विश्वभरका लाखौँ मानिससँगै म पनि स्पेनी बनेँ !
- श्रावण ५, २०८३
आनन्दको खोजीमा लाग्नेहरू हावामा उड्न थाल्छन् र जमिनी यथार्थ भुल्छन् । भुल्नु तिनको बाध्यता हो । नभुले वास्तविकताले तिनलाई चिथोर्छ, लाछिपनले सताउँछ । आनन्दकै लागि तिनले यथार्थ हेर्ने झिल्के चस्मा लगाउँछन् । विनोद सिजापतीको लेख “कहिलेसम्म फैलाइरहने ‘राष्ट्रवाद’ को हाउगुजी ?” (नयाँ पत्रिका, चैत २९) यस्तै चस्मा लगाएर लेखिएको ‘बौद्धिक’ र ‘जिम्मेवार’ लेख हो । यी दुई विशेषण किन ? किनभने ‘राष्ट्रवादी’ र ‘षड्यन्त्रविद’ हरूलाई उनी यिनै विशेषणले कटाक्ष गर्छन् । शब्दको ‘दुरूपयोग’ लाई सच्चाउन नै उनले ‘बौद्धिक’ र ‘जिम्मेवार’ लेख लेखेको हुनुपर्छ ।
शब्दको दुरूपयोग केही नेपाली बुद्धिजीवीको विशेषतामात्र होइन, अल्पज्ञानको द्योतक पनि हो । नेपालमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध ‘राष्ट्रवादी’ हरूले कहिल्यै गरेका छैनन् । एमसीसी सम्झौताको विरोधमा जति नै खोके पनि राप्रपाका नेता त्यसको विपक्षमा मत दिन फागुन १५ गते संसद भवन गएनन् । राजावादी वा दक्षिणपन्थीहरूमात्र ‘राष्ट्रवादी’ हुनसक्छन् । नेपाली ‘राष्ट्रवादी’ र ‘उदारवादी’ हरूबीच त्यति धेरै भिन्नता छैन । अहिलेका उदारवादीहरू राष्ट्रवादी बाउबाजेकै सन्तान हुन् । सुवर्ण शमशेर जनताका छोरा थिएनन् । यसको उल्टो कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् । कम्युनिस्टहरूलाई पनि ‘राष्ट्रवादी’ भनेर सिजापतीजीले आफ्नो विशेषता नभई, अल्पज्ञान नाङ्गो पारेका छन् । उसो त, अल्पज्ञान नै उनको विशेषता पनि हुनसक्छ । अथवा, जानाजान अल्पज्ञान प्रचार गर्नु उनको विशेषता हुनसक्छ । प्रजातन्त्रमा उनीजस्ता उदारवादीहरूले खोजेको यही जथाभावी प्रचार गर्ने अधिकार न हो ¤
भीमसेन थापा यताको नेपालमा देशको सार्वभौमिकता र भूअखण्डता सदा विदेशीको अनुकम्पामा बाँच्दै आएको छ । यही सिलसिलाका वारेस हुन् विनोद सिजापती कोटीका ‘बुद्धिजीवीहरू’ । भारतले नेपालको ७१ भन्दा बढी स्थानमा ६० हजार हेक्टर (माल्दिभ्सभन्दा दोब्बर भूमि) भूमि मिचेको सत्यले शंख फुकिरहे पनि सिजापतीजी सुन्न तयार छैनन् । कान थुनेर उनी लेख्छन्, “दुवै छिमेकी राष्ट्रले नेपाली भूभाग खरिद गर्ने अथवा हडप्ने प्रयास गरेका छैनन् र सम्भावना पनि छैन ।” लिम्पियाधुरा क्षेत्रमा नेपाली भूभाग हडपेर लिपुलेक पुग्ने बाटो बनाएको भारतीय प्रम मोदीले यसै वर्ष उत्तराखण्डको एक कार्यक्रममा बोले । महाकालीले नेपाली भूमि कटान गर्ने गरी भारत सरकारले कृत्रिम बाँध बाँधेको खबर नेपाली अखबारहरूमा नआएको होइन । तर, आफ्नो आनन्द खण्डित हुने देखेरै यी सत्यप्रति सिजापतीजी आँखा चिम्लिन्छन् । धन्य हो उनको कान र आँखा !
विभिन्न विश्व घटनाको मिति र सङ्ख्या उल्लेख गरेर सिजापतीजीले आफूलाई कूटनीतिक ज्ञानमा विश्वासिलो देखाउन खोजेका छन् । तर, लोकसेवा पास गर्दैमा कोही जान्नेबुझ्ने हुन्न । खासगरी भारतीय राजनीतिबारे सिजापतीजी ढुक्क छन् । युक्रेन घटनामा भारतले अमेरिकाको पक्ष नलिएको उदाहरण दिँदै उनी लेख्छन्, “चीनलाई घेराबन्दी गर्न जतिसुकै अमेरिकाले प्रयास गरे पनि भारत सरिक हुनेछैन ।” भारतको पोर्ट ब्लेयरमा अमेरिकी सैन्य अखडा छ । भारत अमेरिकी हिन्द चीन रणनीतिको हिस्सा हो । चीनलाई घेर्न बनाइएको क्वाड गठबन्धनमा पनि भारत संलग्न छ । एमसीसीमा भारतको नाम उल्लेख हुनु र भारत केही नबोल्नु काकताली होइन । साथै भारतको औद्योगिकीकरण र सैन्यकरणमा रुसको योगदान हुनाले फ्याट्टै युक्रेनको पक्षमा मुख नखोल्नु अर्को कुरा हो । एकाध घटनालाई सामान्यीकरण गर्नु सिजापतीजीको दृष्टिदोषमात्र हुनसक्दैन ।
विनोद सिजापतीको लेखको सार यस्तो निस्किन्छ – “हामीले देशको भूअखण्डताको चिन्ता लिनुपर्दैन । यो जोगाउन भारत र चीन पर्याप्त छन् । दोष हाम्रै नेताको हो । मुख्य समस्या गरिबी हो ।” बफर क्षेत्रका देश अरूले जोगाइदिन्छन् भन्नु गलत छ भन्ने कुरा वरपर हेरे पुग्छ । सिक्किम भारतले खाएकै हो । काश्मीर निल्न लाएकै हो । मङ्गोलियालाई अमेरिकाले आफ्नो अखडा बनाएकै हो । सोभियत सङ्घको विघटनपछि मङ्गोलियाका गोठालाहरूले भनेका थिए, “पहिले पनि अनिकाल लाग्थ्यो । तर, त्यसबेला राज्यले हामीलाई खानाको व्यवस्था गथ्र्यो । अहिले भोकै बस्नुपर्छ ।” त्यतिबेला एक महिला डाक्टरले भनेकी थिइन्, “मङ्गोलियामा देहव्यापार भन्ने कसैलाई थाहा थिएन । महिलाहरू देहव्यापार गर्न थालेका छन् । हाम्रो तलब पनि एकदम घटेको छ ।” अमेरिकाको भाउँतोमा लागेर नवउदारवादी अर्थनीति अँगालेपछि मङ्गोलिया त्यो हविगतमा पुगेको थियो ।
नवउदारवादी अर्थनीति, त्यसलाई नेपालमा थोपर्ने अमेरिकी साम्राज्यवाद र तिनले तयार गरेका एजेन्टहरूले नै नेपाली अर्थतन्त्र ध्वस्त पारेका हुन् । नेपालको गरिबीको एउटा कारण नवउदारवाद हो । अर्को कारण भारतीय एकाधिकार पुँजी नै हो । भारतीय तरकारी र फलफुलमा विषादी हुन्छ भन्ने जान्दाजान्दै पनि खानुपर्ने स्थितिमा पु¥याउने भारतीय व्यापारीहरूको प्रवक्ता भारत सरकार र उसका नेपालस्थित एजेन्टहरू नै हुन् । नेपालका नदीनाला र प्राकृतिक स्रोतसाधनको तालाचाबी अँठ्याएर बसेका विदेशी पुँजीका दलालहरूकै कारण एक्काइसौँ शताब्दीमा पनि नेपाल र नेपाली पिछडिनुपरेको हो । परिणाम देखाएर चच गर्ने सिजापतीजी कारणलाई भने बेवास्ता गर्छन् वा कारणै होइन भन्छन् । उल्टो ‘कमजोरी हाम्रो हो’ भनेर आत्मपीडक वा आत्मधिक्कारको उपदेश दिन्छन् । त्यसैले उनले दिएको अर्ती नेपालीलाई भन्दा पनि विदेशीका लागि लाभदायी छ ।
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले गरेका षड्यन्त्रहरूको फेहरिस्त लामो छ । जानकारी बटुल्ने विनोद सिजापतीले एकचोटि यतातिर पनि हेरुन् । के उनले राजदरबार हत्याकाण्ड बिर्सेकै हुन् ? असमान सन्धि थोपर्न नेपाली काङ्ग्रेस आदिले संसद् खरिदबिक्रीजस्ता सबै हत्कण्डा अपनाएको उनले किन बिर्सेको ? खम्पा विद्रोहीहरूलाई सघाउन पश्चिमाहरू नेपाल पसेको उनलाई थाहा छैन ? नेपाललाई चीनले सहयोग दिने कुरा निस्कियो कि अमेरिकी सांसदहरूले धम्की दिने गरेको उनले किन नसुनेको ? अमेरिकी सैन्य विमान र सैनिकहरू नेपाल पसेको खबर उनले नपढेकै हो त ? कुरा साफ छ । यी सबै कुरा नदेखेझैँ, नसुनेझैँ र नपढेझैँ गरेपछि मात्र यो देशका बुद्धिजीवीहरू आनन्दभूमिमा पस्न सक्छन् । एमसीसीविरोधी आन्दोलनमा धेरै बुद्धिजीवीले यसरी नै आफ्नो दानापानीको जोहो गरेको सबैलाई थाहा छ । नेपालमा चलखेल गर्ने र नेपाललाई षड्यन्त्रको जालोमा पार्ने काम नेपाली जनताले गरेका होइनन् । विदेशी दलालको रूपमा सत्तामा बस्ने शासकहरूले गरेका हुन् । दोष कसैले लिनुपर्छ भने शासकहरूले लिनुपर्छ, जनताले होइन । त्यसैले नेपाली जनताले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तावादको विरोध गर्दै जानेछन् । विदेशीको अनुकम्पामा सार्वभौमिकता बचाउनेहरू विदेशतिरै भागून् । यहाँ बस्ने नैतिक अधिकार छैन ।
Leave a Reply