भर्खरै :

विद्युतीय मतदान उपकरणबारे आयोग र दलहरूबीच छलफल

काठमाडौं, १७ साउन । निर्वाचन आयोगको कार्यालय कान्तिपथ काठमाडौंमा राजनीतिक दलका प्रतिनिधिहरू र आयोगका पदाधिकारीहरूबीच विद्युतीय मतदान उपकरण (Electronic Voting Machine) बारे मङ्गलबार छलफल भयो ।
संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूको उपस्थिति भएको छलफलमा आयोगका अधिकारीहरूले भारतको चुनावमा प्रयोग गरिएको मतदान उपकरणबारे जानकारी गराए । भारतमा प्रयोग गरिएको उपकरण त्यहाँको रक्षा मन्त्रालयको पूर्र्ण नियन्त्रणमा निर्माण गरी निर्वाचन आयोगलाई जिम्मा लगाइएको उल्लेख गर्दै अधिकारीहरूले नेपालमा ती उपकरण प्रयोग गर्न भारतीय रक्षा मन्त्रालय र निर्वाचन आयोगको सहमति आवश्यक हुने बताए । यो उपकरण सात जना उम्मेदवारमध्येबाट छानेर मतदान गर्न मिल्ने हार्डवेनरमा आधारित थियो ।
छलफलमा प्रदर्शन गरिएको दोस्रो उपकरण सफ्टवेयरमा आधारित थियो । यसमा जति पनि उम्मेदवारमध्येबाट छानेर मतदान गर्न मिल्ने थियो । यस उपकरणको सफ्टवेयर बेलायतमा विकास गरिएको १२ देशले प्रयोग गरिसकेको सो उपकरण बनाएको स्मार्टमोटिक कम्पनीको सिङ्गापुरका अधिकारीहरूले बताए ।
आयोगका अधिकारीहरूले विद्युतीय मतदान उपकरण प्रयोग गरिए निर्वाचन प्रक्रिया सहज हुने, मतदानलगत्तै नतिजा निस्कने र खर्च पनि कम लाग्ने बताए ।
विद्युतीय मतदान उपकरण प्रयोग गरिएका संरा अमेरिकालगायत देशमा पनि धाँधली भएको समाचार प्रकाशित भएको थियो । नेपालमा ती उपकरण प्रयोग गरिए धाँधली कसरी रोक्ने भन्नेबारे पनि छलफलमा प्रश्न उठेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *