भर्खरै :

लोभी, पापी र बेइमानीहरूलाई निर्वाचनबाट पराजित गरेर कारबाही गर्नुपर्दछ

स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल सकिन लाग्दै गर्दा आगामी निर्वाचनमा उम्मेदवार बन्न र पुनः निरन्तरता पाउने आशामा केही जनप्रतिनिधिहरू जनताको घरदैलोमा धाउन थालेका छन् । निर्वाचित भएको ५ वर्षको अवधिमा जनतालाई त्यति महत्व नठान्ने प्रतिनिधिहरू चुनाव आउनै लाग्दा भने जनताको घरदैलो गर्न समय नै भ्याईनभ्याई भएको छ । निर्वाचित भएपछि एक–पटक नभेटिएका जनतालाई चुनावको मुखमा भने कुनै पनि जनता भेटघाट हुनबाट छुट्ला र मत नआउला भन्ने ठूलो पिर र डर भएको कुरा तिनीहरूको व्यवहारले देखाउँछ । चुनावताका जनताको ख्याल राख्ने नेताले निर्वाचित भएपछि पनि त्यतिकै चिन्ता र चासो राख्ने भइदिएको भए गाउँ र समाज विकास हुने थिए । आफ्ना जनप्रतिनिधिको काम देखेर जनता मख्ख हुन्थे ।
वडाध्यक्ष निर्वाचित भएर परिवार र आफन्तको लागि सोच्नु नाजायज हो । चुनावताका मात्र जनता प्यारो ठान्ने उम्मेदवारलाई आगामी निर्वाचनमा हराउनुपर्छ । राजनीतिलाई पेसा र आफन्त नातागोताको भरणपोषण ठान्नेहरूलाई आगामी चुनावपछिको मतपरिणामले ती कुरा गुमाउनुपर्ला कि भन्ने यतिबेला ठूलो पिर परेको छ । निर्वाचित भइसकेपछि जोडजाम गरेका घर घडेरीहरू धितोमा राखेर भए पनि चुनावमा प्रतिस्पर्धा गर्ने र अन्तमा विजय भएरै छाड्ने भनी जोडतोड लागिपरेका छन् । राजनीतिक दलहरूले पनि आफ्ना निर्वाचित प्रतिनिधिले राम्रो काम गरे नगरेको मूल्याङ्कन गर्नुभन्दा पनि आउने निर्वाचनमा जित्न सक्ने आर्थिक क्षमता दरिलो छ छैन, त्यतातिर ध्यान दिन्छन् । यसकारण, पुँजीवादी पार्टी र त्यस्ता जनप्रतिनिधिहरूबाट जनता दुखित र आक्रोशित बनेका छन् ।
आगामी निर्वाचनमा देश र जनताको हितमा बोल्ने र काम गर्ने राजनीतिक दल र तिनका उम्मेदवारहरूलाई निर्वाचित गराउन आवश्यक छ । चुनावअघि मात्र मिठो आश्वासन दिने लोभी, पापी र बेइमानीहरूलाई निर्वाचनबाट पराजित गरेर कारबाही गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *