काल्पनिक समाजवादका अर्का एक महान् संस्थापक रोवर्ट ओवेन हुनुहुन्थ्यो । उहाँको जन्म १७७१ मा बेलायतको न्युटाउन भन्ने गाउँमा भएको थियो । न्यूटाउन उत्तरी वेल्सको भोंटगोमेरिसायरमा पर्दछ । उहाँका बुबा घोडाको काठी र फलामका व्यापारी हुनुहुन्थ्यो । ९ वर्षको उमेरमा रोबर्ट ओवेनले गाउँकै स्कूलमा पढाइ लेखाइ सुरु गर्नुभयो । १० वर्षको उमेरमा उहाँ स्टाम्पफोर्ड भन्ने ठाउँमा जानुभयो । उहाँले त्यस ठाउँमा ४ वर्षसम्म लुगा बेच्ने पसलमा काम गर्नुभयो । त्यही पसलमा काम गर्दागर्दै उहाँले व्यापारको राम्रो अनुभव हासिल गर्नुभयो । त्यही अनुभवको आधारमा उहाँले फेरि लन्डन र मेनचेस्टरमा गएर व्यापारको काम सुरु गर्नुभयो । लन्डन बेलायतको राजधानी हो र मेनचेस्टर बेलायतको सबभन्दा ठूलो औद्योगिक क्षेत्र र सहर हो । मेनचेस्टरमा उहाँले छिट्टै प्रगति गर्नुभयो ।
रोवर्ट ओवेन सा¥है मेहनती र फूर्तिला युवक हुनुहुन्थ्यो । त्यसबेला उहाँ भर्खर १९ वर्षका जवान हुनुहुन्थ्यो । मेहनती र काम गर्नमा सिपालु हुनुभएकोले नै १९ नै वर्षको उमेरमा उहाँ एक कपास कारखानाका मेनेजर (प्रबन्धक) बनाइनु भयो । त्यसबेला त्यस कारखानामा ५०० जवान मजदुरहरू काम गर्थे । कारखानाको उन्नतिले उहाँमा भएको प्रशासनिक योग्यतालाई देखाइदियो । उहाँमा काम गर्ने ठूलो दृढता थियो । जे काम पनि उहाँ मन लगाएर गर्नुहुन्थ्यो । उहाँकै सफल प्रबन्ध र बन्दोबस्तले गर्दा त्यो कारखाना त्यसबेला बेलायतका नाउँ चलेका अरू कारखानाकै तहमा पुग्यो । कारखानामा उहाँले परोपकारी सिद्धान्तलाई व्यावहारिक रूप दिन थाल्नुभयो ।
त्यस कारखानामा ओवेनले सबभन्दा पहिले अमेरिकी समुद्री टापुहरूबाट आउने कपासको प्रयोग गर्नुभयो । उहाँले त्यसका थैलाहरू बनाउने काम थाल्नुभयो । दक्षिण अमेरिकाबाट आउने कपासको प्रयोग गर्ने बेलायती कारखानामा उहाँकै कारखाना पहिलो थियो । उहाँले धागोको बुनाइमा नयाँ प्रयोग र प्रगति गरेर देखाउनुभयो । यसरी उहाँ त्यस कारखानाका सफल मेनेजर बन्नुभएको थियो । त्यहाँ काम गर्दागर्दै उहाँ मेनेचेस्टरको चार्लटन द्विस्ट कम्पनीका एक हिस्सेदार पनि बन्नुभयो ।

रोवर्ट ओवेन
रोवर्ट ओवेन अब २९ वर्षको बेला कामकै सिलसिलामा ग्लाक्सो पुग्नुभयो । ग्लाक्सो उत्तरी बेलायतको एक महत्वपूर्ण औद्योगिक व्यापारिक केन्द्र हो । मेनचेस्टरको कपास कारखानाको सफलताले न्युलेनार्कका एक कारखानाका मालिक श्री डालिसँग उहाँको सम्बन्ध भयो । न्युलेनार्क बेलायतको उत्तरी भागको स्कटल्यान्डको एक सहर हो । त्यसकै नजिकै एउटा कपास कारखाना थियो । त्यस कारखानालाई १७८४ मा श्री डालि र आर्कराइटले स्थापना गरेका थिए । श्री डालिसँगको उहाँको सम्बन्धले डालिकी छोरीसँग पनि परिचय भयो । त्यो परिचय र सम्बन्ध प्रेममा विकास भयो । सन् १८०० मा ओवेन पनि डालिको कारखानाका हिस्सेदार हुनुभयो ।
डालिको त्यो कारखाना पानीको घट्टले चल्थ्यो र बडो आकर्षक थियो । त्यो कारखाना हेर्न लायकको थियो । मजदुर र अरू प्रबन्धकहरूसमेत गरेर २ हजार मानिसहरू त्यस कारखानासँग सम्बन्धित थिए । त्यसमध्ये ५ सय जना त ५–६ वर्षका केटाकेटी नै थिए । त्यहाँ डालिले एक अनाथालय पनि खोलेका थिए । तर, त्यहाँ केटाकेटीहरूको अवस्था सन्तोषजनक थिएन ।
कारखानामा पतित, चोर, जँड्याहा र अरू खराब लतमा लागेका मानिसहरू थुप्रै थिए । सुग्घर–सफाइ पनि थिएन । परिवारका सबै सदस्य एउटै कोठामा सुत्थे । शिक्षाको कुनै बन्दोबस्त थिएन । त्यस्तो परिस्थितिमा उहाँले १ जनवरी १८०० मा न्युलेनार्कको त्यस कारखानाको सञ्चालन आफ्नो हातमा लिनुभयो ।
कारखानाका ती सबै खराबीहरू देखेर ओवेन व्यथित हुनुभयो, आकुल–व्याकुल हुनुभयो । तर, उहाँ एक सफल प्रबन्धक भएकोले धैर्यपूर्वक स्थितिलाई सम्हाल्ने अाँट छोड्नुभएन । उहाँको फूर्तिलो र दृढ स्वभाव, मेहनत गर्ने र काममा लागिरहने गुणले गर्दा ती खराबीहरू हटाउन कम्मर कस्नुभयो । परेको मूल्त्र्न्दा अलिकतिमात्र बढी पैसा लिएर बेच्ने एक सस्तो वा सुपथ पसल कारखानाभित्रै खोल्न लगाउनुभयो । त्यहाँ बजारमा कसैले मिसावट भएका र नक्कली सामान बेच्न र बढी मोल लिन पाइन्नथ्यो । त्यस सुपथ मूल्यको पसलमा रक्सी पनि पाइन्थ्यो । तर, रक्सी मात्राभन्दा बढी किन्न र बेच्न पाइँदैनथ्यो ।
उहाँले केटाकेटीको शिक्षा–दीक्षाको प्रबन्धमा विशेष ध्यान दिनुभयो । त्यसमा उहाँले विशेष सफलता पनि हासिल गर्नुभयो । त्यस स्कूलमा स्वतन्त्र शिक्षा प्रणाली लागू गर्नुभयो । त्यस शिक्षा प्रणालीमा शिक्षा के कस्तो हुनुपर्छ भन्ने उहाँको आफ्नै विचार लागू गर्नुभयो । यस अर्थमा उहाँ बेलायतमा परोपकारको स्कूल खोल्ने पहिलो संस्थापक हुनुहुन्थ्यो । पछि उहाँको त्यो शिक्षा प्रणाली युरोपेली महादेशका सबै भागमा प्रचार भयो ।
पहिले त आफ्नो प्रयोगमा ओवेन आफैलाई पनि त्यत्ति विश्वास थिएन । तर, प्रयोगमा उहाँले पर्याप्त सफलता पाउनुभयो । कारखाना सफलतापूर्वक चलिरहेको थियो ।
उहाँको परोपकारी काममा भने कारखानाको कोषबाट केही रकम त जरुरै खर्च हुन्थ्यो । कारखानाका केही हिस्सेदारहरू त्यसलाई अनावश्यक खर्च सम्झन्थे र त्यस खर्चबाट सन्तुष्ट थिएनन् । तिनीहरू अनाथ केटाकेटी, परोपकार र शिक्षासँग केही मतलब राख्दैनथे । तिनीहरू आफ्नो व्यापार र नाफाको मात्रै वास्ता राख्थे । तिनीहरूले परोपकारमा बढी पैसा खर्च गर्न नसकिने जुक्तिहरू गर्नथाले । तिनीहरूको त्यो दबाब ओवेनले मनपराउनु भएन ।
यसकारण १८१३ मा ओवेनले एक अर्को व्यापारिक संस्था खोल्नुभयो । उहाँले त्यस संस्थानको पुँजीलाई ५ प्रतिशतमात्र ब्याज दिने बन्दोबस्त मिलाउनुभयो । त्यस संस्थामा जेमेरी वेस्थन र एक नाउँ चलेको व्यक्ति क्वान्कर विलियम आलेन पनि हिस्सेदार थिए ।
“१८०० देखि १८२९ सम्म उहाँले स्कटल्यान्डको न्युलेनार्क कपास कारखानामा एक सञ्चालक र हिस्सेदारको रूपमा काम गर्नुभयो । उहाँले यहाँ धेरै स्वतन्त्रपूर्वक काम गर्नुभयो र सफलता पाउनुभयो । यसले सारा युरोपमा उहाँको नाम चल्यो । त्यहाँ विभिन्न किसिमका मानिसहरू थिए । तिनीहरूमध्ये धेरै हुतिहाराहरू थिए । उहाँले काम गर्नुभएपछि त्यो ठाउँ २५०० जवानको एक राम्रो बस्तीमा फेरियो । रक्सीबाजी, पुलिस, मेजिस्ट्रेट, मुद्दा मामला, कानुनी दरिद्रता, दान–दयाजस्ता कुराहरूको त्यहाँ नाम निसानै थिएन । मानिसलाई उहाँले खालि मानिस बस्नलायक परिस्थितिमा राखिदिनुभयो र नयाँ पुस्तालाई होसियारीपूर्वक हुर्काउनु भयो । न्युलेनार्कमा पहिलोचोटि प्रयोग भएको परोपकार स्कूलको उहाँ संस्थापक हुनुहुन्थ्यो । त्यहाँ दुई वर्षका उमेरका केटाकेटीहरू स्कूल आउँथे । तिनीहरू त्यहाँ हाँसखेल गर्थे । यसले गर्दा तिनीहरू घर फर्कन पनि मन पराउँदैनथे ।”
एकचोटि कपासको कमी भयो । ४ महिनासम्म कारखाना बन्द भयो । तर, रोवर्ट ओवेनले काम नगरेको दिनको ज्याला पनि सबै कामदारहरूलाई दिनुभयो । तैपनि, कारखानाले राम्रै नाफा पाएको थियो । तर, त्यसको ठीक उल्टो, ओवेनका विरोधी कारखानेदारहरू आफ्ना कामदारहरूलाई दिनको १३–१४ घण्टा काम गराउँथे ।
ओवेन आफ्नो कामबाट अझै सन्तुष्ट हुनुहुन्नथ्यो । किनभने, ती कामदारहरू अझै उहाँका इच्छाका कमाराहरू थिए । उहाँ तिनीहरूलाई स्वतन्त्र र कसैको इच्छाका कमारा हुन नपर्ने बन्दोबस्त गर्न चाहनुहुन्थ्यो । उहाँ तिनीहरूको चौतर्फी विकास गर्न चाहनु हुन्थ्यो । तर, त्यो कुरो छिट्टै हुनसक्दैनथ्यो ।
रोबर्ट ओवेनले लेख्नुभयो– “२५०० व्यक्तिहरूको यस जनसङ्ख्याबाट समाजको निम्ति दिनमा जति वास्तविक धन उत्पादन हुन्छ, ५० वर्षअगाडि त्यत्ति उत्पादनको निम्ति ६ लाख मानिसहरूको आवश्यकता हुन्थ्यो । मैले आफैसँग सोधेँ कि ६ लाख मानिसहरूले गर्ने खर्चभन्दा २५ सय मानिसहरूले धेरै कम खर्च गर्छन् त बाँकी धन कहाँ गयो ?
धन कहाँ जान्थ्यो ? ५ प्रतिशत ब्याज पुँजीलाई जान्थ्यो र त्यसबाहेक ३ लाख पाउन्ड चोखो नाफा निस्कन्थ्यो ।
सन् १८१३ मा उहाँका निबन्धहरू प्रकाशित भए । मानिसको स्वभाव आफैबाट तयार हुने कुरा होइन । उसको स्वभाव ऊ बस्ने वातावरणबाट प्रभावित हुन्छ । यसकारण, कुनै व्यक्ति व्यक्तिगतरूपले तारिफ या निन्दाका पात्र हुँदैन । मानिसलाई राम्रो बनाउन त्यस्तै भौतिक, नैतिक र सामाजिक परिस्थितिमा राख्नुपर्छ । मानिस असल र खराब हुनुमा उसको शिक्षा र सामाजिक परिस्थिति नै जिम्मेदार हुन्छ । यही उहाँको निबन्धको चुकुल या सार हो । निबन्धको शीर्षक हो– ‘समाजको नयाँ दर्शन’ अथवा ‘मानव चित्रको निर्माणका सिद्धान्तका निबन्धहरू ।’ त्यसमा जम्मा ४ वटा लेखहरू थिए ।
उहाँको स्कूलको उदाहरणको अनुसरण न्युलेनार्कमा अरूले पनि गर्न थाले । १८१६ मा त्यही त्यस्ता अरू पनि स्कूलहरू उहाँले खोल्नुभयो । यो बेलायत र युरोपको निम्ति एक उदाहरण बन्यो ।
त्यसबेला बेलायतका विभिन्न कारखानाहरूको ऐन कानुन बनिरहेको थियो । अनेक किसिमका स्थानीय मजदुरका असन्तोषहरू र विरोधहरू देखा पर्दै थिए । उहाँले आइमाई र केटाकेटीलाई कामको घण्टा निश्चित गराउने ऐन पास गराउन आवश्यक काम गर्नुभयो । उहाँ मजदुरहरूलाई बढी सहुलियत दिलाउने पक्षमा हुनुहुन्थ्यो र केटाकेटीबाट काम लिने कुराको विरोधी हुनुहुन्थ्यो । बल्ल ५ वर्षको दौडधुप र मेहनतपछि आइमाई र केटाकेटीको कामको घण्टाभन्दा बढी काम गराउन नपाउने ऐन पास गराउन सफल हुनुभयो । उहाँ मजदुरहरूका पक्का र सच्चा समर्थक हुनुहुन्थ्यो ।
उहाँले मन्त्री मण्डलका सदस्यहरू, शासक पार्टी र विरोधी पार्टीका नेताहरूसँग पनि आफ्नो योजना र विचारबारे कुराकानी गर्नुभयो । तिनीहरू पनि न्युलेनार्कमा हेर्न जान्थे । अनेक समाज सुधारकहरू र राजनेताहरू त्यहाँ हेर्न जान्थे । राजा निकोलश र एक रुसी सम्राट पनि त्यहाँ हेर्न गएका थिए । केटाकेटीहरू सा¥है राम्रा र खुसी थिए । तिनीहरू स्वतन्त्र र शान्त देखिन्थे । यो देखेर सबै पाहुनाहरू प्रभावित भएर फर्कन्थे । कारखाना राम्रो र नियमित रूपले नाफामा चल्यो । मजदुर र सञ्चालकहरूको सम्बन्ध राम्रो थियो ।
उहाँ गरीबहरूको निम्ति केही गर्न चाहनुहुन्थ्यो । उहाँ प्रतिनिधिसभा या संसद्बाट गरीबहरूको ऐन पास गराउनुहुन्थ्यो ।
सन् १८१७ तिर यस उद्देश्यको निम्ति उहाँ सम्बन्धित मानिसहरूलाई चित्त बुझाउन दौड–धुप गर्नुभयो । गरिबी ऐनले गरीबहरूले भत्ता र अरू सहुलियतहरू पाउँथे । गरिबी र युद्धको असरहरूबारे उहाँले एक रिपोर्ट तयार गर्नुभयो । कामदारहरूलाई मेसिनहरूसँग प्रतियोगिता गर्न दिने जस्ता कामलाई उहाँ मनपराउनु हुन्नथ्यो । उहाँले सबै वर्गलाई उद्धारको काम गर्न आह्वान गर्नुभयो । यसकारण, उहाँले परोपकार र निःस्वार्थी भावनामा आधारित एक समाजवादी समाज बनाउने योजना अघि सार्नुभयो ।
उहाँको योजनाअनुसार १००० देखि १५०० एकड जमिनभित्र एउटा सिङ्गो घर बनाइने छ । त्यो घर ४ नाले या चोक भएको हुनेछ । त्यसमा १२ सय जवान मानिसहरू बसोबास गर्नेछन् । त्यसमा हरेक परिवारको निम्ति अलग अलग कोठाहरू रहनेछन् । भान्छा घर र खाना भने सबैको एकै ठाउँमा रहनेछ । तीन वर्षपछि केटाकेटीहरूलाई समाजले पाल्नेछ । त्यस समाजलाई मानिसहरू आफै मिलेर गाउँ वा वार्ड, जिल्ला र राज्यको रूपमा स्थापना गरिनेछ । मनोरञ्जनका साधन सामूहिक हुनेछन् । योग्य व्यक्तिहरूको रेखदेखको बन्दोबस्त हुनेछ । यो थियो उहाँको योजना । त्यस योजनामा न्युलेनार्कका गाउँलेहरूको पनि सल्लाह र सुझाव गाभिएको थियो ।
उहाँको त्यस आदर्श समुदायमा पुगनपुग ५०० देखि ३००० मानिसहरू रहनेछन् । समाज खास गरेर कृषिमा निर्भर रहनेछ । त्यहाँ आवश्यक कल कारखाना र मेसिनहरू पनि रहनेछन् । पछि विस्तारै सहरहरू जस्तै दसौँ, सयौँ र हजारौँ समुदायहरूको संयुक्त सङ्घ बन्ने छ । यसरी त्यो समाज संसारव्यापी हुनेछ ।
सन् १८२३ मा उहाँले आयरल्यान्डमा गरीब र पीडितहरूको सामूहिक बस्ती बसाल्ने योजना पेश गर्नुभयो । त्यसबेला त्यस सामूहिक बस्तीलाई ‘कम्युनिस्ट’ भन्दथे । उहाँले त्यस सामूहिक बस्तीको आम्दानी, खर्च र योजनाका सबै नक्साहरूसमेत पेश गर्नुभएको थियो । गरिबी मास्ने उहाँका विचारहरूलाई ठूला–बडा व्यक्तिहरू र ‘त्जभ त्ष्mभक’ (समय) र ुत्जभ ःयचलष्लन एयकतु (बिहानको समाचार) जस्ता नाउँ चलेका खबर कागजहरूले चर्चा गर्थे । उहाँका प्रशंसकहरूमध्ये केन्ट भन्ने इलाकाका एक रजौटा पनि थिए । उनी महारानी भिक्टोरियाका बाबु थिए । उनको मद्दतबाट लन्डनमा ठूल्ठूला सभाहरूको आयोजना हुन्थे र ओवेनले ती सभाहरूमा आफ्ना प्रवचनहरू दिनुहुन्थ्यो । यसकारण, उहाँ पनि एक समाज सुधारकको रूपमा प्रसिद्ध हुनुभयो ।
रोवर्ट ओवेन एक परोपकारी र सुधारकको रूपमा देखेसम्म ती ठूला ठालुहरूले उहाँलाई तारिफ र प्रशंसा गरे । ओवेनले सम्मान र गौरव प्राप्त गर्नुभयो । त्यसबेला उहाँ युरोपका सबभन्दा लोकप्रिय व्यक्ति हुनुहुन्थ्यो । उहाँका स्तरका मानिसहरूले मात्रै होइन, राजा महाराजा र राजनीतिज्ञहरूले पनि उहाँको कुरालाई सम्मानपूर्वक सुन्थे । तर जब उहाँले कम्युनिस्ट सिद्धान्तहरूलाई अगाडि राख्दै जानुभयो, स्थिति उल्टो हुँदै गयो । तिनीहरू उहाँबाट टाढाटाढा भाग्न थाले ।
बेलायतीहरू सा¥हैै पुरानो विचारमा टाँसिरहने रुढीवादी, अन्धविश्वासी र धर्मका अन्धाहरू थिए । ओवेनका निजी सम्पत्ति, धर्म र विवाहसम्बन्धी विचारहरू सुनेर तिनीहरूको सातोपुत्लो गयो र छेराउटी लागेर थला पर्यो । ओवेनलाई तिनीहरू धर्म नमान्ने नास्तिक भन्न थाले । उहाँलाई तिनीहरूले विरोध र हेलासमेत गर्न थाले । तर, ओवेन तिनीहरूको विरोध र निन्दाबाट अलिकति पनि डग्नुभएन । उल्टो परिस्थिति देखेर पछि हट्नुभएन । सरकारी अड्डा अदालतले उहाँलाई वास्ता गर्न छोड्यो । बेलायती प्रेसले उहाँको विषयमा लेख्न छोड्यो । त्यसकारण, उहाँले आफ्नो विचारलाई प्रयोग गरेर हेर्न चाहनुभयो ।
Leave a Reply