भर्खरै :

श्रीलङ्काका राष्ट्रपतिले राजीनामा नदिने तर बहुमत प्रमाणित गर्नेलाई सरकार सुम्पन तयार

श्रीलङ्का (कोलम्बो), २२ चैत (एएनआई) । श्रीलङ्काका राष्ट्रपति गोताबाया राजापाक्षेले मङ्गलबार पार्टीका वरिष्ठ सदस्यलाई आफूले पदबाट राजीनामा नदिने तर ११३ सिटको बहुमत भएको जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको बताउनुभएको छ ।
डेली मिररका अनुसार राजपाक्षेले सोमबार राजनीतिक भेटघाट गर्नुभएको थियो ।
जारी जनआन्दोलनबीच सभामुख महिन्दा यापा आबेवर्देनाको अध्यक्षतामा २२५ सदस्यीय विधानसभामा कुन दलले ११३ सिटमा पूर्णबहुमत ल्याउने भन्ने कुराको टुङ्गो लगाउन आज पहिलो पटक संसद्को बैठक बोलाइएको छ ।
गत आइतबार श्रीलङ्काका क्याबिनेट मन्त्रीले आर्थिक सङ्कटलाई लिएर सरकारविरुद्ध बढ्दो जनआक्रोशबीचमा आफ्नो पदबाट सामूहिक राजीनामा दिएका थिए । राष्ट्रपति राजापाक्षेले विपक्षी दललाई मन्त्रिपरिषद्मा सामेल हुन र एकताबद्ध सरकार गठन गर्न आह्वान गरेका छन् ।
डेली मिरर अखबारले उल्लेख गरेअनुसार श्रीलङ्का फ्रिडम पार्टी
(एसएलएफपी) र केही सरकारी सांसद्ले स्वतन्त्र बस्ने धम्की दिएपछि सरकारले आफ्नो दुईतिहाइ बहुमत गुमाएको छ ।
जे होस् एसएलपीपीले अहिले आफ्नो पक्षमा ११३ सिट जोगाउन कोसिस गरिरहेको छ ताकि यो साधारण बहुमतमा पनि सरकारमा रहन र महिन्दा राजापाक्षे प्रधानमन्त्री बन्न सक्ने देखिन्छ ।
सरकारले आज पनि बहुमत देखाउन नसके नयाँ प्रधानमन्त्रीको टुङ्गो लगाउन सभामुखसमक्ष प्रस्ताव राखिने र राष्ट्रपति राजापाक्षेले निर्णय गरेबमोजिम नयाँ दललाई सरकार हस्तान्तरण गरिने डेली मिरर जनाएको छ ।
सरकारले शनिबार फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप र युट्युबलगायतका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो तर प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले यसको विरोध गरेपछि आइतबार दिउँसो प्रतिबन्ध हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *