भर्खरै :

भावी पुस्ताको भलाइ र देशको सुरक्षाको लागि कोरियाली जनता प्रतिबद्ध

आफ्नो सिङ्गो जीवन संसारको स्वाधीनताको निम्ति बिताउनुभएका राष्ट्रपति किम इल सङको ११० औँ जन्म दिवसको अवसरमा यो महत्वपूर्ण कार्यक्रम आयोजना गर्नुभएकोमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र सांसद प्रेम सुवालप्रति म आभार व्यक्त गर्न चाहन्छु । यो कार्यक्रममा सक्रिय सहभागिताको लागि यो कलेजका आदरणीय प्राचार्य र सबै कर्मचारीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु ।
राष्ट्रपति किम इल सङको जन्म सन् १९१२ को अप्रिल १५ मा भएको थियो । उहाँले चौध वर्षको उमेरमा क्रान्तिकारी सङ्घर्ष थाल्नुभएको थियो । उहाँले २० वर्ष जापानविरोधी सशस्त्र सङ्घर्षको नेतृत्व गर्नुभयो र सन् १९४५ को अगस्ट १५ मा कोरियालाई उपनिवेशबाट मुक्त बनाउनुभयो । छोटो समयमा नै साम्राज्यवादविरोधी, सामन्तवादविरोधी प्रजातान्त्रिक क्रान्ति सफलतापूर्वक सम्पन्न गर्न उहाँले जनताको सरकार र पार्टी स्थापना गर्नुभयो ।
सन् १९५० मा संरा अमेरिकी साम्राज्यवादले लादेको ‘पितृभूमि मुक्ति लडाइँ’ मा विजयी भएर उहाँले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्नुभयो र संरा अमेरिकी साम्राज्यवादलाई हार चखाउनुभयो । युद्धपछिको आर्थिक निर्माणसँगै सहर र गाउँमा समाजवादी नीतिअनुसार उत्पादन सम्बन्धमा रूपान्तरण गर्ने समाजवादी क्रान्ति अघि बढाउनुभयो । उहाँले अविछिन्न क्रान्तिको नवीन विचार अघि सार्दै वैचारिक, प्राविधिक र सांस्कृतिक क्रान्तिको व्याख्या गर्नुभयो । सन् १९६२ को डिसेम्बरमा संरा अमेरिकी साम्राज्यवादले अर्को लडाइँ थोपर्न सक्ने आक्रामक परिस्थितिको सामना गर्न आर्थिक निर्माण र रक्षालाई सँगसँगै अघि बढाउने नयाँ रणनीतिक नीति कार्यान्वयनमा ल्याउनुभयो ।
राष्ट्रपति किमले सन् १९७२ को मे महिनामा राष्ट्रिय पुनःएकीकरणका तीन सिद्धान्त, सन् १९८० मा प्रजातान्त्रिक सङ्घीय कोर्यो गणतन्त्र स्थापनाको योजना र सन् १९९३ को अप्रिलमा कोरिया पुनःएकीकरणको लागि सिङ्गो राष्ट्रको एकताको निम्ति दसबुँदे कार्यक्रम प्रस्तुत गर्नुभयो । सन् १९९४ को जूनमा उहाँले प्योङयाङमा संरा अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरलाई भेट्नुभयो र आणविक मुद्दा तथा उत्तर–दक्षिण शिखर सम्मेलनबारे प्रजग कोरिया–संरा अमेरिका वार्ताको निम्ति उपयुक्त वातावरण बनाउनुभयो । उहाँले जीवनको अन्तिम समयसम्म पार्टी र क्रान्ति, देश र जनता एवम् संसारको स्वाधीनताको निम्ति कडा मेहनत गर्नुभयो ।
राष्ट्रपति किम इल सङले नेपालसँग मैत्रीपूर्ण र सहकार्यमूलक सम्बन्ध विकास गर्न गहिरो चासो व्यक्त गर्नुभयो । नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ, नेकपा (माले) महासचिव सीपी मैनाली, नेपाल पत्रकार सङ्गठनका अध्यक्ष डा. मञ्जुरत्न शाक्यलगायत धेरै विशिष्ट व्यक्तिहरूले राष्ट्रपति किम इल सङसँग प्रत्यक्ष भेटेर दुई देशका जनताबीच सम्बन्ध बलियो बनाउन गहन कुराकानी गर्नुभएको थियो ।
राष्ट्रपति किमले ‘जनता नै मेरा भगवान हुन्’ भन्ने वाक्यलाई जीवनको आदर्श मान्नुभयो ।
राष्ट्रपति किम इल सङको लामो समयदेखिको चाहना आज राजनीति, अर्थतन्त्र, संस्कृति र सेनामा कोरियाली मजदुर पार्टीका महासचिव किम जङ उनको नेतृत्वमा व्यवहारमा लागु भइरहेको छ ।
‘जनता नै भगवान हुन्’ भन्ने विचार र ‘जनता प्रथम सिद्धान्त’ केन्द्रमा रहेको महान् जुछे विचारधारा हाम्रो पार्टीको निर्देशक सिद्धान्त हो । जुछे विचारधाराले हाम्रो समयको माग र क्रान्तिको विकासमा अझ चुस्तरूपमा गहन बनाउँदै लगेको छ ।
देशको समृद्धि, जनताको खुसी र हरेक दिन समाजवादी निर्माणको शिलशिलामा कोरियामा देखिने ठूला चमत्कार र खोजको निम्ति प्रिय किम जङ उनले देशभक्ति भावनाका साथ गर्नुभएको मेहनतको निम्ति उहाँप्रति हामी आभारी बनेका छौँ ।
पछिल्लो एउटा उदाहरण हेरौँ– प्योङयाङका सर्वसाधारण जनतालाई बसाउन एक वर्षको समयावधिमा दस हजार घर बने । प्रिय कमरेड किम जङ उनले अर्को दस हजार घरको निर्माणको शिलान्यास गर्नुभयो । कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशनको निर्णयअनुसार आगामी पाँच वर्षभित्र ५० हजार वटा घर बनाइनेछ ।
आत्मनिर्भर रक्षा व्यवस्था र आणविक शक्ति बनाउने हाम्रो पार्टीको नीति बिनासर्त कार्यान्वयन गर्ने शिलशिलामा कोरियाली जनताले नयाँ खालको आइसीबीएम ह्वासोङफो–१७ को सफल परीक्षण अमूल्य विजय हो । सबै थरीका प्रतिकूलताबीच भावी पुस्ताको भलाइ र देशको सुरक्षाको लागि कोरियाली जनताले अहिले यो दुःख गरिरहेका छन् ।
आज हामी कोरियाली जनता आत्मविश्वासका साथ कोरियाली मजदुर पार्टीका महासचिव प्रिय कमरेड किम जङ उनको बुद्धिमत्तापूर्ण नेतृत्वमा राष्ट्रपति किम इल सङका जीवनभरका सपनाका पूर्ण कार्यान्वयनको लागि विजयको राजमार्गमा अघि बढिरहेका छौँ ।
अन्त्यमा, यो कार्यक्रमको सफल आयोजनाको निम्ति सक्रिय भूमिका खेल्नुहुने सबै जनताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
(कोरिया पुनःएकीकरण सहयोग समिति र कोरिया अध्ययन मण्डलद्वारा चैत २१ गते आयोजित किम इल सङको ११० औँ जन्मदिवस कार्यक्रममा व्यक्त विचार–सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *