भर्खरै :

विदेशी पाहुनाको लागि खर्चिने ठूलो रकम रोजगार सृजना गर्ने क्षेत्रमा लगानी होस्

सात महिनाभन्दा कम अवधिमा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै हिमालको सफल आरोहण गरेका कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक निर्मल पुर्जा र ओडीसी इन्टरटेनमेन्टको प्रबन्ध निर्देशक सीमान्त गुरुङले बलिउड अभिनेता सलमान खानलगायत थुप्रै भारतीय कलाकार एवं विश्वचर्चित डिस्कभरी च्यानलका होस्ट बियर ग्रिल्ज पनि नेपाल ल्याउने तयारी गरेका छन् ।
हुन त २ वर्ष अघि नै बलिउड अभिनेता सलमान खान ‘दबङ रिलोडेड टुर’ का लागि नै काठमाडौँ आउने तय भएको नेकपा विप्लव समूहको विरोधका कारण स्थगित भएको थियोे ।
दशरथ रङ्गशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले सलमानलाई नेपाल ल्याउन लागेको कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए । कार्यक्रमका लागि पाँच हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट मूल्य तोकिए तापनि सम्भ्रान्त नेपाली युवाहरू त्यो कार्यक्रममा सरिक हुन निकै लालायित र आतुर भइरहेका छन् । तर, आफ्नो देशप्रति माया र स्नेह प्रकट गर्ने चेष्टा पनि गर्दैनन्, ती धनाढ्य र नवधनाढ्य युवाहरू ।
कुल १८ करोड खर्च हुने अनुमान गरिएको उक्त कन्सर्ट दशरथ रंगशालामा हुने बताइएको छ । यस कन्सर्टका लागि सलमानलाई मात्र ४ करोड ८० लाख रूपैयाँ पेमेन्ट गरिएको छ । सलमानसँग करिब १०० जनाको जम्बो टोली नेपाल आउँदैछ । उनीहरूमध्ये नौ जना सेलिब्रिटी रहनेछन् । अन्य डान्सर र वाद्यवाधकहरूले १०–१५ लाखको अनुपातमा पारश्रमिक लिएका छन् । सलमानको टोलीलाई आउने जाने र बस्ने सम्पूर्ण व्यवस्था आयोजक आफैले गर्नेछ । सलमान खान आउने भनिएपछि उक्त कन्सर्टको सुरक्षाका लागि २ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
भारतीय बलिउड सुपरस्टार सलमान खान जेठ १४ गते नेपाल आउने भएका छन् । जसका लागि १८ करोडको बजेट छुट्टयाइएको छ । करिब २ महिनाअघिदेखि पर्चा पम्प्लेट तथा अन्य छापा माध्यमबाट जोडतोडका साथ प्रचारप्रसार गरिरहेको छ । जसमा करिब आधा अर्बभन्दा बढी मनोरञ्जन क्षेत्रमा खर्च हुँदै आएको छ ।
सरकारले दिने सुरक्षासँगै आफ्नो तर्फबाट पनि ७–८ सय जनाको ‘सेक्यूरिटी’ र २–३ सय जना स्वयम्सेवक परिचालन गरिने बताइएको छ । सलमानको कन्सर्टका लागि टिकटको मूल्य निकै महँगो छ । न्यूनतम पाँच हजारदेखि २५ हजार रूपैयाँको टिकट राखिएको हो । आयोजकले टिकट विक्रीबाट मात्रै ३०–३५ करोड रूपैयाँ उठाउने लक्ष्य राखेको छ ।
२०७२ को अमानवीय नाकाबन्दी गर्ने भारतीय व्यवहार र नेपालको स्वाधीनतालाई कुल्चिएर आफ्नो देशको प्रान्तीय राज्य मान्ने सोच भएका भारतीय कलाकार सलमान खान नेपालमा सम्मानका साथ ल्याउन खोज्दा प्रतिव्यक्ति न्यूनतम पाँच हजारदेखि २५ हजार रूपैयाँको टिकट राखिएको छ । आयोजकले टिकट विक्रीबाट मात्रै ३०–३५ करोड रूपैयाँ उठाउने लक्ष्य राखेको छ । जसको केही प्रतिशत पनि दिन दुःखीहरूप्रति बाँडिएको हुँदैनन् । र सामाजिक कल्याणकारी काममा समेत खर्च गर्ने मनसाय आयोजकको छैन ।
यसरी विदेशी पाहुनालाई स्वागत गर्ने र मनोरञ्जन दिने नाउँमा गरिने खर्चले नेपालको अर्थतन्त्र झन् खस्काउने हुन्छ । हुन त पाहुना हाम्रा अतिथि हुन्, अतिथिले कहिल्यै नि पैसा वा पारिश्रमिक माग्दैन बरू त्यसको सेवा गरे फलिफाप हुन्छ भन्ने मान्यता नेपाली समाजमा अझै पनि छ । तर, भारतीय सिने क्षेत्रबाट आउने ती पाहुनाहरु करोडौँ करोड पारिश्रमिक लिएर मात्र आउने गर्छन् । ओडीसी इन्टरटेनमेन्टका प्रबन्धक र हिमाल आरोही निर्मल पुर्जाले आफ्नो स्वार्थका लागि नेपालमा युवाहरूलाई उत्पादनमूलक काममा भन्दा बढी मनोरञ्जनमा भुलाउन उद्यत भएका छन् ।
नेपाली सुरक्षा संयन्त्रलाई समेत खटाएर नेपालको सार्वभौमसत्तामाथि लात हान्न भारतीय कलाकार अग्रसर हुँदा नेपाली कलाकारको मौन समर्थनले नेपाली कलाकारले नै राष्ट्रियता मान्न तयार नभएको देखियो ।
यसरी, १८ करोड बजेट र प्रतिव्यक्ति २५ हजारसम्म तिर्ने व्यक्तिहरूको तथा प्रचारप्रसारको ठुलो रकम एउटा विशेष रोजगार सृजना गर्ने क्षेत्रमा लगानी गर्ने हो भने केही हजार युवाहरूलाई उत्पादनमूलक तालिम सहित स्वदेशमै स्वरोजगार दिन सकिन्छ । जसले अर्थतन्त्रको विकासमा थप सहयोग पु¥याउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *