य अमेरिकी विदेश नीति लागु गर्नु हो जसको शान्ति र स्थायित्वसँग कुनै लेनदेन छैन । अवस्थाको सत्य बुझ्न नसक्दा नाटोले आफू मरिसकेको पनि थाहा नपाउन सक्छ । भनिन्छ नि ऊ मरिसक्यो, तैपनि ऊ उभिएरै बसेको छ ।
(लेखक बेलायतका पत्रकार र लेक्चरर हुनुहुन्छ ।)
Leave a Reply