भर्खरै :

सत्ताको लागि साम्प्रदायिकताको आगो

पछिल्ला दिनहरूमा राजधानी नयाँ दिल्लीको जहाँगिरपुरीसहित भारतको विभिन्न भागमा देखिएको साम्प्रदायिक तापले भारतका प्रबुद्ध वर्ग चिन्तित देखिएका छन् । रामनवमी र हनुमान जयन्तीको अवसर पारेर विभिन्न हिन्दू कट्टरपन्थी समूहहरूले हातहतियारहरू बोकी शोभायात्रा नामका ¥यालीहरू निकालेका थिए र अनावश्यकरूपमा मुस्लिम बहुल बस्तीमा गएर साम्प्रदायिक हिंसा मच्चाएका थिए । ¥यालीमा लाठी, तरबार, भाला र पेस्तोलसहित पुगेका हिन्दू कट्टरपन्थीहरूले शान्तिपूर्वक आफ्नो पेशा व्यवसाय गरिरहेका सोझासीधा मुस्लिमहरूमाथि आक्रमण गरी साम्प्रदायिक दङ्गा उत्पन्न गर्न खोजेका थिए । ती कट्टरपन्थीहरूले धर्मको आवरणमा आफ्नो मानसिक कुण्ठा शान्त पार्न र राजनीतिक अभिष्ट पूरा गर्न खोजेको कतैबाट छिपेको छैन । यी जबरदस्त हिंसा तत्कालैका विवादबाट उत्पन्न भएका पक्कै होइनन् । त्यसका लागि हिन्दू कट्टरपन्थी नेताहरूले महिनौँ अगाडिदेखि भारतलाई जसरी भए पनि हिन्दू राज्य घोषणा गराउने भन्दै धर्मसभा, धर्म संसद् आदि नाउँमा जनता भड्काउने क्रियाकलाप गरिरहेका थिए । उनीहरूले अबुझ धर्मभिरु हिन्दू भारतीयहरूलाई फरक धर्म मान्ने आफ्नै छिमेकी र गाउँलेहरूविरुद्ध हिंसा गर्न उक्साइरहेका थिए । त्यस्तो विवादास्पद धर्म संसद्हरूमा विश्व हिन्दू महासङ्घ र राष्ट्रिय स्वयम्सेवक सङ्घका नेता र प्रचारकहरूमात्र होइनन्, सत्तासीन भारतीय जनता पार्टीका नेता र सांसदहरूसमेत सहभागी थिए । भारतमा भाजपा र त्यसका माउ सङ्गठनहरूले साम्प्रदायिकताको ताप बढाउनुमा देशभर हिन्दू–मुस्लिम साम्प्रदायिकता फैलाएर २०२४ मा हुने आम निर्वाचनको माहोल आफ्नो अनुकूल बनाउनु रहेकोमा अधिकांश भारतीय राजनीतिक विश्लेषकहरू सहमत छन् । निर्वाचन जित्न र सत्ता प्राप्त गर्नका लागि भाजपाका चाणक्यहरू भारतमा साम्प्रदायिकताको आगो झोसिरहेका छन्, जुन भारतीय जनताका लागि दुर्भाग्य बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *