भर्खरै :

साम्राज्यवादविरोधी कम्युनिस्ट नेता किम इल सङको ११० औँ स्मृति दिवस

राष्ट्रपति किम इल सङको व्यक्तित्व
चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले भन्नुभएको थियो, “राष्ट्रपति किम इल सङले विश्व क्रान्ति तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई बाटो देखाउनुभएको छ ।”
क्युवाका नेता फिडेल क्यास्ट्रोले भन्नुभएको थियो, “संसारका राष्ट्रपतिहरूमध्ये सबभन्दा परिपक्व र सम्मानित राजनेता किम इल सङ हुनुहुन्छ ।”
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको भनाइ थियो, “संरा अमेरिकाको राष्ट्र निर्माता तथा लक्षविधातामध्येका अमेरिकी तीन राष्ट्रपतिहरू– जर्ज वासिङटन, थोमस जेफरसन र अब्राहम लिङकनभन्दा पनि राष्ट्रपति किम इल सङ महान् हुनुहुन्छ ।”
युगोस्लाभियाली कम्युनिस्ट लिग केन्द्रीय समितिको तत्कालीन अध्यक्ष मण्डलका कार्यकारी सचिवले भन्नुभएको थियो, “राष्ट्रपति किम इल सङ सिङ्गो मानव समुदायबाट असीमित सम्मान र आदर पाएका नेता हुनुहुन्छ ।”
फ्रान्सको अखबार ‘मोन्डे’ ले लेखेको थियो, “राष्ट्रपति किम इल सङ असंलग्न आन्दोलनका प्रमुख नेता हुनुहुन्छ ।”
एक जापानी पत्रकारले भन्नुभएको थियो, “राष्ट्रपति किम इल सङ महान् व्यक्ति र एसियाको गौरव हुनुहुन्थ्यो ।”
राष्ट्रपति किम इल सङले फ्रान्सेली समाजवादी पार्टीका नेता फ्रान्कोइस मिटेराँसँग नयाँ विश्वयुद्ध हुन नदिन युरोपेली देशहरू कुनै पनि मोर्चामा सामेल हुन नहुने बरु आफ्नै देशलाई स्वाधीन र तटस्थ राख्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।
सन् १९८१ मा मिटेराँ राष्ट्रपतिमा निर्वाचित हुनुभयो र जी ७ सम्मेलनमा उहाँले राष्ट्रपति किम इल सङलाई वर्तमान युगका महत्वपूर्ण नेता भएको उल्लेख गर्नुभयो ।
कोरियाविरुद्ध जापानको अत्याचार
जापानको प्रतिनिधिसभाका सदस्य तथा जापान उदार प्रजातन्त्र पार्टीको एसिया तथा अफ्रिका अध्ययन समूहका अध्यक्ष तोकुमा उन्सुमोनियाले जापानले कोरियामाथि कब्जा जमाएको बेला कोरियामा खटिएका जापानी सेनाको नेतृत्वमा आफ्नो बुबा पनि भएको र त्यसबेला जापानी सेनाले कोरियाली जनताविरुद्ध गरेको अपराधको आफूले प्रायश्चित गरेको उल्लेख गर्नुभएको थियो ।
जापानका उपप्रधानमन्त्री एवम् उदार प्रजातन्त्र पार्टीका उपाध्यक्ष शिन कानेमरुले बाँकी जीवन जापान–प्रजग कोरियाबीचको सम्बन्ध सुधार गर्न आफू समर्पित रहने र जापानले कोरिया युद्धमा पु¥याएको हानिको क्षतिपूर्ति दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जापानका दक्षिणपन्थीहरूले त्यसबेला कानेमरुलाई ‘देशद्रोही’ र ‘जापानलाई प्रजग कोरियामा बेचेको’ समेत आरोप लगाउँदै कानमेरुको हत्या गर्नुपर्ने दाबी गरे ।
संरा अमेरिकाको कोरिया युद्ध (सन् १९५०–१९५३)
संरा अमेरिकाले सन् १९५०–५३ मा कोरियाविरुद्ध आक्रमण ग¥यो । सन् १९५३ जुलाई २७ यता कोरियामा युद्धविरामको अवस्था छ । युद्धको स्थायी अन्त्य भएको छैन । संरा अमेरिका, जापान र दक्षिण कोरिया मिलेर प्रजग कोरियाविरुद्ध संयुक्त युद्धअध्यास र नाकाबन्दी चालु राखेका छन् ।
अस्टे«लियाली लेखक तथा पत्रकार विलफ्रेड बर्चेटले कोरियाविरुद्ध अमेरिकाको सन् १९५०–१९५३ को युद्धलाई आपराधिक हमला भन्नुभएको थियो । त्यसबेला संरा अमेरिकी सरकारले बर्चेटमाथि कारबाही गर्न अस्टे«लियाको सरकारलाई दबाबसमेत दिएको थियो ।
प्रजग कोरियाले आफ्ना नेताहरू किम इल सङ, किम जङ इल र किम जङ उनको नेतृत्वमा साम्राज्यवादीहरूको नाकाबन्दीलाई पाइलापाइला कमजोर बनाएर आजको विकास गर्न सकेको हो ।
राष्ट्रपति किम इल सङले भन्नुभएको थियो, “जनताको बीचमा जाने कोही पनि मानिसले हचुवा टिप्पणी र अनुमानको भर लिनुपर्दैन । जनता नै गुरु हुन् ।”
कोरिया स्वतन्त्र र स्वाधीन भएयता राष्ट्रपति किम इल सङले ५ लाख ७८ किमी यात्रा गर्नुभयो र २० हजार ६ स्थानमा स्थलगत निर्देशन दिनुभयो ।
जुछे विचारधारा
राष्ट्रपति किम इल सङले कोरियाली क्रान्तिको नेतृत्व गर्ने व्यावहारिक सङ्घर्षको क्रममा जुछे विचारधारा प्रतिपादन गर्नुभएको हो । यसको मूल सार जनता आफैँ क्रान्तिकारी सङ्घर्ष र निर्माणमा सामेल हुनु हो ।
मानिस संसारको मालिक हो र संसारको रूपान्तरणको निम्ति मानिसले नै निर्णायक भूमिका खेल्छ भन्ने वैज्ञानिक तत्वज्ञानमा आधारित जुछे विचारधारा हो । यसले जनतालाई आफ्नो भविष्य आफै बनाउन इतिहासको निर्णायक बाटो देखाउँछ ।
पुँजीवादी देशका प्रतिष्ठित व्यक्तिहरूसमेत अहिले राष्ट्रपति किम इल सङको चिन्तन र जुछे विचारधाराका पक्षधर बनेका छन् ।
किम इल सङ अन्तर्राष्ट्रिय पुरस्कार विजेता जापानी विद्वान् शुहाची इनोउले जुछे विचारधारा सिङ्गो मानव जाति र संसारकै विचारधारा भएको उल्लेख गर्नुभयो ।
युरोपका वैज्ञानिक र सांस्कृतिक समूहका एक विशिष्ट व्यक्तिले मानव सभ्यताको बहुमूल्य सम्पदा जुछे विचारधाराको बिनाहिचकिचाहट रक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रपति किम इल सङ देश र जनताको सेवा गर्ने एक साधारण मानिस तर राजनेता हुनुहुन्छ । जनतामाथि विश्वास गर्ने र जनतामा भर पर्ने हरेक मानिसले सिङ्गो संसार नै जित्न सक्ने तर जनतालाई धोका दिनेहरू सधैँ असफल हुने उहाँले बताउनुभएको छ ।
राष्ट्रपति किम इल सङका कृतिहरू ६० भन्दा बढी भाषामा अनुवाद भइसकेको छ । संसारका एक सत्र्न्दा बढी देशमा उहाँका कृति अध्ययन भइरहेको छ ।
कोरियाली जनताले राष्ट्रपति किम इल सङलाई ‘हाम्रा नेता’, ‘पितातुल्य नेता’ र ‘भौतिकरूपमा उपस्थित नहुनु भए पनि उहाँको विचार सदा साथमा रहिरहने’ आदि आदि शब्दसहित सम्मान गर्दै छन् ।
राष्ट्रपति किम इल सङले प्रजग कोरिया र संरा अमेरिकाबीच सम्बन्ध सुधार्न संरा अमेरिकी सरकारले कोरियाली जनताको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्नुपर्ने, दक्षिण कोरियामा तैनाथ अमेरिकी सेना फिर्ता गर्नुपर्ने, कोरिया प्रायःद्वीपमा तनाव कम गर्न सहयोग गर्नुपर्ने, कोरिया पुनःएकीकरणमा अवरोध गर्न नहुने प्रस्ताव राख्नुभएको थियोे । यो प्रस्ताव अहिले पनि सामयिक छ ।
राष्ट्रपति किम इल सङले कोरिया भ्रमणमा आएका विदेशी नेता तथा पत्रकारहरूसँग आफ्नो रुचीका पुस्तक पढ्ने, जनतासँग घुलमिल र साथसङ्गत गर्ने बताउनुभएको थियो ।
उहाँको विचार जनताको बीचमा जन्मिएको हुँदा उहाँको नेतृत्व सदा विजयी भयो । उहाँको आदर्शलाई कोरियाका प्रिय नेता किम जङ इलले अघि बढाउनुभयो भने अहिले नेता किम जङ उनले त्यसको नेतृत्व गरिरहनुभएको छ ।
प्रजग कोरियाका नेता एवम् सर्वोच्च कमान्डर कामरेड किम जङ उनले प्रजग कोरियाको रक्षा बल अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गूहरूको सैनिक हमलालाई सामना गर्न, प्रतिकार गर्न र उनीहरूलाई घुँडा टेकाउन सबल रहेको स्पष्ट गर्नुभएको छ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले कोरिया पुनःएकीकरण सहयोग समिति र कोरिया अध्ययन मण्डलको संयुक्त आयोजनामा २०७८ चैत्र २१ गते भएको किम इल सङको ११० औँ जन्मदिवस कार्यक्रममा व्यक्त गर्नुभएको विचार–सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *