भर्खरै :

आत्मसम्मान बिर्सेका शासक नेताहरू

विक्रम संवत् २०७८ साल हामीबाट बिदा भइसकेको छ र २०७९ को सुरुआत भएको छ । नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण न्यायप्रेमी, प्रगतिप्रेमी र देशभक्त नेपाली जनतामा हार्दिक शुभकामना । हामीले नयाँ वर्षको शुभकामना व्यक्त गरिरहँदा हाम्रो देशका शासक दलका नेताहरूको क्रियाकलापले भने आगामी दिन प्रतिकूल हुने सङ्केत देखाएको छ । चैत २९ गते साँझ प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका नेताहरू दलबलसहित लैनचौरस्थित भारतीय राजदूतावासमा निम्ता मान्न गए । प्रधानमन्त्री शेरबहादुर देउवामात्र होइन, पूर्वप्रधानमन्त्रीहरूको लर्को नै भारतीय दूतावास पुगेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपाका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईमात्र होइन, सविधानसभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरू साँझ भारतीय राजदूत विनयमोहन क्वात्राको ‘कक्टेल रिसेप्सन’ मा सहभागी हुन पुगेका थिए । अठार दिनपछि भारतीय विदेश मन्त्रालयको सचिव सम्हाल्न लागेका क्वात्राले प्रधानमन्त्री देउवासहित शीर्ष नेतालाई ‘फेरवेयल पार्टी’ मा निम्ता गरेका थिए । दूतावासको ‘कक्टेल रिसेप्सन’ निम्तामा नेताहरूको लर्को लागेको हो ।
राजदूतहरूले बिदाइ भेट र भोज दिने सामान्य प्रचलन हो । त्यस्ता भोजमा राजनीतिक दलका नेताहरू सहभागी हुनसक्छन् । देशको प्रधानमन्त्री दूतावासभित्रको भोजमा जाने गरेको भने पाइँदैन । नेपालमै पनि अन्य देशका राजदूतहरूले बिदाइ भेटका लागि प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरूसँग भेट गर्ने गरेका छन् । कूटनीतिक क्षेत्रका जानकारहरूले मङ्गलबार दूतावासभित्र आयोजित त्यस्तो पार्टीमा जानुलाई ‘राष्ट्रिय लज्जा’ को विषय भनेका छन् । राजदूतको ंबिदाइ भोजमा बहालवाला प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू लाम लागेर जानुलाई राष्ट्रिय स्वाभिमान, इज्जत र प्रतिष्ठामा आँच आउने गतिविधिमात्र भनेका छैनन्, राष्ट्रको कद होच्याउने अस्वाभाविक हर्कतसमेत भनेका छन् । दूतावासमा आयोजित बिदाइ भोजमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको टोली जानुलाई गैरकूटनीतिक र अस्वाभाविक गतिविधि हो । शासक नेताहरूको गतिविधिले नेपाल र नेपाली जनताको स्वाभिमान, इज्जत र प्रतिष्ठामा आँच पुगेकोे छ र राष्ट्रको कद होचो भएको छ । केही व्यक्तिहरू उच्च पदमा पुग्नु ठूलो कुरा भएन, पदअनुसारको व्यवहार गर्न जान्नु मुख्य हो । नेपालका शासक नेताहरूले कूटनीतिक प्रोटोकललाई पूर्णतया बिर्सिदिएका छन्, विशेषगरी भारत र अमेरिकी अधिकारीहरूसँगको व्यवहारमा ।
नेपाली नेताहरूको यस्तो प्रोटोकलविपरीतको क्रियाकलापले भारतलगायत विभिन्न देशमा नेपाली कूटनीतिज्ञहरूले सम्मान नपाउने र अपमानित हुनुपर्ने अवस्था निम्तिएका छन् । एक वर्षअघि नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटसमेत दिएका थिएनन् । मन्त्री ज्ञवालीको अनेकन प्रयासमा भारतीय विदेश मन्त्रालयले अस्वीकार गरिदिएको थियो । नेपालले भारतका लागि राजदूत नियुक्त गरिसकेका राजदूत शंकर शर्मालाई एग्रिमो पठाउन नै ढिला ग¥यो, जब प्रधानमन्त्री देउवाको भारत भ्रमण टुङ्गो लाग्यो, त्यसपछि मात्रै शर्माको एग्रिमो पठाएको थियो । ओहोदाको प्रमाणपत्र त अझै बुझ्न पाएका छैनन् । अघिल्ला राजदूत नीलाम्बर आचार्यलाई तीन महिनासम्म भारत सरकारले ओहोदाको प्रमाणपत्र बुझ्न अलमल्याएको थियो ।
यतिमात्र होइन प्रोटोकल तोडेर नेपाली शासक नेताहरूले देशको कूटनीतिक क्षेत्रलाई ठूलो अप्थ्यारोमा पारेका छन् । हुन त अरू देशका राजदूतहरूले नेपालका प्रधानमन्त्री र मन्त्रीहरूलाई कूटनीतिक प्रोटोकल तोडेर आफ्नो कार्यालय वा राजदूतावास बोलाउने गरेका छैनन् र नेताहरू गएको अभिलेख पनि छैन । तर, भारत र भारतीय राजदूतको हकमा यस्तो हर्कतले भोलि अन्य देशका राजदूतले यसरी नै बिदाइ भोजमा बोलाउँदा जाने कि नजाने भन्ने प्रश्न उठेको छ । यसरी आत्मसम्मान बिर्सेर शासक दलका नेताहरूले के नुनको सोझो गर्न लागिपरेका हुन् भन्ने प्रश्न जानकारहरूले उठाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *