भर्खरै :

‘घोषणापत्रको अक्षरशः पालना गरेका छौँ’

भक्तपुर, २६ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले आफ्नो घोषणापत्रअनुसार नगर र नगरबासीहरूको हितलाई केन्द्रमा राखी काम गर्दै आइरहेको बताउँदै भक्तपुर नपाले घोषणापत्रलाई अक्षरशः पालना गरेको बताउनुभयो ।
बिहीबार भक्तपुर नपा वडा नं. ४ को आयोजनामा तालाक्वमा भएको नव वर्ष २०७९ तथा बिस्का जात्राको शुभकामना आदानप्रदान तथा धन्यवादज्ञापन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले नजिकिँदै गरेको बिस्का जात्रा भव्य, सभ्य र सुरक्षित ढङ्गले सम्पन्न गर्न सरोकारवाला सबले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
हामीले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायत नगर र नगरबासीहरूको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरू र थुप्रै विकास निर्माणका कामहरू सम्पन्न गरिसकेको बताउँदै उहाँले भन्नुभयो, ‘जनताको साथ र सहयोग पाएकै कारण हामीलाई काम गर्न सहज महसुस गरेका छौँ र जनप्रतिनिधि र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर आजको अवस्थामा पुग्न सम्भव भएको हो ।’
भक्तपुर नपाले हालै वडा नं. ७ को उपचार पोखरी पुनःनिर्माणको कार्य शुभारम्भ गरिसकेको बताउँदै उहाँले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता हामीले पूरा गर्दै आएका छौँ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले वडाको विकास निर्माण कार्यहरूबारे अवगत गराउँदै नजिकिँदै गरेको बिस्का जात्रा भव्य र सभ्य रुपमा सम्पन्न सम्पूर्ण नगरबासीहरूले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले वडाको काममा सहयोग गर्ने सम्पूर्णमा धन्यवादज्ञापन गर्दै बिस्का जात्राको समयमा गःहिटीमा पुनःनिर्माण भइरहेको लक्ष्मीनरसिंह मन्दिरको संरक्षण र सुरक्षाको निम्ति स्वयम्सेवक समिति गठन गरी परिचालन गर्ने तयारीमा जुटेको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले बिस्का जात्राले नेपालको प्रतिष्ठा प्रवद्र्धन गर्ने भएकोले यसलाई थप सुरक्षित र व्यवस्थित गर्नुपर्ने बताउँदै बिस्काको समयमा सम्पदा क्षेत्रमा क्षति नहोस् भन्ने हेतुले छुट्टै टोली परिचालन गर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नपाका कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल, वडा सदस्य राजेन्द्र माक, नेमकिपा वडा नं. ४ एकाइ समितिका अध्यक्ष हरिसुन्दर सुवाल, भनपा ४ का न्हुछेराम भेलेले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *