रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
भक्तपुर, ८ वैशाख । नेपाल मजदुर किसान पार्टी, भनपा ७ समन्वय समितिको आयोजनामा बिहीबार वडावासीहरूको बृहत् भेला भयो ।
वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजयी बनाउन आयोजित उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले यसपालिको निर्वाचन एमसीसी पक्षधर देशद्रोही र देशभक्तहरूबीचको लडाइँको रूपमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले सत्ता गठबन्धनमा रहेका दलहरूले एमसीसी संसद्बाट पारित गरेर देशको स्वाधीनतामाथि ठूलो आघात पु¥याएको र प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीविरुद्ध मतदान नगरी संसद अवरुद्धको नाटक मञ्चन गरी एमसीसी पास गराउन मलजल गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा ७ वडाका वडा अध्यक्ष उकेश कवांले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी भएपछि भक्तपुर नगरपालिकाको विकास निर्माण, कोभिड–१९ महामारीको समयमा जनप्रतिनिधि तथा पार्टी सङ्गठनबाट निभाएको भूमिकासहित वडा कार्यालय तथा भनपा निर्माण समितिका गतिविधिहरूबारे जानकारी दिनुभयो । उहाँले नेमकिपाका सम्पूर्ण जनप्रतिनिधिहरू पार्टीको घोषणापत्रअनुसार काम गर्न प्रतिबद्ध भएकै कारण २०७४ सालको घोषणापत्रअनुसार अधिकतम काम भएको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपा देशका विभिन्न प्रदेश तथा जिल्लाहरूमा विस्तार हुँदै छ, एमसीसीविरुद्धको निरन्तर सङ्घर्षले नेमकिपाका देशभरिका जनतामाझ फैलिरहेको छ भन्नुभयो ।
कार्यक्रममा कृष्णगोविन्द खाइजूले नगरपालिकाको विकास निर्माणका कार्यहरू उपभोक्ता समितिमार्फत जनस्तरबाट भइरहेकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय निर्माणको लागि भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत कार्य गर्दै आएको प्रस्ट पार्नुभयो ।
नेमकिपा ७ वडा समन्वय समितिका संयोजक बलराम गोसाईको सभापतित्वमा सम्पन्न उक्त भेलामा समन्वय समितिका सहसंयोजक हेरा ख्याजूले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव रत्नवीर किसीले भेलाको उद्देश्यबारे बोल्नुभएको थियो ।
उक्त भेलाले बलराम गोसाईको संयोजकत्वमा २०७ सदस्यीय भनपा ७ वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
चुनाव परिचालन समिति गठन
यसैगरी नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालको आतिथ्यमा वडा नं. ६ मा बृहत् कार्यकर्ता भेला भयो ।
भेलामा उहाँले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमसीसी पास गर्ने पार्टीहरूलाई पराजय गरेर सजाय दिनुपर्ने बताउनुभयो । एमसीसी सम्झौता देशहितमा नभएको र देशका ठूला दलहरूले देशघाती काम गरेको बताउँदै उहाँले नेमकिपाका जनप्रनिधिहरूले जनताको हितमा काम गरेको हुँदा आउने निर्वाचनमा पनि नेमकिपाकै उम्मेदवारहरूलाई जिताउन कार्यकर्ता जनताको माझमा जानुपर्ने बताउनुभयो ।
देशका शासक दलहरूले देश र जनताको हितभन्दा पनि आफ्नो दलको स्वार्थ पूरा गर्न सरकारी संयन्त्र परिचालन गरेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले भक्तपुर जिल्लाका किसानहरूको आर्थिक स्थिति राम्रो हुनुमा विगतमा पार्टीले गरेको मोहीयानी हक कायम गर्ने आन्दोलनलगायतका गतिविधिले भएको बताउनुभयो । नेमकिपाले देश र जनताको पक्षमा काम गरेकोले नेमकिपाका उम्मेदवारहरूलाई जिताउनुपर्ने उहाँले बताउनुभयो ।
नेमकिपा, भक्तपुर नगर समितिका प्रतिनिधि नारायणप्रसाद त्वानाबासुले भनपाले गरेको राम्रा कामहरूको चर्चा जनतासमक्ष लग्नुपर्ने बताउनुभयो ।
भनपा ६ नं वडाका वडाध्यक्ष हरिराम सुवाल र रोशनमैयाँ सुवालले पनि बोल्नुभएको थियो ।
जगनाथ सुजखुको अध्यक्षतामा भएको उक्त भेलाले ९६ सदस्यीय भनपा ६ चुनाव परिचालन समिति गठन गरेको छ ।
Leave a Reply