भर्खरै :

आधारभूत चिनियाँ र जापानिज भाषा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

भक्तपुर, २२ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको आधारभूत चिनियाँ र जापानिज भाषा तालिमका प्रशिक्षार्थीहरूलाई मङ्गलबार एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले आफूले सिकेको तालिमको देश र जनताको हितमा अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै देशको राजनीतिक र समसामयिक विषयको जानकारी राख्न हौसला प्रदान गर्नुभयो ।
विभिन्न देश विदेशका भाषा प्रशिक्षणले नागरिकहरूको व्यक्तित्व विकासमा सकारात्मक भूमिका खेल्ने चर्चा गर्दै सांसद सुवालले देशका लोपोन्मुख भाषा र संस्कृति संरक्षण गर्नु हाम्रो साझा दायित्व भएको बताउनुभयो ।
ऐतिहासिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण प्राचीन भक्तपुर नगरका सांस्कृतिक सम्पदाहरूको विशेष महत्व भएको र भक्तपुर नपाले सम्पदा संरक्षण र विकास निर्माणमा गरेका गतिविधिहरूबाट भक्तपुरको गौरव बढाएको छ, उहाँले भन्नुभयो ।
उहाँले देशको पर्यटन प्रवद्र्धनमा भाषाका तालिमहरूको महत्व रहने उल्लेख गर्दै नेपाललाई स्वतन्त्र, स्वाधीन र सार्वभौम देशको रुपमा विकास गर्न नेपालमा आत्मनिर्भर अर्थतन्त्रको खाँचो रहेको बताउनुभयो । विदेशीको भरमा नेपालको विकास र समृद्धि सम्भव नहुने बताउँदै सांसद सुवालले भक्तपुर नपाले आफ्नो घोषणापत्रअनुरुप यहाँका जनतालाई विभिन्न सीपमूलक तालिमहरू प्रदान गरिरहेको कार्य प्रशंसनीय छ भन्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख राजनी जोशीले विभिन्न जातजाति र देश—विदेशका भाषा तालिमले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउँदै स्वस्थ, समृद्ध र सबल नगरको रुपमा भक्तपुरलाई चिनाउने उद्देश्य राखी भक्तपुर नपाले सम्पदा संरक्षणलाई विशेष महत्वका साथ हेर्दै आइरहेको बताउनुभयो । भक्तपुरको सन्तुलित विकासकै कारण आज देशकै नमुना नगरको रुपमा परिचित भएको बताउँदै भक्तपुर नपाप्रति यहाँका जनताको सद्भाव र सहयोगी भावना कदरयोग्य भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नपाबाट सञ्चालित सीपमूलक तालिमबाट धेरै नगरवासीहरू लाभान्वित भएको बताउँदै आधारभूत तालिम लिइसकेका प्रशिक्षार्थीहरूको लागि नपाले एड्भान्स तालिमको समेत व्यवस्था गर्दै आइरहेको अवगत गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्य रोशनमैंया सुवाल, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, चिनियाँ भाषा प्रशिक्षक राजेन्द्र चवाल र जापानीज भाषाका प्रशिक्षक आमिर लिवीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *