करको भारी बोकाएर जनता चुस्ने काम !
- श्रावण ४, २०८३
जलस्रोतको भण्डार रहेको यो देशमा सरकारले जनतालाई खानेपानी पनि उपलब्ध गराउन सकेको छैन । विगतमा सत्तासीन दलहरूले आ–आफ्नो घोषणापत्रमा घर–घरमा खानेपानी र रोजगारी दिने नारा उल्लेख गरे । सम्पूर्ण देशवासीलाई खानेपानी र स्वदेशमै रोजगारीको व्यवस्था गर्ने घोषणापत्र गरिएको थियो । त्यो वाचा या प्रतिबद्धता कागजमा मात्र सीमित रह्यो । घर–घरमा खानेपानी पु¥याउने वाचा गरेका दलहरू सरकारमा पुगे तर वाचा पूरा गरिएन । सुख्खायाम सुरु भएपछि त काठमाडौँ उपत्यकामा खानेपानीको हाहाकार नै हुन्छ । जलस्रोतको धनी देशमा पानी किनेर खानुपर्ने बाध्यता छ ।
खानेपानी आधारभूत आवश्यकताभित्र पर्छ । तर, सरकार खानेपानीसमेत निजीकरण गर्छ । राज्यले बन्दोबस्त गर्नुपर्ने खानेपानी किन निजीकरण गर्छ ? आमूल परिवर्तनका निम्ति ‘जनयुद्ध’ गर्ने माओवादीले खानेपानी निजीकरण ग¥यो । पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने नेकाले गर्ने काम ‘जनयुद्ध’ छेडेको कम्युनिस्ट पार्टीले खानेपानी निजीकरण गर्नु भनेको व्यक्तिलाई पुँजी पोस्ने काम हो । यस्तो काम कुनै सच्चा कम्युनिस्ट पार्टीले गर्दैन ।
खानेपानीको यो हाहाकार असारको पहिलो सातासम्म रहन्छ । जब वर्षा सुरु हुन्छ तब खानेपानीको त्यति समस्या हुँदैन । तर, त्यो बेला पानी फोहर हुन्छ, धमिलो हुन्छ, माटो मिसिएको पानी आउँछ, जुन पिउन मिल्दैन, लुगा धुन मिल्दैन । यसरी कहिले पानी नै नहुने र कहिले धमिलो भएर पानी खान नहुने समस्या छ । अहिले भक्तपुरमा पनि पानीको हाहाकार छ । जनतामा पानी आपूर्ति गर्न नसके पनि खानेपानी कार्यालयले पानीको सेवा शुल्क लिइरहेको छ । यस्तो बेला सेवा शुल्कमा छुट दिनुपर्ने हो । यसले एकातिर उपभोक्ताले पानी नआए पनि उत्तिकै पैसा बुझाउनुपर्छ भने अर्काेतिर थप पानी किन्न बाध्य छ । यसरी उपभोक्ताले दोहोरो खर्च व्यहोर्न बाध्य छ । यसबारे सरकार बोल्दैन । सत्तारुढ दलका नेताहरू बोल्दैनन् ।
तिनै दलका नेताहरू विकासको कुरा फुक्छन् । जनताको सेवा गरेको धाक लगाउँछन्, आफूलाई मालिक होइन जनसेवक भएर काम गरिरहेको बताउँछन् । सत्तासीन दलका नेताहरू एकातिर आफूले वाचा गरेको कुरा नै पूरा गर्दैनन् भने अर्काेतिर जनताको सेवामा जुट्दैनन् । पद, पैसा र भागबन्डा मिलेपछि उनीहरू आफ्नो इच्छा पूरा भएको ठान्छन् । सरकारको नेतृत्व या सरकारमा सामेल हुन पाएपछि तिनीहरू ढुक्क हुन्छन् । सरकारमा गएर ऐस आराम गर्नु या ऐय्यासी जीवन बिताउन पाउनु नै उनीहरूको आफ्नो कर्तव्य पूरा भएको ठान्छ ।
Leave a Reply