भर्खरै :

सिद्धान्तहीन तालमेल प्रजातन्त्रविपरीत

आवधिक निर्वाचनलाई प्रजातन्त्रको एक अभिन्न पक्ष मानिन्छ । निर्वाचनमा राजनीतिक दलहरूले आ– आफ्नो सिद्धान्त र निर्वाचन घोषणापत्रअनुसार जनतासित मत माग्ने गर्छन् । जनता वा मतदाताले पनि राजनीतिक दलहरूको घोषणापत्र र उम्मेदवारहरूको चरित्रलाई हेरेर मतदान गर्ने गर्छन् । तर, पुँजीवादी व्यवस्थामा देखावा एउटा र व्यवहार अर्को गर्ने गरिन्छ । शासक दलहरूका लागि निर्वाचनमा आचारसंहिताको उल्लङ्घन सामान्य कुरा बनिसकेको छ । उम्मेदवार वा उम्मेदवार नजिकका मानिसहरूले एउटा एउटा बहाना बनाएर भोज खुवाउन थालेका छन् । निर्वाचन आयोगले राजनीतिक दलहरू र उम्मेदवारहरूले खर्च गर्न पाउने निर्वाचन खर्चको सीमाको विरोध गर्न थालेका छन् । ती दलका नेता र उम्मेदवारहरू जनताको शुद्ध मत लिएर जित्नेभन्दा आकर्षक नारा, आश्वासनको भारी, अनेक लोभलालच दिएर र रकम बाँडेर निर्वाचन जित्ने सोचमा छन् । निर्वाचन जित्नकै लागि अहिले सत्ता गठबन्धनमा रहेका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाबीच चुनावी गठबन्धन भएको छ भने एमालेको चुनाव चिह्नमा केही पार्टीहरूले चुनाव लड्ने सहमति गरेका समाचार आएका छन् ।
सिद्धान्त र व्यवहार मिल्ने राजनीतिक दलहरूबीच मोर्चा या गठबन्धन हुनुलाई स्वाभाविक मानिन्छ । तर, यहाँ त अहिले वर्ग शत्रु वा प्रधान शत्रु घोषणा गरेका दलहरूबीच सत्ता गठबन्धन र चुनावी गठबन्धन तथा तालमेल भएका छन् । यी सिद्धान्तहीन तालमेल हुन् र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत पनि छन् । एउटा दलको उम्मेदवारले अर्को दलको चुनाव चिह्नमा चुनाव लड्नु अस्वाभाविकमात्र होइन, अनैतिक पनि हो । चुनाव जित्नका लागि जे पनि गर्नेहरूले भोलि चुनाव जितिहालेमा नैतिकता र आचारसंहिताको बन्धनमा बस्ला भनी कल्पना पनि गर्न सकिन्न । त्यसैले त्यस्ता अवसरवादी राजनीतिक दल र उम्मेदवारहरूबाट नेपाली जनता सजग हुनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *