राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
भक्तपुर, ७ वैशाख । प्रत्यक्ष या अप्रत्यक्षरूपमा कुनै पनि व्यक्ति राजनीतिबाट अलगिँदैन । राजनीतिमा कुनै व्यक्ति सक्रिय हुन्छन्, कुनै क्रियाशील त कुनै निष्कृय हुन्छन् । कतिले मनपर्ने दलको समर्थक र शुभचिन्तक भएर सघाउँछन् । हो, हामी राजनीतिमा लाग्नुपर्छ । देश विदेशका दर्शन, सिद्धान्त र विचारको अध्ययन गरेर जनतामाझ पुग्नुपर्छ । तर, कति मानिसहरू राजनीतिमा लाग्न हुँदैन भन्छन्, राजनीतिमा लागेर जीवन बर्बाद नगर्न आग्रह गर्छन् । राजनीतिमा लागेर जीवन बर्बाद हुँदैन । बरू कति मान्छे राजनीतिमा नलागेर बिग्रिएका छन् । कुलत र आपराधिक क्रियाकलापमा लागेका छन् । राजनीतिमा नलागेर या राजनीतिबाट अलगिएर एक्लो बनेका छन्, समाजबाट अपरिचित भएका छन् । घर परिवार र समाजबाट टाढा रहेर कुलतहरूको सङ्गतमा परेका छन् । कति चोरी चकारीमा त कति लागूपदार्थ सेवनमा लागेर मनस्थिति बिग्रिएका छन् ।
राजनीतिमा लागेका व्यक्तिहरूको चरित्र राम्रो बन्छ, जनताका प्रिय व्यक्ति बन्छ । बिग्रिने व्यक्ति राजनीतिमा नलागे पनि बिग्रिन्छ । बरू कति बिग्रिएका, गलत बाटोमा लागेका व्यक्तिहरू सच्चिएका छन् । देश र जनताप्रति समर्पित दलले आफ्ना नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएको हुन्छ । असल, इमानदार, चरित्रवान बन्न र बनाउन देश र जनताको इमानदारीपूर्वक सेवा गर्न दलले उत्प्रेरित गरेको हुन्छ । कति दलका नेताहरू पद र पैसाको निम्ति राजनीति गर्छन् । पदको दुरूपयोग गरेर अकुत सम्पत्ति कुम्ल्याउन राजनीतिमा लागेका हुन्छन् । यो गलत राजनीति हो । कति दलहरूको दर्शन, सिद्धान्त र विचार एउटा हुन्छ र काम कारबाही अर्को हुन्छ । राजनीतिको मूल मर्म नबुझेर या बुझेर पनि बुझ पचाइकन व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्न राजनीति गरेको कारण राजनीतिप्रति वितृष्णा भइरहेको हो ।
नेता तथा कार्यकर्ताहरूले नैतिकता, चरित्र र इमानदारिता फालेर दलको दर्शन, सिद्धान्त, विचार र जनताभन्दा पद, पैसा ठूलो ठानेर पनि राजनीतिप्रति नयाँ पुस्ताको आकर्षण घटेको देखिन्छ । राजनीतिक दलका नेताहरू गुटगत, व्यक्तिगत स्वार्थमा भुल्नु हुँदैन । पद र शक्तिको पछि दगुरेर राजनीतिमा लाग्ने होइन । कुन दलले कुन वर्गको सेवा गरिरहेको छ, बहुमत जनताको सेवा गर्ने दल कुन हो ? त्यसको अध्ययन गरेर राजनीतिमा सरिक हुनुपर्छ । राजनीतिप्रति वितृष्णा बढ्नुको कारण दल र सरकारको नेतृत्व गर्ने दलका नेताहरूले देश र जनताप्रति समर्पित भएर सेवा नगरेकोले पनि हो । तिनीहरू पद, पैसा र भागबन्डामा भुलेर पनि राजनीतिमा वितृष्णा बढेको हो । असल दल र असल नागरिकले राजनीति गरेनन् भने राजनीति खराब व्यक्तिहरूको हातमा पर्छ । त्यसबेला देशको स्थिति के हुन्छ ? यसैले राजनीति गर्नु राम्रो हो, राजनीति गर्नुपर्छ भन्नेतर्फ उत्प्रेरित गर्न देशका सबै राजनीतिक दलले इमानदारीपूर्वक राजनीति गर्नुपर्छ, देश र जनताको निम्ति राजनीति गर्नुपर्छ ।
Leave a Reply