भर्खरै :

कहिलेसम्म आश्वासनमा भुल्ने ?

बहुमत जनताले वर्ग शत्रु र वर्ग मित्र नचिनेसम्म या बहुमत जनताको सेवा गर्ने दल नचिनेसम्म देशमा पुँजीपतिवर्गको सेवा गर्ने दलले नै राज गरिरहनेमा शङ्का छैन । आफ्नो दलका उम्मेदवारलाई जिताउन पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दलले निर्वाचनमा अनेक लोभलाग्दा आश्वासनको पोको बाँड्ने काम पहिलेदेखि भएकै हो । वैशाख ३० गते हुने निर्वाचनमा पनि ठूला दलका नेताहरूले जनतामाझ यस्तै आश्वासनको पोका बाँड्दै छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रत्येक घरमा विद्युतीय चुल्हो बाँड्ने फुकिसके । एमालेका अध्यक्ष केपी ओलीले प्रत्येक घरमा एक रोजगारीको नारा फलाकेको जानकारी पनि सञ्चारमाध्यममा आयो । यसरी नै अन्य सत्तारुढ दलले के के आश्वासनका सपना बाँड्ने हुन् ? त्यो हेर्न बाँकी नै छ ।
निर्वाचनमा दलले आगामी ५ वर्षको लागि के काम गर्ने हो, त्यो प्रतिबद्धता जनतामाझ आउनुपर्छ । तर, जनताको मत बटुल्न गर्न नसकिने कुरा फलाक्नु हुँदैन । यो त सरकारले बजेट तयार गर्दा ठूल्ठूला योजना समावेश गरेर पछि नगर्ने वितरणमुखी बजेटजस्तो हुन्छ । वितरणमुखी बजेट हेर्दा लोभलाग्दो, धेरै काम गर्न लागेको जस्तो हुन्छ तर ती सबै काम हुँदैन । त्यसरी अहिले ठूला दलका नेताहरू आश्वासन बाँड्दै जनताको मत खिच्ने काम गरिरहेका छन्, जुन विगतमा पनि भएको थियो । जनता कहिलेसम्म आश्वासनको पोकोमा अल्झिएर बस्ने ? सत्तारुढ र ठूला दलले बाँडेको आश्वासन, लोभलालचमा मतदाता भुलेर नै देशको स्थिति बिग्रिएको हो । अब जनता सचेत हुनुपर्छ । अब जनताले सही मूल्याङ्कन गर्नुपर्छ ।
विगतमा पनि धेरैले आश्वासन बाँडे । आश्वासन बाँडेरै मत लिएर जिते । आश्वासन व्यवहारमा लागु भएन । लोभ बाँडे, पूरा गरिएन । आम मतदाता आश्वासनमै कहिलेसम्म भुलिरहने ? के मतदाता या जनताले विगतबाट शिक्षा लिनु पर्दैन ? शिक्षा लिएर अघि बढ्नुपर्दैन ? आश्वासनै आश्वासनमा अलमलिएपछि ठूला र सत्तारुढ दलले रजाइँ नगर्नु कसरी ¤ अतः जनता सचेत र चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *