भर्खरै :

देशको राजनीति कसरी सङ्लो हुन्छ ?

नेपाल स्वाधीन र सार्वभौम देश हो । यो देश जोगाउने हामी सबैको दायित्व हो । यसको बढी जिम्मेवारी सरकारको हुन्छ । सत्तासीन दलका नेता र ठूला दलका नेताहरू यसप्रति गम्भीर हुनुपर्छ । तर, ती नेताहरूलाई देशको हालत जस्तोसुकै होस्, कुनै मतलब छैन । सत्तासीन र ठूला दलका नेताहरू जसरी भए पनि निर्वाचन जित्ने दाउमा छन् । आफूलाई कम्युनिस्ट भनिने कुनै दल राजावादीसँग साठगाँठ गर्छ कुनै कम्युनिस्ट भनिने दल नेकाको गठबन्धनमा जुट्छ । कम्युनिस्ट पार्टीका उम्मेदवारहरू हराउन कम्युनिस्ट भन्ने दल नै राजावादी र काङ्ग्रेससँग मिलेर अघि बढ्ने कस्तो दल ! चुनाव जित्नकै लागि जोसँग पनि तालमेल गरेर जिताउनुपर्ने उम्मेदवार हराउने र हराउनुपर्ने उम्मेदवार जिताउने यो कस्तो प्रपञ्च ! कस्तो गठबन्धन !
सत्तासीन दलहरूको गठबन्धन सिद्धान्त र विचार मिलेको गठबन्धन होइन । आफ्ना पक्षधरहरू जित्नकै गरिएको यो गठबन्धन स्वार्थै स्वार्थमा अडेको छ । सत्तासीन दलहरूको गठबन्धन हुने देखिएपछि एमाले पनि के कम ! कुनै दलसँग गठबन्धन नगर्ने, गठबन्धन नगरे पनि एमालेलाई केही गर्न नसक्ने वाचा गरेको एमालेले सिद्धान्त र विचार एक ठाउँमा थन्काएर राजावादी दल राप्रपासँग तालमेल ग¥यो । कति स्थानमा एमाले र नेकाको गठबन्धनसमेत भयो । आफूलाई ठूला, बलियो र स्थानीयदेखि सङ्घीय तहसम्म नेतृत्व गर्छौँ भन्ने दलका नेताहरू कुनै ठाउँमा बोलेको स्वर सेलाउन नपाउँदै अर्कै विचार व्यक्त गर्छन् । कहिले एक्लै, कहिले गठबन्धन त कहिले को को दलसँग तालमेल । दलहरूको यो गठबन्धन, तालमेल, साठगाँठ आदिको दृश्य र घटनाले ठूला या सत्तासीन दलहरूको के स्वार्थ रहेछ भन्ने थाहा हुन्छ ।
तिनै दलका नेताहरू एकले अर्कोलाई हिलो छ्याप्छन्, विरोध गर्छन् । फेरि तिनै दलसँग सहकार्य गर्छन् । यो कस्तो बिजोग ! सिद्धान्त र विचार सबै बन्धक राख्ने कस्तो दल ! कहीँ एमालेले काङ्ग्रेसलाई हराउनुपर्ने त कहीँ काङ्ग्रेसलाई जिताउनुपर्ने दलको कस्तो नीति ! दलका नेताहरूले आफ्नो चरित्र, नैतिकता, विवेक, सिद्धान्त, विचार र घोषणापत्र थाती राखेर जो कसैलाई जिताउनुपर्ने कस्तो चुनावी खेल ! यसरी अवसर छोपेर जो कुनै दलसँग मिलेर जित्ने दलका नेताहरू निर्वाचनपछि आफ्नो जितेको सीट यति र उति छन् भनी रवाफ देखाउँछन् । दलको सिद्धान्त र विचार बन्धक राखेर जसरी भए पनि जित्ने दलको नीति के सही हो ? यसरी मनपरी राजनीति गरेर देशमा कसरी विधिको शासन हुन्छ ? देशको राजनीति कसरी सङ्लो हुन्छ ? यसरी शत्रु मित्र केही नभनी जुनसुकै दलसँग मिल्ने भए दलको सिद्धान्त र विचार किन चाहियो ? किन अलग अलग दलको खाँचो प¥यो ? सत्तारूढ दलहरूले गठबन्धन गरे, सिद्धान्त र विचारको राजनीति छोडे भन्दैमा एमालेले पनि त्यस्तै नहुने काम गर्न मिल्छ र ! त्यसो हो भने गठबन्धनका दलहरू र प्रमुख प्रतिपक्ष दल एमालेबीच अन्तर के रह्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *