भर्खरै :

पदलोलुपताको यो पराकाष्ठा किन ?

वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै छ । पाँच वर्षअघि निर्वाचनबाट पदमा पुगेकाहरू पुनः आफू दोहोरिन चाहिरहेका छन् भने अरूहरू नयाँले मौका पाउनुपर्ने तर्क गरिरहेका छन् । गठबन्धन बनाएर र एउटै पार्टी अलग्गै निर्वाचन लड्न गइरहेका शासक राजनीतिक दलहरूले पनि सहजरूपमा उम्मेदवार तय गर्न सकिरहेका छैनन् । त्यसको कारण उम्मेदवार बन्नका लागि ती पार्टीभित्र चलिरहेको तानातान हो । एउटा पदको उम्मेदवारीका लागि दर्जनौँको दाबी रहेको समाचार आइरहेको छ । ती पुँजीवादी पार्टीहरूभित्र उम्मेदवार टिकटका लागि अहिले हानथापमात्र होइन, एक प्रकारले महाभारत नै चलिरहेका छन् । उनीहरूले कसैले कसैलाई गनिरहेको र स्वीकारिरहेको अवस्था छैन । ती पार्टीहरूमा पदलोलुपताको पराकाष्ठा देखिरहेको छ । पदलोलुपताको यो पराकाष्ठा किन ? पुँजीवादी दलका नेता–कार्यकर्ता उम्मेदवार बन्न मरिहत्ते गरिरहेका छन्, मानौँ पार्टीको उम्मेदवार बनेपछि वा जनप्रतिनिधि बनेपछि नै ठूलो लडाइँ जितिन्छ र गद्दीमा आसीन भइन्छ । अनि पद नपाएकाहरूको राजनीतिक जीवन नै समाप्त हुन्छ । जनप्रतिनिधि हुनु भनेको शासन गर्नका लागि होइन, जनताको सेवा गर्न हो । शासक दलका अधिकांश जनप्रतिनिधिहरू भ्रष्ट देखिन थालेका छन् । पदमा पुगेपछि जनताप्रति उत्तरदायी बन्नुपर्छ भन्ने प्रजातन्त्रको आधारभूत मान्यतालाई उनीहरूले स्मरण गरेको देखिएको छैन ।
राजनीतिक दलका नेता कार्यकर्ताहरूमा यस्तो पदलोलुपता उत्पन्न हुनुको पछाडि केही कारणहरू रहेका छन् । एउटा मुख्य कारण ती पार्टीहरूभित्र पदमा रहेका नेता–कार्यकर्तालाई मात्र मान–सम्मान गर्ने र पार्टी, देश र जनताका लागि निरन्तर काम गरेका, योगदान गरेकाहरूलाई बेवास्ता गर्ने प्रवृत्ति हो । उनीहरू नेपाली समाजको प्रवृत्ति नै शक्तिपूजक रहेको र राजनीतिक दलहरू पनि यही समाजबाट उठेको हुनाले समाजको प्रभाव रहनु स्वाभाविक छ भन्ने जवाफ दिने गर्छन् । तर, देशमा परिवर्तन ल्याउन प्रजातन्त्र, जनवाद र समाजवादको लागि सङ्घर्ष गरिरहेको बताउने दलहरूको नेतृत्वले आफ्ना कार्यकर्ता पङ्क्तिलाई योगदान र मेहनतको कदर गर्ने संस्कारद्वारा शिक्षित पार्नु जरूरी छ । योग्यतमलाई नेतृत्व र पदमा पु¥याउने र उनीहरूले देश र जनताको निःस्वार्थ सेवा गर्ने मान्यता र पद्धति बसाल्न सक्नुपथ्र्यो । अहिले ती पुँजीवादी शासक राजनीतिक दलहरूमा यस्तो राजनीतिक आदर्श र मूल्य मान्यताको अपेक्षा गर्नु बालुवा पेलेर तेल निकाल्ने आशा गर्नुजत्तिकै भएको छ । त्यहाँ त जसरी भए पनि पदमा पुग्ने र पदमा पुगिसकेपछि शक्ति सञ्चय गर्ने, पदको दुरुपयोग गरी थप अवसर र पैसा बटुल्ने आम प्रवृत्ति बनाइएको छ । एकाध आदर्श र मूल्य मान्यतामा टिकेका र पदमा पुगेर निःस्वार्थरूपमा देश र जनताको सेवा गर्नेहरूलाई लाटो, सोझो र नजानेको रूपमा चित्रण गर्ने दुष्प्रयास गरेको पाइन्छ । अयोग्य, महत्वाकाङ्क्षी र पदलोलुपहरूले पद ताक्नु र पदको निम्ति पार्टी र नेतृत्वलाई धम्की दिनु कुनै किसिमको प्रजातन्त्र र जनवाद होइन । त्यस्तो राजनीतिक विकृति–विसङ्गतिलाई नै प्रजातन्त्र भन्ने हो भने जङ्गली र दास युगको बर्बर अवस्थालाई नै सबैभन्दा उत्कृष्ट प्रजातन्त्र थियो भनी मान्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *