कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
राजनीति देश र जनताको सेवा गर्न हो, सु–व्यवस्थाको लागि हो, सुशासन र विधिको शासन गर्न हो । राजनीति देश जोगाउन हो । राजनीति जनताका आधारभूत आवश्यकता पूर्ति गर्न हो । राजनीति आपत्विपत् या सङ्कट पर्दा राहत पु¥याउन या समस्या समाधान गर्न हो । देशमा सन्तुलित विकास गर्न हो । राजनीति बहुमत जनताको सेवा गर्न हो । यिनै उद्देश्य पूरा गर्न हरेक राजनीतिक दलले राजनीति गरिरहेको हुन्छ, गर्नुपर्छ । सिद्धान्तनिष्ठ राजनीति भएमा राजनीतिप्रति मानिसको वितृष्णा हुनेछैन । राजनीतिक दलले देशका आम जनतालाई राजनीतिप्रति चासो बढाउन, राजनीतिमा लाग्नुपर्छ भन्ने भावना जगाउने काम हरेक राजनीतिक दलले गर्नुपर्छ । सबै राजनीतिक दलले सिद्धान्तनिष्ठ राजनीति गरेका भए स्वच्छ राजनीति गरेका भए, देश र जनताप्रति समर्पित भएर राजनीति गरेका भए राजनीतिप्रति वितृष्णा हुनेछैन । तर, सत्तारुढ र ठूला दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू राजनीतिक उद्देश्य छोडेर पद, पैसा र सत्तामा जान अनेक भ्रम र षड्यन्त्रको राजनीति गर्छन् । बल प्रयोग गरी धाक, धम्की र दबाब दिन्छन् । मानौँ, राजनीति भनेको पदमा पुगेर अकुत सम्पत्ति कमाउनु हो ।
स्वच्छ राजनीति भएको समाज आदर्शाेन्मुख हुन्छ । सद्भाव, संस्कार, शिष्ट व्यवहार हुन्छ । उच्छृङ्खल अराजक गतिविधि हुँदैन । हत्या, हिंसा, बलात्कार, बेपत्ता पार्ने काम हुँदैन । भ्रष्टाचार, अनियमितता हुँदैन । काखापाखा हुँदैन । समान व्यवहार हुन्छ । एक आपसमा सहयोगको भावना सहज हुन्छ । आपत्विपत् या सङ्कटमा सहयोग हुन्छ । कसैले कसैमाथि विश्वासघात गर्दैन । एकले अर्काेलाई सेवा गरेको हुन्छ । तर, ठूला दल र सत्तासीन दलका नेताहरू आफूले गर्नुपर्ने यस्ता काम भुल्छन् या वास्ता गर्दैनन् । राजनीति इमानदारीपूर्वक गर्नुपर्छ भन्ने भावना नै राख्दैनन् । त्यही कारण राजनीति गरेर झन् अव्यवस्था भयो, अराजक गतिविधि भयो, भ्रष्टाचार र अनियमितता बढ्यो, व्यक्तिगत र दलगत स्वार्थ बढ्यो, अस्थिरता भयो भन्ने गुनासो बढेको हो । राजनीतिलाई वितृष्णा बढाउने काम राजनीति दलहरूले गर्दा नै भएको हो । यसको दोषी सबै राजनीतिक दल होइनन् । अतः राजनीतिक दलले शुद्ध, स्वच्छ र सिद्धान्तनिष्ठ राजनीति गर्नुपर्छ ।
Leave a Reply