नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
हिन्दूशास्त्रमा एउटै ईश्वरका तीन रूपब्रह्मा, विष्णु र महेश भएको बताइएको छ । तिनीहरूमध्ये ब्रह्माले सृष्टि गर्ने, विष्णुले पालन गर्ने र महेशले नष्ट गर्ने दैवी विधान रहेको व्याख्या गरिएको छ ! हाम्रो सिङ्गो समाज उन्नत र चेतनशील अवस्थामा नपुगेको हुँदा आदिकालदेखि नै निरञ्जन, निराकार सर्वशक्तिमान् ईश्वरको यो लीला मान्दै आएको हो । खास आँट र बुत्ता नभएपछि हामी पनि तिनै ढाँट विचार र पूरा नहुने अमूर्त आशको प्रभुतामा त चल्दा रहेछौँ नि ! मन लाग्दा जन्माउने र माया गर्ने पनि ईश्वर नै रे ! मन नपर्नासाथ दुःख दिने र निकै रिस उठ्यो भने समूल सिध्याइदिने पनि ईश्वरै रे !! कस्तो दोहोरो/तेहेरो जिम्मेवारी थुपारिएको होला !
परापूर्वकालदेखि नै मानिसमाथि शासन गर्दै आएको कथित ईश्वरको रूप आजकल फेरिएझैँ लाग्छ । विचार गरिल्याउँदा त्यो रूप संसारका नेतागणमा देखिएको आभास हुन्छ । अनि टाढाको कुरा नगरी हाम्रै देशका नेता सम्झ्यौँ भने पनि उक्त तथ्य प्रस्ट हुन्छ । यो देशको परिवेशमा पनि कतै अबोला र अटेरी, थेत्तरा र नकच्चरा ईश्वर यदि छन् भने, ती सरकारी ढुकुटी र सरकारी सुविधाको चास्नीमा चुर्लुम्म डुबेका सत्ताधारी नेता नै त हुन् भन्दा के फ्क पर्ला र ¤
यसरी यहाँ भक्तको बुझाइमा, नेता नै ईश्वर देखिएको हुँदा तिनलाई ‘नेतेश्वर’को नामले पुकार्न पनि मन लाग्छ । देखिएकै हो–हाम्रा ‘नेतेश्वर’ले साम, दाम, दण्ड, भेद, षड्यन्त्र र जालझेलका नानाभाँती नीति अपनाएर र नयाँ नयाँ ‘ट्रिक’ लगाएर बढीभन्दा बढी कार्यकर्ता जन्माउने गरेका छन् अर्थात् ब्रह्माको भूमिका निर्वाह गरेर ‘सृष्टि’ गरेका छन् । यसलाई ‘नेतेश्वर’ को पहिलो ‘कर्तव्य’ पूरा भएको मानौँ । ती कार्यकर्तामध्ये कतिपय जब आज्ञाकारी, साहसी र हदैसम्मको हनुमान भएको अनुमान प्रमाणित हुन्छ तब तिनलाई सुख सुविधाको चास्नीमा डुबाइदिएर, कमिसनमा पल्काइदिएर, कमाउने मेलोमेसो मिलाइदिएर ‘विष्णुरूप’ भई, अन्यत्र कतै जालान् भनेर तिनको राम्ररी लालनपालन गर्छन् । त्यो अवस्थामा आफ्ना सन्तान कार्यकर्ताले जे गरे पनि ठीक ! जे बोले पनि राम्रो ! जबसम्म ती भइरहन्छन् नेताज्यूको ‘हाम्रो’ !
बाख्रापालन, कुखुरापालन, भैँसीपालन इत्यादिबाट जति फाइदा हुन्छ, यो नेतापालन र उत्पादनबाट उति नै बेफाइदा हुने कुरो त नेपालीलाई थाहा भइसक्यो । र पनि ‘संविधान शास्त्र’ मै ‘बहु नेतापालन’ को स्पष्ट र अपरिहार्य व्यवस्था भएको हुँदा यहाँ ‘यत्तिका धेरै नेता पाल्दिनँ, मैले तिरेको कर बेफ्वाँकमा फाल्दिनँ’ भन्नु त के सोच्नुसम्म पनि गैरकानुनी र संविधानविरोधी भावना ठानिएको छ । यस्तो व्यवस्थालाई नेतेश्वरको गिदीको कमाल नमानेर के मान्ने ?
हुन त ईश्वरलाई ‘सर्वशक्तिमान्’ मानिन्छ । असफलताको त्यो बेलामा ध्वंसात्मक काम हुँदोरहेछ ¤ नत्र, शिवले रौद्ररूप लिएर महाकाली र वीरभद्र उत्पत्ति गराई दक्ष प्रजापतिको यज्ञ किन विध्वंस गर्थे ¤ यो कुरा हामीले ‘स्वस्थानी परमेश्वरी’ को किताबमा पढेकै हो । त्यो त कथा भएछ रे ¤ यहाँ पनि ‘नेतेश्वर’को तेस्रो रूप महेश अर्थात् रुद्रको रौद्ररूपले बेलाबेलामा यस्तै व्यथा सिर्जना गरेको छ । आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न वा त्यसमा तुषारापात हुँदा पहिलाका कति शासक नेताले मर्ने÷मार्ने केकेसम्म गरे भन्ने कुरा इतिहासमा पनि पढिएकै हो । त्यसको विवरण निकै लामो छ । आफूले चाहेजस्तो नभएपछि पछिल्लोपटक पनि एकजना प्रधानमन्त्रीले एकै कार्यकालमा दुईदुई पटक ‘संसद् संहार’ को दुष्प्रयास गरे । आफूहरूले चाहेजस्तो फैसला नहुने छाँट भएपछि अर्का प्रधानमन्त्रीका पालामा खाली कागजमा सही गराएर प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने भनेर धम्क्याइयो । पछि ‘आवश्यकताअनुसार’ महाअभियोग लगाइयो पनि । पहिले मन पर्दा, ‘महाउज्ज्वल राष्ट्रदीप’जस्तो गरिमामय विभूषण पाउनेमा छानिनुभएका ‘न्यायमूर्ति’ जस्ता मूर्धन्य व्यक्तित्व पनि अहिले पदीय दुरूपयोगको आरोपमा त्यत्तिकै खुम्चिनुभएको छ । भनेपछि आधुनिक ईश्वरका स्वरूप ‘नेतेश्वर’ दाहिना नहुँदाको अवस्थामा स्थिति कहाँसम्म उल्टोपाल्टो हुन पुग्दोरहेछ त ! मनपरी गरिएका यस्ता कामकुराहरू भनिसाध्य छैनन् ।
परापूर्वकालदेखि नै यो संसारमा ‘नेतेश्वर’ लाई खुसी पार्ने काम भइआएको छ । यस्तो प्रवृत्तिलाई कसैकसैले ‘शक्तिको पूजा’ र त्यसका अनुयायीलाई ‘शक्तिको पुजारी’ पनि भन्ने गरेका छन् । आफूखुसी, सुखी र सुरक्षित रहन ‘नेतेश्वर’ को भक्तिभावमा खुब मन लाउने गरिएको छ । वास्तवमा यस्तो गर्नु भनेको ‘म चेतनशील प्राणी मानिस हुँ’ भन्ने कुरालाई भुसुक्कै बिर्सनु हो । ईश्वरको बास भनेको अशिक्षा, अज्ञान, अल्छ्याइँ, डर, अचेत र अल्पज्ञानमा छ । त्यसैले आफूमा शिक्षा, ज्ञान, आँट, चेतना र तत्वबोध भर्न सकेमा ईश्वरीय भ्रान्तिबाट मुक्ति पाउन सकिन्छ ।
Leave a Reply