भर्खरै :

श्रीलङ्काबाट नेपालले के सिक्ने ?

दक्षिण एसियाली देश श्रीलङ्कामा आर्थिक सङ्कटले निम्त्याएको राजनीतिक अस्थिरता यस्तै प्रकृतिको अर्थतन्त्र भएको नेपालजस्तो देशको लागि सावधानीको घण्टी हो । कोभिड–१९ महामारीको कारण श्रीलङ्काको अर्थतन्त्रका दुई खम्बा पर्यटन र रेमिट्यान्स धरमराएपछि आर्थिक सङ्कट गहिरो बनेको छ । सरकारले सङ्कट नियन्त्रण गर्न नसकेपछि राजनीतिक सङ्कटको रूपमा विकास भएको छ ।
पर्यटन र रेमिट्यान्स अर्थतन्त्रका परनिर्भर स्रोत हुन् । विदेशी पर्यटक आउँदामात्र पर्यटक क्षेत्र मौलाउने हो । त्यस्तै रेमिट्यान्स पनि रोजगारदाता देशका उद्योग कलकारखाना र सेवा उद्योग राम्ररी चलेमात्र स्रोत देशको अर्थतन्त्रमा टेवा पुग्ने गर्छ । महामारीको कारण संसारभरको जनजीवन र अर्थतन्त्र प्रभावित बन्यो । एउटा देशबाट अर्को देशमा मानिसको आवतजावत बन्द भयो । संसारका सबै देशका पर्यटक उद्योगजस्तै श्रीलङ्काको पर्यटन उद्योगमा पनि पर्यटक नआएपछि ऋणात्मक प्रभाव प¥यो । पर्यटन उद्योगमा लगाइएको पुँजी लगानी अनुत्पादक भयो । पर्यटक उद्योगमा रोजगार पाएका लाखौँ मजदुर बेरोजगार भए । पर्यटन उद्योगसँग प्रत्यक्ष–परोक्ष जोडिएका अन्य क्षेत्रले पनि मार खेप्नुप¥यो ।
श्रीलङ्काली जनशक्ति रोजगारका लागि जाने देशहरूमा उद्योग बन्द भएपछि श्रीलङ्काली श्रमशक्ति या त स्वदेश फर्किन बाध्य भए नभए अनुत्पादक हुनुप¥यो । यसको प्रत्यक्ष असर त्यहाँको राष्ट्रिय अर्थतन्त्रलाई प्रभावित बनायो । आर्थिक सन्तुलन वा लाभको समयमा जनतालाई दिँदै आएको सेवा सुविधाले श्रीलङ्काको राष्ट्रिय धन घट्दै गयो अथवा त्यस्ता सुविधामा कटौती गरियो । जसले एकातिर बजार भाउ बढ्यो वा अत्यावश्यक वस्तु आयात गर्ने क्षमता घट्दा बजारमा सामानको अभाव अथवा सरकारी अनुदान हटाउँदा मानिसको खरिद क्षमता घट्दै गयो । यी सबै आर्थिक सङ्कटका लक्षण हुन् । अहिले श्रीलङ्का जनताले यही समस्या भोगिरहेका छन् ।
नेपालको अर्थतन्त्र र श्रीलङ्काली अर्थतन्त्रबीच धेरै समानता छन् । नेपालको अर्थतन्त्रको मूल आधार पनि पर्यटन र रेमिट्यान्स नै हुन् । त्यसकारण, राज्यले अर्थतन्त्रको सूक्ष्म र सावधानीपूर्वक व्यवस्थापन नगरे नेपालमा पनि उस्तै आर्थिक सङ्कट नआउला भन्न सकिन्न । अल्पकालीनरूपमा यसको निम्ति राज्यले आवश्यक आर्थिक सावधानीका उपाय र बुद्धिमत्ता प्रदर्शन गर्न जरुरी छ । दीर्घकालीनरूपमा देशको आर्थिक स्वाधीनताको निम्ति र उत्पादनमूलक अर्थतन्त्रको विकास नगरे यस्तै जोखिमको घण्टी सधैँ झुन्डिरहनेछ ।
कोभिड–१९ महामारीजस्ता विपत्ति पहिलो र अन्तिम नभएको वैज्ञानिकहरूले बताइरहेका छन् । जलवायु परिवर्तनको प्रभाव स्वरुप यस्ता समस्या आगामी दिनमा बढ्न सक्ने उनीहरूको बुझाइ छ । यस्तो परिस्थितिमा कुनै पनि देशले बाहिरबाट आउला र खाउँला भन्नु मूर्खता हो । सबै कुरा एउटै देशमा उत्पादन हुनसक्दैन । तर, कम्तीमा अत्यावश्यक वस्तु र रणनीतिक महत्वको वस्तुको उत्पादन देशमै हुनुपर्छ ।
नेपाली युवाहरूलाई देशमै रोजगार बनाएर देशको अर्थतन्त्रलाई निर्यातमुखी बनाउन राज्यले प्राथमिकता दिन जरुरी छ । नेपालको सन्दर्भमा उपयुक्त र सम्भव उद्योग कलकारखाना स्थापनामा राज्यले जोड गर्नुपर्छ । पुराना उद्योग कलकारखानालाई सञ्चालन गर्न जरुरी छ । विदेशमा जनशक्ति नभई प्रविधि आयात गर्नमा राज्यले कूटनीतिक प्रयास गर्नुपर्छ । श्रीलङ्काली जनताले भोग्नुपरे जस्तो समस्या नेपालले भोग्न नपरोस् भन्न सावधानी अपनाउन जरुरी छ । सङ्कट दैलोमा आएपछि मात्र तयारी गर्ने मूर्खता नगरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *