भर्खरै :

आरम्भ पुस्तक प्रदर्शनी चालु साहित्य कामदार वर्गको पक्षमा रच्नुपर्छ

भक्तपुर, २२ चैत । आरम्भ नेपालद्वारा आयोजित आरम्भ पुस्तक प्रदर्शनी मङ्गलबार पनि चालु रह्यो ।
पुस्तक प्रदर्शनीको दोस्रो दिन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले कवि पुण्यराम कवांद्वारा लिखित कविताहरूको सङ्ग्रह ‘ह्यूपाया निंतिं’ विमोचन गर्नुभयो ।
अतिथि ज्याख्वले पुस्तक पठन संस्कृतिको विकास गर्ने उद्देश्यले गरिएको पुस्तक प्रदर्शनीले नयाँ पुस्तालाई उत्साहित गर्ने विश्वास दिलाउनुभयो ।
साहित्य काम गरी खाने वर्ग, देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउने पक्षमा लेख्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “साहित्यले परिवर्तनको निम्ति सकारात्मक सन्देश छर्नुपर्छ । कामदार वर्गलाई माथि उठाउने साहित्य लेख्नुपर्छ ।”
हरेक नागरिकलाई समाजप्रति उत्तरदायी, इमानदार र देश र जनताको सेवा गर्ने भावना प्रतिबिम्बित हुने खालको साहित्य रच्न अभिप्रेरित गर्दै उहाँले नयाँ पुुस्तामा पुस्तक गहिरिएर अध्ययन गर्ने संस्कृतिको कमी भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
पैसाकै निम्ति अनेक जालझेल, अनियमितता भ्रष्टाचार गर्ने पुँजीवादी व्यवस्थाको निन्दा गर्दै उहाँले देशलाई समृद्ध बनाउने दृष्टिकोणअनुसार क्रियाकलाप अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विकासको नाउँमा विदेशी शक्तिराष्ट्रसँग भिख माग्ने प्रवृत्तिले देश आत्मनिर्भर नहुने चर्चा गर्दै उहाँले दलीय स्वार्थ पूरा गर्न सार्वभौमसत्तामा आँच पु¥याउने काम गर्न नहुनेमा जोड दिनुभयो ।
देशका युवाहरूलाई आफ्नै देशमा उत्पादनमूलक कार्यमा सरिक गराएर परिचालन गर्नुपर्ने विचार राख्दै उहाँले सबै पक्ष देशप्रति जिम्मेवार भएर अघि बढे देशलाई स्वावलम्बी बनाउन सक्छ भन्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष एवम् निबन्धकार आशाकुमार चिकंबजारले ‘ह्युपाया निंतिं’ कवितासङ्ग्रहको समीक्षा गर्दै साहित्य समाजको ऐनामात्र होइन विचार र कला पक्षको पनि प्रतिनिधित्व गरेको हुन्छ भन्नुभयो ।
कविताले युगको प्रतिनिधित्व गरेको चर्चा गर्दै उहाँले कविता आत्मसन्तुष्टिको लागि मात्र लेख्ने होइन त्यसमा विकृति र विसङ्गतिको अन्त्य गर्ने परिवर्तनको स्वर पनि हुनुपर्छ भन्नुभयो ।
कवितासङ्ग्रहका रचनाकार पुण्यराम कवांले नेपालभाषा र साहित्यको विधा चौडा बनाउन र विस्तार गर्न कवितासङ्ग्रहले योगदान गर्ने विश्वास व्यक्त गर्दै पुस्तकको एउटा कविता वाचन गर्नुभयो ।
आरम्भ नेपालका अध्यक्ष एवं कार्यक्रमका सभापति बालकृष्ण बनमालाले साहित्यको फाँट चौडा बनाउन र व्यक्तित्व विकास गर्न साहित्यकारहरूले साहित्य रच्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा आयोजक समितिका संयोजक लक्ष्मीप्रसाद चवालले पुस्तक प्रदर्शनीसँगै कवितासङ्ग्रह र कार्टुनसङ्ग्रह पनि विमोचन भएको विचार राख्दै स्वागत मन्तव्य दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *