भर्खरै :

भरतपुर–१९ को पुनः निर्वाचन साउन २० गते

भरतपुर, १७ साउन । भरतपुर वडा नं. १९ को पुनः निर्वाचन यही साउन २० गते शुक्रबार हुने भएको छ ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालय, भरतपुरमा मङ्गलबार निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको अध्यक्षमा बसेको सर्वदलीयबाट सो निर्णय भएको हो ।
सो बैठकमा निर्वाचन अधिकृत न्यौपानेले निर्वाचन आचारसंहिता सबैले पालना गर्न अनुरोध गर्दै उम्मेदवार र चुनाव चिह्न पुरानै समयमात्र नयाँ भएको र प्रचार–प्रसारको काम पहिले नै सकिसकेकोले निर्वाचनतिरै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका जिल्ला अध्यक्ष हरिप्रसाद दुवालले निर्वाचन भनेको विचारको लडाइँ हो तर व्यवहारमा त्यो भएन, जसरी पनि जित्नुपर्ने मानसिकताले देश, जनता तथा प्रजातन्त्रको हित हुने छैन भन्नुभयो ।
उहाँले निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही नगरेको कारणले नै भरतपुर–१९ मा पुनः मतदान गर्नुपर्ने परिस्थिति तयार भएको बताउनुभयो ।
उक्त बैठकमा नेकाका जिल्ला अध्यक्ष जीतनारायण श्रेष्ठ, एमालेका सांसद एवम् जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष ईश्वरी भट्टराई, राप्रपाका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, मालेका प्रतिनिधि पार्वती कुमाल, राजमोका जिल्ला उपाध्यक्ष अमरबहादुर क्षेत्री, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी उपरिक्षक दीपक थापालगायतले बोल्नुभएको
थियो ।
बैठकलगत्तै भरतपुर कभर्ड हलमा रहेको भरतपुर–१९ को बाँकी भएको सबै मतपत्रहरू राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा जलाई नष्ट गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *