भर्खरै :

उम्मेदवारी मनोनयनसँगै तालाबन्दी, राजीनामा र कुटाकुट

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगको निर्धारित समयअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता भयो । देशभरि एकै दिन हुने उक्त निर्वाचनमा दलले गरेको उम्मेदवारी छनोटमा चित्त नबुझेर या सन्तुष्ट नभएर विशेषगरी नेका र एमालेभित्र धेरै ठाउँमा विवाद भएको देखिएको छ । सक्रिय पार्टी सदस्त्र्न्दा निष्क्रिय कार्यकर्ता छनोटमा पर्दा, केन्द्रले आफूखुसी उम्मेदवार चयन गर्दा, दलका नेताहरूको आ–आफ्नो दबाबले आ–आफ्नो पक्षधरका उम्मेदवारहरू चयन गरिएको कारण नेता तथा कार्यकर्ताहरूमा विवाद बढेको देखिन्छ । विवाद चर्केर कहीँ जिल्ला कार्यालयमा तालाबन्दी भयो त कहीँ राजीनामा । कहीँ बागी उम्मेदवारी देखिए भने कहीँ एक आपसमा कुटाकुट भए । निर्वाचनको बेला ठूला र सत्तारुढ दलका नेता, कार्यकर्ताबीच यसरी किन विवाद, कुटाकुट हुन्छ, किन राजीनामा दिन्छ र कार्यालयमा तालाबन्दी हुन्छ ? यो सबै आ–आफ्नो पक्षमा भागबन्डा नमिल्दाको परिणाम हो ।
ती दलका नेताहरू स्वच्छ राजनीति गर्दैनन् । ती दलका नेताहरू सिद्धान्त र विचारको राजनीति गर्दैनन् । ती दलका नेताहरू आ–आफ्ना पक्षधर कार्यकर्तालाई उम्मेदवारी बनाउन, जिताउन जोड दिन्छन् या छनोट गर्छन् । ती शासक पार्टीहरूमा इमानदारीपूर्वक राजनीति गर्नेभन्दा पैसा खेलाउन सक्ने, धाक धम्की र रवाफ देखाउन सक्ने व्यक्तिलाई पार्टीको उम्मेदवार बनाइएका छन् र इमानदार कार्यकर्तालाई पाखा लगाइएका छन् । अनि ती पार्टीभित्र किन विवाद हुँदैन ? किन विवाद चर्कँदैन ? असन्तोष, आक्रोश, भनाभन, कुटाकुट आदि सबै घटना दलहरूले इमानदारीपूर्वक स्वच्छ राजनीति नगर्दाको परिणाम भएको हो ।
सिद्धान्त र विचारभन्दा ठूला र सत्तासीन दलका नेता तथा कार्यकर्ताहरू पद र पैसाको लोभमा परेका कारण भागबन्डा मिलाउन नसकेको हो । गठबन्धनभित्रका दलहरूले आ–आफ्ना जिल्लाका नेता तथा कार्यकर्तालाई सम्झाउन नसक्दा तिनीहरूमा असन्तुष्टि बढेको यथार्थ हो । कार्यकर्ताहरू सिद्धान्तनिष्ठ नभएपछि या कार्यकर्ताहरूमा देश र जनताको सेवा गर्नुपर्छ भन्ने भावना नभएपछि त्यहाँ पार्टी अनुशासन र मर्यादा उल्लङ्घन नहुनु कसरी ¤ पार्टी निर्णय उल्लङ्घन गर्न कार्यकर्ताहरू किन अघि सरेका हुन् ? स्पष्ट छ, ती पार्टीका केन्द्रीय नेताहरूले दलका आफ्ना नेता तथा कार्यकर्तालाई राजनीतिकरूपले प्रशिक्षित गरेनन् । राजनीति देश र जनताको निम्ति गर्नुपर्छ भन्ने पाठ सिकाइएन । पद र पैसाको निम्ति राजनीति गरेपछि निर्वाचनमा यस्तै उपद्रो हुन्छ या कार्यकर्ताहरू उम्मेदवारी बन्न तँछाडमछाड गर्छन् । विचारै नमिल्ने दलसँग गठबन्धन भएपछि कार्यकर्ताहरूमा असन्तोष देखिनु स्वाभाविक हो । असन्तुष्टिको पराकाष्ठा नाघेपछि आक्रोश पोख्नु, कार्यालयमा तालाबन्दी गर्नु, कुटाकुट हुनु र बागी उम्मेदवार दिनु अन्यथा होइन । भागबन्डा नमिलेर, सिफारिस गरिएका उम्मेदवार चित्त नबुझेर देखिने असन्तुष्टि कहाँ गएर टुङ्गिन्छ त्यो समयले देखाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *