भर्खरै :

किम इल सङ कोरिया र कोरियाली जनताका मुक्तिदाता

प्रजग कोरियाका महान् नेता किम इल सङको ११० औँ जन्म दिवसको अवसरमा सर्वप्रथम विश्व कम्युनिस्ट आन्दोलनमा उहाँले पु¥याउनुभएको उत्कृष्ट देनको निमित स्रष्टा समाज नेपालको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
किम इल सङ कोरिया र कोरियाली जनताका मुक्तिदाता र राष्ट्रपिता हुनुहुन्थ्यो । उहाँ साम्राज्यवादविरोधी एक महान् योद्धाका साथै वर्तमान सुदृढ प्रजग कोरियाका जन्मदाता पनि हुनुहुन्थ्यो । उहाँ जुछे विचारधाराका प्रतिपादकका साथै विश्व सर्वहारा वर्गका एक महान् नेता हुनुहुन्थ्यो ।
जुछे विधारधाराबाट निर्देशित कोरियाली समाजवादलाई किम जङ इल हुँदै किम जङ उनले सफलताका साथ अगाडि बढाइरहनुभएको छ । यो सफलताले समाजवादका हिमायती विश्वकै शोषित उत्पीडित जनताको लागि हर्ष र गौरवको कुरा हो र प्रेरणाको स्रोत हो । समाजवादी कोरिया आजको विश्वमा स्वाधीनता र स्वतन्त्रताको, साम्राज्यवाद र उपनिवेशवादविरुद्धको एक सबल र उज्ज्वल गुरुको रूपमा स्थापित छ ।
भौगोलिक आकार र जनसङ्ख्याको हिसाबले सानो भए पनि प्रजग कोरियाले विश्वशक्ति कहलिएको साम्राज्यवादी अमेरिकासँग ‘युद्ध भए युद्ध, वार्ता भए वार्ता’ भन्ने अडान लिनसक्नु कोरियाली सरकार र जनताको एकमनको एकता र त्यसको आधार बनाउने जुछे विचारधारा नै हो । यसबाट पार्टी, सरकार र देश बलियो बनाउन महत्वपूर्ण तत्व सिद्धान्त र त्यसप्रतिको इमानदारीपूर्ण निष्ठा र आस्था नै हो । यसको एक प्रमाण प्रजग कोरिया र यसको राष्ट्रपिता किम इल सङको नेतृत्व हो ।
का. किम इल सङको स्मरण गरिरहँदा हामीमध्ये धेरैलाई नेपाल मजदुर किसान पार्टीले भक्तपुरलाई उत्तर कोरिया बनाउन खोज्यो भन्ने कथन स्मरण हुन्छ । यस्ता भन्नेहरू पुँजीवादी विचारधाराका मान्छे हुन् । पुँजीवादी विचारधाराका मानिसले नेमकिपाको विरोध गर्नु र समाजवादी कोरियाको व्यवस्था नरुचाउनु स्वाभाविक हो । यही स्वाभाविकतामा नेमकिपाको सिद्धान्त र नीति सही भएको र प्रजग कोरिया समाजवादी सिद्धान्तअनुरूप अगाडि बढिरहेको तथ्य अन्तर्निहित भएको स्पष्ट हुन्छ । किनभने, शत्रुले विरोध गर्नु राम्रो कुरा हो । साम्राज्यवादी अमेरिका र पुँजीवादी नेता र बुद्धिजीवीहरूले जस्तै गोर्भाचोभको प्रशंसा हुनु भने नराम्रो कुरा हो, यो डरलाग्दो सङ्केत हो ।
‘नेमकिपाले भक्तपुरलाई उत्तर कोरिया बनाउन खोज्यो’ भन्नुको तात्पर्य यदि संसद्मा नेमकिपाको प्रतिनिधित्व हुनु र भक्तपुर नपामा पूर्ण बहुमत हुनु हो भने त्यो सचेत जनताले दिएको जिम्मेवारी हो । यदि सङ्घ र प्रदेश संसद्मा नेमकिपाको प्रतिनिधित्व नभएको भए संसद् प्रतिपक्षरहित हुन्थ्यो । देश र जनताको हितमा मोलमोलाइ र भागबन्डाबाट अछुतो रही इमानदारीपूर्वक दृढ अडानका साथ आवाज राख्ने नेमकिपा नै हो । त्यस्तै भक्तपुर नपा अर्थात् स्थानीय सरकारलाई सही ढङ्गले सञ्चालन गरेकै कारण आज भक्तपुर नपा ‘टपटेन’ मा पहिलो नम्बरमा परेको छ । यी कुराले पुँजीवादी पार्टी र सरकारलगायत शासक दलहरू तिरमिराएर त्यस्तो अभिव्यक्ति आएको हुुनुपर्छ ।
त्यसो त नेमकिपाको लक्ष्य र उद्देश्य भक्तपुरलाई मात्र होइन देशलाई नै उत्तर कोरियाको जस्तो देशअनुरूपको समाजवादी व्यवस्था ल्याउनु हो । यसमा कसैले टाउको दुखाउनु निरर्थक छ ।
पुँजीवादीहरू प्रजग कोरियामा प्रजातन्त्र र मानव अधिकार पनि देख्दैनन्, किनभने त्यहाँ प्रजातन्त्रको अभ्यास सिद्धान्त र नीतिगतरूपमा हुन्छ । तर, पुँजीवादी देशमा जस्तो छाडा, उच्छृङ्खल, सिद्धान्त र नीतिविनाको मनपरीतन्त्रलाई तिनीहरू प्रजातन्त्रको छेलोखेलो ठान्दछन् । त्यस्तै खाना र बास प्राप्त हुनु, शोषण र उत्पीडन नभएकोले तिनीहरू प्रजग कोरियामा मानव अधिकारको अभाव देख्छन् । तर, अमेरिका, भारतलगायतका पुँजीवादी देशमा प्रजग कोरियाको कुल जनसङ्ख्याको धेरै गुणा बढी सडकमा सुत्दा, भोकले मागेर खाँदा, शोषण र उत्पीडनले आत्महत्या गर्दा पनि मानव अधिकार बहाली भएको देख्छन् ।
दृष्टि भएर पनि अन्धा, मस्तिष्क भएर पनि चेतना नभएका, शिक्षाको प्रमाणपत्र भएर पनि ज्ञान नभएका, पदमा पुगेर पनि सचेतता र विवेक नभएकाहरूको लहैलहैमा कोही लाग्दैनन् ।
हिजो नेपालमा कम्युनिस्ट शासनमा छोराछोरी भन्न पाइँदैन, बुढाबुढी भएपछि मार्छ भनेर दिउँसै रात पार्ने कुरा काङ्ग्रेसीहरू गर्थे । आज नेमकिपाले भक्तपुरलाई उत्तर कोरिया बनाउन खोज्यो भनी नेमकिपाको विरोध र मित्र देश प्रजग कोरियाको बदनाम गर्ने दुस्साहस गरिरहेका छन् । यस्तै बेकुफ भएकैले विगतमा ‘तेरो घरमा काङ्ग्रेस पसोस्’ भनेर गाउँघरमा सराप्ने गरेको हुनुपर्छ ।
(कोरिया पुनःएकीकरण सहयोग समिति र कोरिया अध्ययन मण्डलद्वारा चैत २१ गते आयोजित किम इल सङको ११० औँ जन्मदिवस कार्यक्रममा व्यक्त विचार–सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *