भर्खरै :

साम्राज्यवाद विश्वका न्यायप्रेमी तथा देशभक्त जनताको साझा शत्रु

  • बैशाख १२, २०७९
  • हर्षबहादुर केसी
  • विचार

साम्राज्यवाद विश्वका न्यायप्रेमी, देशभक्त र प्रगतिशील जनताको साझा शत्रु हो । साम्राज्यवादी शक्ति कुनै पनि देशको स्वाधीनता, सार्वभौमिकता, शान्ति र प्रगतिको बाधक छ । संसारका स्वाधीन र सार्वभौम देशमाथि आक्रमण गर्ने मुलुक अमेरिका नै हो । अमेरिकाले दर्जनौँ देशमा आक्रमण गरिसकेको छ । आक्रमण गरेर देशमा नरसंहार गर्ने देश अमेरिका हो । आक्रमण गर्ने, ध्वस्त पार्ने, आन्तरिक कलह चर्काएर कमजोर बनाउने, देश देश जुधाएर हतियार बेच्ने देश अमेरिका हो । अन्य मुलुकहरूमा धावा बोल्ने र धावा बोल्न अरूलाई लडाउने, छलछाम गर्ने र पैसा लगानी गर्ने देश अमेरिका हो । असंलग्न र विकासशील देशहरूमा हस्तक्षेप गर्ने, दबाब दिने, आक्रमण गरेर विध्वंस मच्चाउने देश अमेरिका हो । यसकारण, विश्वका न्यायप्रेमी, देशभक्त, स्वाधीनताप्रेमी जनता साम्राज्यवादविरूद्ध लड्न या सङ्गठित हुनु समयको माग हो र यो आवश्यकता पनि हो ।
अहिले पनि स्वाधीन देशहरूमा अमेरिकाले धम्की दिन छोडेको छैन, आक्रमण गर्ने धम्की दिन छोडेको छैन । कति देशमा अझै अमेरिकाले नाकाबन्दी लगाइरहेको छ । व्यापार युद्धको नीति अँगालिरहेको छ । दर्जनौँ देशमा सशस्त्रधारी अमेरिकी सेना, तैनाथ गरिएको छ । यो विश्वका जनतालाई थाहा छ । अमेरिकाले अरू मुलुकमाथि आक्रमण गर्न या आफ्नो राजनीतिक प्रभुत्व जमाउने षड्यन्त्रहरू बुनिरहेको छ । आर्थिक सहयोग र संरक्षणको प्रसङ्ग उठाएर वैचारिक र सांस्कृतिकरूपले घुसपैठ गर्ने षड्यन्त्र बुनेर त्यो देशभित्र पाइला टेक्ने र अनेक दाउपेच गर्ने काम अमेरिकाले गरिरहेको छ । यसकारण, संसारका न्यायप्रेमी, शान्तिप्रेमी, स्वाधीनताप्रेमी र देशभक्त जनताले साम्राज्यवादविरोधी सङ्घर्षलाई निरन्तर जारी राख्नुपर्छ । यसै उद्देश्यले नेमकिपाले समाजवादी प्रचार अभियानसँगै साम्राज्यवादविरोधी सङ्घर्षलाई जारी राखेको हो ।
संसारबाट साम्राज्यवाद अन्त गर्न संसारका जनता एक हुनु आवश्यक छ । संसारका जनताले एकै स्वरबाट साम्राज्यवादको विरोध गर्नुपर्छ । जहिलेसम्म साम्राज्यवादी शक्तिहरू बाँकी रहन्छन् । जहिलेसम्म उनीहरूको चलखेल भइरहन्छ तहिलेसम्म संसारका जनताले शान्तपूर्वक बाँच्न पाउने छैनन् । प्रजग कोरियाले पनि सुरूदेखि नै साम्राज्यवादविरोधी आन्दोलन गरिरहेको हो, अघि बढाइरहेको हो । कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिको पोलिटब्युरो र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको केन्द्रीय जनसमितिको संयुक्त बैठकमा २० जून १९८६ मा प्रजग कोरियाका प्रिय नेता किम इल सङले भनेका थिए, “साम्राज्यवादविरोधी सङ्घर्षलाई एक क्षणको लागि पनि स्थगित गर्नु वा कमजोर पार्नु हुँदैन । साम्राज्यवादविरोधी आन्दोलन स्थगित गर्नुको अर्थ पछि हट्नु हो ।”
विश्व स्वतन्त्र भएको अवस्थामा मात्र प्रभुत्व एवं दमनको गुलामी फ्याँकेर स्वतन्त्र एवं सुखी जीवन बिताउन सकिने गरी जनताले संसारमा नयाँ समृद्धशाली समाज निर्माण गर्न सक्छन् भन्ने भनाइ प्रिय नेता किम इल सङको हो । प्रिय नेता सङले भनेका थिए, “सबै प्रकारका उपनिवेशवादलाई पूर्णतया निर्मूल पार्नुपर्छ, सबै मुलुक एवं राष्ट्रलाई पूर्ण सार्वभौमिकता प्रदान गरिएको विश्व नै एक स्वतन्त्र विश्व हुन्छ ।”
साम्राज्यवादी देश अमेरिकाले अहिले पनि अन्य स्वाधीन देशमा आफ्नो प्रभाव या हैकम जमाउने काम गरिरहेको छ । तर, संसारका अन्य मुलुक र विश्वका जनताले अमेरिका साम्राज्यवादी र आक्रामक देश हो भन्ने कुरा बुझ्न थालेका छन् । साम्राज्यवादी मुलुक एकातिर देशभक्त र स्वाधीनताप्रेमी देश अर्कोतिर लागिरहेको वर्तमान अवस्था हो । अमेरिका आक्रामक देश भएकै कारण संसारका देशभक्त राष्ट्र प्रमुख र न्यायप्रेमी जनताले विरोध गरिरहेका छन् । अमेरिका एकपछि अर्को विश्वबाट एक्लिँदै छ, एक्ल्याउनुपर्छ । साम्राज्यवादी देश अमेरिका ‘आर्थिक अनुदान’ र विकास भन्दै नेपाल पस्दै छ । अमेरिकी सरकार नेपालका शासकहरूलाई फकाउँदै छ । नेपालका शासकहरू अमेरिकी प्रशासनको पछि लाग्दै छन्, अमेरिकी प्रशासनको गुणगान गर्दै अमेरिकी सरकारलाई खुसी पार्दै छन् । अमेरिकी सरकारको यो पाइलाले पछि नेपालको राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने कुरा नेपाली शासकहरूले सोचेका छैनन् । देशघाती सर्त पालना गरेर एमसीसी सम्झौता गरेर नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी अमेरिकी पञ्जामा फसेका छन् । अमेरिकाले नेका सभापति देउवाको नेतृत्वमा बनेको सरकारलाई फसाएको हो । अमेरिकी सरकारले त्यसरी फसाउने काम रोकेको छैन । यसकारणले पनि विश्वका शान्तिप्रेमी जनताले साम्राज्यवादविरोधी आन्दोलन जारी राख्नुपर्ने हो ।
स्वाधीनता र सार्वभौमिकताको निम्ति लड्ने देश या सरकार विदेशी शक्ति राष्ट्रको अगाडि झुक्दैन । देशको स्वाधीनता या अस्तित्वमा आँच पु¥याउने कुनै पनि देशले सन्धि र सम्झौतामा आँखा चिम्लेर हस्ताक्षर गर्दैन । तर, विडम्बना ! नेपालका शासकहरू गुलियो पोतिएको विषमा भुल्छन् । नेपाली शासकहरू आर्थिक लोभमा फस्छन् र आफूहरू पनि जनतालाई पैसा बाँडेर या अनेक प्रलोभन देखाएर भुलाउँछन् । अमेरिकाले एमसीसी सम्झौता गर्न नेपाल सरकारलाई दबाब दियो र सम्झौता पारित गरायो । यो अमेरिकाको नेपालमाथिको हस्तक्षेप नै हो । यसमा नेपालका सत्तासीन दलहरूले भुलेर सही गरे । यो सहयोग नेपाल पस्ने बाटो खोल्ने या घुस्ने उपाय हो । यो सहयोग गरेको मुलुकले जस्तो गलत काम गरे पनि, सन्धि सम्झौता गराउन पुगे पनि आफूविरूद्ध बोल्न नदिने एक मन्त्रयुद्ध नै हो । यस्तो षड्यन्त्र बुन्न अमेरिका र भारत सरकार चलाख छन् । यसबारे पनि संसारका साम्राज्यवादविरोधी पक्षहरू सतर्क हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *