भर्खरै :

भक्तपुर नगरपालिकाको पाँच वर्ष नेमकिपाको निर्वाचन घोषणापत्रको कार्यान्वयन

भक्तपुर, ८ वैशाख । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले ०७४ जेठ ७ देखि ०७९ वैशाख ९ गतेसम्म भएको नपाको गतिविधिबारे जानकारी दिँदै शुक्रबार नपाको सभाकक्षमा एक विशेष सम्बोधन गर्नुभएको छ ।
उहाँले ‘भक्तपुर नगरपालिकाको पाँच वर्ष’ नेमकिपाको निर्वाचन घोषणापत्रको क्रमशः कार्यान्वयन भएको प्रष्ट पार्नुभयो ।
भनपाको नीति तथा कार्यक्रम लागू गर्न र गराउन सहयोगको भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद तथा आभार प्रकट गर्दै नेमकिपाका जनप्रतिनिधिहरू बहालमा रहे पनि या नभए पनि देश र जनताको सेवा गर्न पछि पर्ने छैनन् भन्नुभयो ।
इमानदारीपूर्वक जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा विकास निर्माणलगायतका जनताका सरोकारका कामलाई प्राथमिकतामा राखी अगाडि बढेको चर्चा गर्दै उहाँले स्वायत्ततामाथि कहीँ कतैबाट हुने हस्तक्षेप स्वीकार्य नहुने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको साथ र सहयोगले काम गर्न हामीले सहज महसुस गरेका छौँ । जनप्रतिनिधि, कर्मचारी र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर आजको अवस्थामा पुग्न सम्भव भएको हो । स्थानीय तहलाई कर्मचारी नियुक्ति गरी पठाउन, प्रदेशले कर्मचारीको सरुवा–बढुवा गर्नु र स्थानीय तहले तलब खुवाएका शिक्षकहरूलाई केन्द्र मातहत राख्नु स्थानीय तहको स्वायत्ततामाथिको हस्तक्षेप हो ।”
स्थानीय सरकार सञ्चालन ऐन ०७४ ले दिएको अधिकार प्रयोग गरी कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाई नगरभित्र सञ्चालित सबै विद्यालयमा लागु गर्दै आएको चर्चा गर्दै नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत काम गराउँदा स्थानीय स्रोत, साधन तथा सीप र प्रविधिको प्रयोग हुने, सम्पदाप्रति अपनत्व काम कायम हुने, गुणस्तरीय निर्माण हुने र स्थानीय जनताले रोजगारी पाउने भएको हुँदा नगरपालिकाले आन्तरिक स्रोतबाट हुने अधिकांश विकास निर्माणको काम उपभोक्ता समितिमार्फत भइरहेको अवगत गराउनुभयो ।
उहाँले भन्नुभयो, “हामी विदेशीसँग भिख मागेर बनाएका सम्पदाहरूबाट खुसी हुनुभन्दा पौरखमा जीर्णाेद्वार र पुनः निर्माण भएको सम्पदाहरूप्रति गर्व गर्छौँ । आत्मनिर्भर भएर बाँच्ने नेमकिपाले सिकाएको यो महत्वपूर्ण शिक्षा हो ।”
नगरको पुरानो सहरलाई सीमाङ्कन गरी सांस्कृतिक क्षेत्र घोषणा गरी पुरानो सहरलाई जीवन्तता दिन जोड दिइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “भक्तपुर क्यान्सर अस्पतालमा केही वर्षअघि सञ्चालकहरूले निजी सम्पत्तिको रूपमा दुरूपयोग गरी अकुत सम्पत्ति कमाएको सार्वजनिक भएपछि भक्तपुर नगरपालिकाले सरकारी स्वामित्वमा ल्याउन पहल ग¥यो । भक्तपुर नगरपालिका सहकारी ऐनविपरीत नगरपालिकाको स्वीकृतिबिना सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थाहरूलाई कानुनविपरीत सञ्चालन नगर्न सचेत पार्ने काम गर्दै आएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *