भर्खरै :

साम्राज्यवादी युद्ध–अभ्यास बन्द गर !

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका संस्थापक राष्ट्रपति एवम् महान् नेता किम इल सङको प्रजग कोरियालगायत विश्वभर विभिन्न कार्यक्रमसहित जन्मजयन्ती मनाइँदै छ । साम्राज्यवादविरुद्ध निरन्तर सङ्घर्ष गरी शोषण र उत्पीडनमा जकडिएको देश प्रजग कोरियालाई जापानी साम्राज्यवादबाट मुक्त गरी उन्नत समाजवादी व्यवस्था स्थापना गर्न नेता किम इल सङको महत्वपूर्ण योगदान थियो । कोरियाली कम्युनिस्ट र देशभक्तहरूले जापानी साम्राज्यवादको औपनिवेशिक शासन फालेर देशको स्वाधीनता प्राप्त गर्न र समाजवादी राज्य सत्ता स्थापना गर्न लामो र कष्टप्रद सङ्घर्ष गरेका थिए । फलतः कोरियाली जनताले कोरियाको मजदुर पार्टीको नेतृत्वमा जनताको शासन सत्ता कायम गर्न र सन् १९४८ सेप्टेम्बरमा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया स्थापना गर्न सफल भए । साँच्चै प्रजग कोरियाको स्थापना र निर्माण एक स्वाधीन राष्ट्रको नवअभ्युदय नै थियो ।
प्रजग कोरिया जुछे आत्मनिर्भरताको क्रान्तिकारी सिद्धान्तमा अडिग छ । कोरियाली सरकारले क्रान्ति र निर्माणका सबै क्षेत्रमा स्वाधीनता, आत्मनिर्भरताको कार्यदिशा लागु गरेको छ । तर, पनि अमेरिकी साम्राज्यवाद कोरिया विभाजन गर्न, कोरिया टुक्राउन, देशमा आन्तरिक द्वन्द्व चर्काउन र देश–देशहरूलाई लडाएर आफ्नो हतियार व्यापार गर्ने काममा हिजोझैँ आज पनि लागिरहेको छ । संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको सोभियत सङ्घ साम्राज्यवादी अमेरिकाकै कारण टुक्रा टुक्रा भयो । अमेरिकी साम्राज्यवादले नै कोरियालाई उत्तर कोरिया र दक्षिण कोरियामा विभाजन गरेको थियो । अमेरिकाले दक्षिण कोरियामा अहिले पनि आणविक बमसहित आफ्नो सेना तैनाथ गरिराखेको छ र औपनिवेशिक शासन चलाइरहेको छ । संरा अमेरिका वास्तवमै विश्वमा शान्ति स्थापना गर्न चाहन्छ भने त्यसले पहिला दक्षिण कोरियालगायत विभिन्न मुलुकमा राखेका सबै आणविक शस्त्रहरू र अमेरिकी सेना फिर्ता लिनुपर्छ, नाकाबन्दी फिर्ता लिनुपर्छ, आक्रमण गर्ने धम्की दोहो¥याउनु हुँदैन । तर, अमेरिकी सरकारले यी कुनै काम गरिरहेको छैन । यसको विपरीत बरु संसारका स्वाधीन र सार्वभौम मुलुकहरूलाई आतङ्कित पारिरहेको छ ।
साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरू संसारका विभिन्न मुलुकमा आफ्नो प्रभाव क्षेत्र फैलाउने उद्देश्यले कहिले आर्थिक अनुदान त कहिले संरक्षण या सुरक्षाको नाउँमा देशभित्र छिर्ने, राजनीतिक चलखेल गर्ने, सेना तैनाथ गर्ने र आक्रमण गर्ने गर्छन् । अरु देशमा आन्तरिक द्वन्द्व चर्काएर राष्ट्र कमजोर पार्ने कार्यमा संरा अमेरिका निरन्तर लागिरहेको छ । यसकारण, कुनै प्रगतिशील, देशभक्त दल र शक्तिले साम्राज्यवादविरोधी सङ्घर्षलाई निरन्तरता दिइरहनु जरुरी हुन्छ ।
प्रजग कोरियाका जनता, कोरियाली मजदुर पार्टी र कोरियाली जनताका सर्वमान्य नेताहरूले साम्राज्यवाद विरोधी सङ्घर्षलाई उँचो पार्दै साम्राज्यवादीहरूको आर्थिक नाकाबन्दी, आक्रमण र आणविक अस्त्रद्वारा आक्रमण गर्ने धम्कीसामु नझुकी स्वाभीमानलाई कायम गरिरहेका छन् । कोरियाली जनताले आफ्नो देशको स्वाधिनता र स्वाभिमानलाई कायम गर्न आफ्नो छाक काटेर पनि आफ्नै देशमा परमाणु बम, अन्तर महादेशीय ब्यालेस्टिक क्षप्यास्त्रहरू र अत्याधुनिक अस्त्रहरू निर्माण गरेर साम्राज्यवादीहरूलाई चुनौती दिइरहेका छन् । प्रजग कोरियालाई ध्वस्त पार्ने नियतका साथ र कोरियाली जनतालाई धम्की दिन अमेरिकी साम्राज्यवाद र त्यसको कठपुतली दक्षिण कोरियाली शासनले हरेक वर्ष ठूलो स्तरमा युद्ध अभ्यासहरू गर्दै आएका छन् । ती युद्ध अभ्यास क्षणभरमै वास्तविक आक्रमणमा परिणत हुन बेर छैन । साम्राज्यवादीहरूको त्यस्तो धम्कीपूर्ण सैन्य वा युद्ध अभ्यासको विश्वका शान्तिप्रेमी जनताले विरोध गर्नुपर्छ र नारा लगाउन जरुरी छ– साम्राज्यवादी युद्ध अभ्यास बन्द गर ¤ साम्राज्यवादी देशहरूको यस्तै आक्रमण, धाक, धम्की र चलखेलको विरोधमा नेपाल मजदुर किसान पार्टीले साम्राज्यवादविरुद्ध सङ्घर्ष गरिरहेको छ । साम्राज्यवादविरुद्ध जिन्दगीभर सङ्घर्ष गरेर कोरियाली जनताको मुक्ति खोज्ने अमेरिकी जालोबाट मुक्त पार्ने नेता किम इल सङको योगदानको स्मरण नेपाल र नेपाली जनताले पनि गर्नु समिचीन नै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *