निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
मध्यपुर, ९ वैशाख । नेपाल प्राध्यापक समाज केन्द्रीय समितिले शुक्रबार अपराह्न समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिबारे विचार गोष्ठीको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेमकिपाले क्रान्तिकारी संसद्वादी सिद्धान्तअनुसार निर्वाचनलाई उपयोग गरेको धारणा राख्नुभयो ।
नेमकिपाले जनतालाई राजनीतिक शिक्षा दिन निर्वाचनमा भाग लिएको भन्दै उहाँले क्रान्तिको निम्ति संसद्लाई उपयोग गर्नु क्रान्तिकारी संसद्वाद हो भन्नुभयो ।
निर्वाचनको क्रममा देखिएको सिद्धान्तहीन गठबन्धन गलत भएको धारणा राख्दै नेमकिपाका अध्यक्ष रोहितले एमाले, माओवादी केन्द्रजस्ता पार्टीहरू कम्युनिस्ट नभएको प्रस्ट पार्नुभयो । उहाँले बहुमतको सरकारको नेतृत्व गरेको पार्टीलाई फुटालेर प्रतिपक्षमा रहेको दललाई सरकारमा ल्याउनुको मुख्य कारण देशघाती एमसीसी पारित गर्नु थियो भन्नुभयो ।
नेमकिपाले सैद्धान्तिकरूपमा एमालेको आलोचना गरिरहेको तर प्रधानमन्त्रीले संसद् विघटन गरेकोमा नेमकिपाले औचित्यपूर्ण भनेको स्मरण गर्दै उहाँले अदालतबाट संसद् पुनःस्थापना गर्नु गलत भएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्भन्दा अदालतलाई बलियो बनाइँदै छ ।”
अध्यक्ष रोहितले संरा अमेरिकासँगको एमसीसी सम्झौता पारित भएपछि देश दुई खेमामा विभाजित भएको उल्लेख गर्दै एमसीसी सम्झौता अस्वीकार गरिएको भए मन्त्रीहरूको ज्यान जान पनि सक्थ्यो भन्नुभयो ।
उहाँले संरा अमेरिकाले नेपाललाई अहिले एमसीसीको चकलेट दिएर पछि गोली दिने सम्भावना रहेको औँल्याउनुभयो । राजनीतिक पार्टीहरूले गल्ती गरेपछि देशको अस्तित्व नै समाप्त हुनसक्ने उहाँको तर्क थियो । युक्रेनमा हातहतियारको भण्डारण गरेर संरा अमेरिकाले युद्ध भड्काएको भन्दै युक्रेनको युद्ध जारी रहेमा युरोपलाई घाटा हुने विचार राख्नुभयो ।
गोष्ठीमा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले स्थानीय तहको निर्वाचनमा देशभक्त र देशघातीहरूबीच प्रतिस्पर्धा हुने बताउनुभयो । उहाँले निर्वाचन घोषणापत्रको लडाइँ भएको उल्लेख गर्दै ठूला भनिएका सरकारमा गएका पार्टीहरूले तीन तहका सरकारमा रहेर पनि यथोचित काम गर्न नसकेको बताउनुभयो ।
केन्द्रीय सचिव सुवालले एमसीसी सम्झौता पारित गर्न संरा अमेरिकाले नेपाली नेताहरूलाई धम्की दिएको भनाइ राख्दै एमसीसीको विरोध गर्ने संसद्मा नेमकिपामात्र रहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रीले समेत अध्ययन नै नगरेर एमसीसी सम्झौता पारित ग¥यो ।” उहाँले संयुक्त राष्ट्र सङ्घमा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गर्नु गलत भएको भन्दै युक्रेन नेटोको सदस्य नबनोस् र युक्रेनको सैनिकीकरण बन्द गराउन रसियाले युक्रेनमाथि आक्रमण गरेको भनाइ राख्नुभयो ।
त्रिवि शिक्षा शास्त्रका पूर्व डीन प्राध्यापक डा. पृथुचरण वैद्यले समाजको आमूल परिवर्तनको निम्ति शिक्षामा ध्यान दिनुपर्ने भन्दै शिक्षाको गुणस्तर विद्यार्थीको सामाजिक जीवनसँग जोडिएको हुन्छ भन्नुभयो । उहाँले विद्यार्थीमा सामूहिक भावनाको आवश्यक भएको उल्लेख गर्दै विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सृजना सैँजूले बौद्धिक वर्ग राजनीतिकरूपमा सक्रिय भएमा विभिन्न क्षेत्रमा देखिएका विकृति कम हुँदै जाने भनाइ राख्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार काम गरेको भनाइ राख्नुभयो ।
नेप्रासका अध्यक्ष सरोजराज गोसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र केन्द्रीय सदस्य धनकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply