भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौँ, ५ वैशाख । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकामा बढ्दो सहरीकरण र जनघनत्वको वृद्धिले विद्यमान खानेपानीको माग र आपूर्तिबीचको अन्तर पूर्ति गरी उपत्यकावासीलाई दीर्घकालीनरूपमा स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन सञ्चालित मेलम्ची खानेपानीको गत चैत २९ गते काठमाडौँ उपत्यकामा पानी पठाइसकिएको जानकारी गराउनुभयो ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पठाएसँगै वैशाख ११ गतेभित्र उपत्यकाभित्र खानेपानी वितरण सुरू गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री चौधरीले मेलम्ची खानेपानीको पहिलो चरणको कार्य सम्पन्न भई २०७७ साल चैत १५ बाट क्रमिकरूपमा पुरानो र नयाँ दुवै प्रणालीबाट वितरण कार्य सुरू गरिएकोमा २०७८ असार १ र त्यसपछिको प्राकृतिक प्रकोपका कारण आयोजनामा गम्भीर क्षति पुगी आयोजना सञ्चालनमा अवरूद्ध भएको बताउनुभयो ।
मेलम्ची खानेपानीको विकल्पको रूपमा मन्त्रालयले सिस्नेरी, ठोस्ने र महादेव खोला जलाशययुक्त आयोजना अध्ययन गरिरहेको बताउँदै उहाँले खानेपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै लानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी वैशाखभित्रै भक्तपुरमा पठाउनुपर्ने धारणा व्यक्त गर्दै मेलम्ची खानेपानी आयोजनाका विकल्पहरूबारे पनि अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । खानेपानीको स्रोत संरक्षण गर्न नसके भविष्यमा थुप्रै चुनौती र समस्याहरू उत्पन्न हुनसक्नेतर्फ इङ्गित गर्दै उहाँले सरोकारवालाहरू सबै मिलेर खानेपानीका स्रोतहरूको संरक्षण र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुरको नगरकोट क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्ने बताउँदै प्रमुख प्रजापतिले खानेपानीको स्रोत संरक्षणको लागि सेनालाई दिनु उपयुक्त हुने र खानेपानी तथा ढल व्यवस्थापनका क्रममा जनस्तरबाट उठेका कुरालाई केयूकेएल र पीआईडीले मनन गर्नुपर्ने बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौँ उपत्यका व्यवस्थापन बोर्डमा रहेर कार्य गर्दाको अनुभव सुनाउँदै बोर्डले मेलम्चीको पानीको विकल्पको रूप सिस्नेरी आयोजनालाई अगाडि ल्याएको बताउँदै पीआईडी र केयूकेएलको काममा स्थानीय तहसँग समन्वय गरी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीबाट पानी पठाउनेको कार्य हाल पूरा भएकोले उपत्यकाभित्र खानेपानी वितरणमा थप सहजता हुने बताउँदै वैकल्पिक स्रोतहरूको खोजी गरी उपत्यकामा खानेपानीको दीर्घकालीन समाधान गर्नेतर्फ खानेपानी मन्त्रालय अग्रसर रहेको बताउनुभयो ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले उपत्यकाको खानेपानी संवेदनशीलता एवम् आम उपभोक्ताको हितलाई प्राथमिकतामा राखी बोर्डले सेवा प्रदायक काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमार्फत मौजुदा उत्पादन तथा वितरण प्रणाली, चुहावट नियन्त्रण, गुणस्तर, स्रोत परिचालन, मुहान संरक्षण, सरसफाइ व्यवस्थापन एवम् सुधारलगायतका कार्यहरूमा सहकार्य गर्दै आइरहेको बताउनुभयो । उपत्यकाका करिब १६ ठाउँमा ‘वाटर एटीएम’ सञ्चालनमा ल्याइसकेको बताउँदै उहाँले बोर्डले वर्षात्को पानी सङ्कलन गरी पुनःभरण गर्ने काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव मीना श्रेष्ठ, केयुकेएलका कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सूर्यराज कँडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिले वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूबीच आयोजित टेबुलटेनिस र ब्याडमिन्टन प्रतियोगिताका विजयीहरूलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । वार्षिकोत्सवकै अवसर पारेर मन्त्री चौधरीले ‘वार रूम’ को उद्घाटन र बोर्डको वार्षिक प्रतिवेदन विमोचन गर्नुभएको थियो ।
Leave a Reply