भर्खरै :

आलोचनालाई विरोधी आँखाले हेर्नु गलत

  • चैत्र २३, २०७८
  • मनोहरि थापा
  • विचार

धरहरा पनि भ्यु टावर हो भनेर जिल्लाका विभिन्न अनकन्टार र विकटमा बनाइएको भ्यु टावरलाई काठमाडौँको धरहरासँग दाज्न मिल्दैन । भ्यु टावर कहाँ केको लागि बनाउने हो भन्ने कुनै अध्ययन, अनुसन्धान र खोजीनीति नगरी बनाइएपछि त्यसको आलोचना हुनु स्वाभाविक हो । डाँडामा अग्लो भवन बनाउँदाको स्वाद के हो ? कतै बनाइएका भ्यु टावरको आफ्नै मौलिकता, विशेषता या महत्व भएको भए पनि त्यसको उपादेयता हुन्छ । भ्यु टावर कुनै ठाउँको सौन्दर्यता या महत्व बढाउन बनाइएको देखिँदैन । अन्य मुलुकमा पनि बनाइएका भ्यु टावरहरू चर्चित भएको बखान गरेर नेपालको विकट स्थानमा बनाइएका भ्यु टावरहरू चर्चित हुने होइन, महत्व बढ्ने होइन । त्यो टावरको विशेषता के ? टावर पुगेर हेर्ने के ? बस्ती नै नभएको या सुनसान ठाउँमा टावर हेर्न को पुग्छन् ? त्यहाँ पुगेर बस्ने, खानपिन गर्ने व्यवस्था के ? भ्यु टावर बनेको स्थानमा पुगेर स्वदेशी या विदेशी पर्यटकले त्यहाँ के गर्ने ? बाटोघाटो, बस्ने, खानपिन, पानी, शौचालय केही बन्दोबस्त छैन भने त्यहाँ पुगेर के टावर केन्द्रलाई फोहोर थुपार्ने केन्द्र बनाउने ? जनताका अति प्राथमिकताका कुरा छोडेर जहाँतहीँ भ्यु टावर बनाएपछि आलोचना गर्नु अन्यथा होइन । आलोचनालाई विकासविरोधी ठान्ने एमालेका अध्यक्ष केपी ओलीले हलुका टिप्पणी गर्न ओलीको आफ्नो राजनीतिक उचाइ घटाउनु हो । यसरी जहाँतहीँ भ्यु टावर बनाएर सुखी नेपाली समृद्ध देश बन्दैन ।
करोडौँ खर्च गरेर बनाइएका अग्ला भ्यु टावरहरूको औचित्य हुनुपर्छ । ती भ्यु टावरहरू हेर्न आन्तरिक र बाह्य पर्यटकहरू आउँछन् । कतै ती भ्यु टावरहरू सत्तारुढ र ठूला दलका नेता कार्यकर्ताहरूले सम्पत्ति कुम्ल्याउन ठड्याएका त होइनन् ? विकासको नाउँमा सम्पत्ति कुम्ल्याउन पल्केकै कारण मन्त्रीहरूसमेत स्थानीय तहमा भ्रष्टाचार बढी भएको गुनासो पोख्छन् । एक मन्त्रीले त स्थानीय तहमा कार्यकर्ताहरू भ्रष्टाचार या अनियमिततामा फसेकै कारण विकास योजनाको जिम्मा उपभोक्ता समितिमार्फत नगरी ठेक्कामा दिने निर्णय गरेर स्थानीय तहमा पत्राचार गर्न भ्याए । विकास योजना रोजगारमूलक र उत्पादनमूलक हुनुपर्ने आम जनताको माग के गलत हो ? के त्यस्तो विचारमा विकासविरोधी गन्ध पाइन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *