कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
हजारौँ वर्षदेखि उपनिवेशवादी र सामन्तवादीहरूको नियन्त्रणमा शोषित भएर रहेका नेपाली जनता ज्यादै अशिक्षित र पिछडिएका छन् । वैज्ञानिक चिन्तन प्रणाली उनका लागि सजिलै ग्राह्य हुन केही समय लाग्नेछ र यसका लागि निकै ठूलो धैर्य र परिश्रमको खाँचो पर्नेछ । मुख्य कुरा वैज्ञानिक चिन्तन प्रणालीको प्रचार–प्रसारलाई आफ्नो वर्गीय स्वार्थका लागि खतरनाक सम्झने रुढीवादी, सामन्तवादी तत्वहरूको विरोध र प्रतिरोधको सामना पनि वैज्ञानिक दृष्टि लिएका नयाँ बुद्धिजीवीहरूले गर्नुपर्नेछ । साँचो वैज्ञानिक निर्भिक हुन्छ र सत्यका निम्ति ऊ कस्तै बलिदान गर्न र दुःख खप्न वा मर्नसमेत डराउँदैन । विज्ञानको विकासको इतिहास स्वयं नै सङ्घर्ष र बलिदानहरूको एक प्रेरणादायी इतिहास हो । सत्रौँ–अठारौँ शताब्दीभन्दा अघिदेखि नै सामन्तवादको समर्थनबाट टिकेको र सामन्तवादलाई नै समर्थन दिएर टिकाइराखेको चर्चले विज्ञान र वैज्ञानिकहरूमाथि निर्मम दमनचक्र चलाएको कुरा युरोपको पुनर्जागरण कालको इतिहासले नै देखाइसकेको हो । हाम्रै नेपालमा पनि सामन्तवादी एकतन्त्री राणा शासकहरूले नै प्राचीन संस्कृतिको संरक्षणको नाउँमा नयाँ वैज्ञानिक विचारधारामाथि पूरापूर प्रतिबन्ध लगाएर हाम्रो शिक्षाप्रणालीलाई आफ्नै स्वार्थरक्षा गर्ने एक हतियार बनाएका थिए । वैज्ञानिक दृष्टिकोण आएपछि मानिसहरू ‘किन ?’ ‘कसरी ?’ जस्ता प्रश्नहरू सोध्न थाल्छन् र उनीहरूमा तर्क–वितर्क गर्ने, तथ्यहरूका आधारमा ठीक बेठीक छुट्याउने र निरीक्षण, प्रयोग, व्यवहार र तुलनात्मक अध्ययनबाट कुनै कुरालाई जाँचबुझ गर्ने अनि असत्य दर्शन र त्यसको आधारमा टिकेका अन्यायपूर्ण व्यवस्थालाई विरोध गर्ने क्षमता बढ्न थाल्दछन् । वैज्ञानिक दृष्टिकोणमा सङ्कीर्णता र अस्पष्टता हुँदैन । कसैको आस वा त्रासबाट यसको नियन्त्रण गर्न सकिदैन । यसले कसैलाई उसको बोलीवचनबाट भन्दा व्यवहारको कसीबाट जाँच्दछ । यसै कारणले गर्दा सामन्तवादी र अधिनायकवादीहरू वैज्ञानिक दृष्टिकोणबाट तर्सन्छन् । विज्ञानको विरोधमा रहस्यवादी, अभौतिक, धार्मिक दृष्टिकोणको समर्थन गर्दछन्, वैज्ञानिकहरूमाथि दमन र नियन्त्रण चलाउँदछन् । विज्ञान, वैज्ञानिक चिन्तन पद्धति र वैज्ञानिक विश्व दृष्टिकोणलाई नेपाली समाजमा शिक्षित समुदायमा मात्र होइन सामान्य जनजीवनमा पनि आज प्रतिष्ठित गर्ने आवश्यकतालाई बिस्तारै केही बुद्धिजीवीहरूले महसुस गर्दै आएको देखिन्छ । जुन खुसीको कुरा हो तर अचेलका भाषणहरूमा ‘आजको युग विज्ञानको युग हो’ जस्ता वाक्यहरू प्रायः धेरैतर्फबाट सुनिन्छ । त्यसैगरी, ‘वैज्ञानिक दृष्टिकोणअनुसार’ सोच्ने चलन पनि धेरैबाट जोड दिएको हामी पाउँछौँ । तर, यस्ता कुराहरू गर्ने शिक्षित व्यक्तिहरू स्वयं नै व्यवहारमा अवैज्ञानिक वा विज्ञानविरोधी पनि देखिन्छन् ।
विज्ञानका प्रोफेसर र छात्राहरूले पनि देवीदेवताको पूजा गरेको तथा देवलहरूमा फनफनी घुम्दै आँखा चिम्लेर मूर्तिअगाडि आशीर्वाद मागेको पनि देखिन्छ । उनीहरू त्यहाँ तर्क, व्यवहार प्रयोग, अनुभव आदि भन्दा आस्था र विश्वासमा भर पर्दछन् । यसबाट केही धार्मिक व्यक्तिहरू खुसी हुँदै विज्ञानले धर्मलाई हटाउन सक्दैन भन्ने प्रमाणका रूपमा यस्ता घटनाहरू प्रस्तुत गर्दछन् । तर, यस्ता घटनाहरूबाट न त ईश्वरको सत्ता सिद्ध हुन्छ न त धर्मको वैज्ञानिक दृष्टिकोणअनुसार व्यवहारमा चल्नु तथा अन्धविश्वास संस्कारहरूको ठाउँमा वैज्ञानिक संस्कारहरू प्रतिष्ठित गर्नु बिल्कुलै अर्को कुरा हो भन्ने तथ्यमात्र प्रकट हुन्छ । विज्ञान पढ्दैमा वैज्ञानिक दृष्टिकोण बन्दैन, यसको लागि आफूभित्रकै पुराना संस्कारहरूसित कठोर र लामो सङ्घर्ष गर्दै आफूलाई व्यवहारमा पुनःशिक्षित पार्दै जानुपर्ने आवश्यकता पर्दछ । आफ्ना राष्ट्रिय समस्याहरूका विषयमा वैज्ञानिक ढाँचाबाट जनताले सोच्न थालेपछि क्रान्तिकारी परिवर्तनहरू हुन थाल्ने आशङ्का र भयबाट तर्सेको शोषकवर्गले जहिले पनि शिक्षा, संस्कृति, साहित्य, कला आदिका क्षेत्रहरूमा पैसाको बलले अनेकन भ्रमात्मक फेसन र वादहरू झिक्न लगाएर वैज्ञानिक चिन्तनको विकासमा तगारो हाल्ने गर्छ ।
वैज्ञानिक चिन्तनको मुख्य उद्देश्य संसार र मानव समाजको व्याख्यामात्र गर्नु नभएर यसमा आमूल परिवर्तन ल्याउनु अनि समाजका राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षहरूलाई वैज्ञानिक दृष्टिबाट मानिसले विश्लेषण गर्न थालेपछि जनतालाई दास बनाइराख्ने सारा दर्शन र पद्धतिहरू त्यसै आफै ढलेर जान थाल्दछन् । यसैले वैज्ञानिक दृष्टिकोण शोषितवर्गको पक्षमा हुन्छ तर शोषकवर्गले भने यसलाई रोक्न र उदङ्ग्याउन छाड्दैन । सामन्तवादी र साम्राज्यवादीहरू भने बडो बठ्याइँका साथ त्यसको उपयोग आफ्नो शोषण पद्धतिलाई टिकाइराख्नका लागि गर्छन् ।
आज विज्ञान पनि पुँजीपति र साम्राज्यवादीहरूको हातमा खेलौना भएर उनीहरूको स्वार्थपूर्तिको साधन हुन पुगेको छ । वैज्ञानिक र प्राविधिक उपलब्धिहरूमाथि कब्जा गरेर त्यसबाट जनसमूहमाथि नै आफ्नो अधिनायकवादी नियन्त्रण कायम गर्ने कुप्रयास पाश्चात्य साम्राज्यवादीहरू गर्दै छन् । हामीले यसको पनि विरोध गर्नुपर्दछ । वैज्ञानिक उपलब्धिहरूमाथि रहेको यस राजनैतिक एकलौटी नियन्त्रणलाई समाप्त नपारुन्जेल व्यापक जनसमूहले आजका वैज्ञानिक उपलब्धिहरूको फल चाख्न पाउने छैनन् । यसैले वैज्ञानिक र विज्ञानसम्बन्धी प्रश्नहरू पनि वर्गसङ्घर्षका राजनैतिक प्रश्नहरूसित गएर गाँसिन्छन् । यस यथार्थ राजनैतिक वैज्ञानिक तथ्यप्रति आँखा चिम्लेर विज्ञानलाई पनि बौद्धिक मनोरञ्जन वा रहस्यको वस्तु ठान्नु वा यसलाई केवल, जिज्ञासा वा अमूर्त चिन्तन वा दिग्गजहरूको चासो वा विशेषज्ञहरूको विषयका रूपमा मात्र सीमित राख्नु एक भयङ्कर गल्ती हुनेछ । वर्गसङ्घर्ष र उत्पादनका लागि गरिने सङ्घर्षको प्रक्रियामा प्रकृतिसित जुझ्दा जनताले व्यावहारिक अनुभव र प्रयोगका आधारमा विज्ञानको विकास गरेका हुन् । त्यसैले आदर्शवादी वा रोमान्टिक चिन्तन प्रणालीसित यसको घोर विरोध रहेको हुन्छ । यसले रूढीवाद र यथास्थितिवादको खण्डन गर्छ । यसले आध्यात्मिक र मनोगतवादी धारणालाई होइन कि व्यावहारिक वस्तुगत र जनवादी दृष्टिकोणलाई हुर्काउँछ र बढाउँछ । हुन त केही अपरिपक्व प्रतिक्रियावादी बुद्धिजीवीहरूले विज्ञानलाई पनि आध्यात्मिक, रहस्यवादी ढङ्गमा व्याख्या गरेका छन् । तर, कुनै पनि किसिमको विचार, साहित्य र चिन्तन प्रणालीका भ्रमहरूलाई उदाङ्ग पार्दै स्वस्थ जनवादी प्रगतिशील वैज्ञानिक नेपाली संस्कृतिको विकास गर्दै लग्ने आजको महान् ऐतिहासिक आवश्यकतामा ‘त्यस्ता वैज्ञानिक लेखकहरू’ ले पनि योगदान गरुन् भन्ने हाम्रो अपेक्षा छ ।
हामीले प्रस्टरूपमा विज्ञान र वैज्ञानिक चिन्तनलाई बहुसङ्ख्यक शोषित जनताको स्वतन्त्रता, मुक्ति र प्रगतिको महान लक्ष्य प्राप्तिमा प्रभावकारी साधन बनाउनुपर्दछ । पुँजीवादी देश र समाजवादी देशहरूमा भएका विज्ञानको प्रगति र स्थितिको तुलनात्मक अध्ययन गरियोस् । वैज्ञानिक सिद्धान्त र आविष्कारहरू आफैमा राजनैतिक रूपबाट निरपेक्ष, तटस्थ वा असम्बन्धित देखिए तापनि तिनको मूल्याङ्कन, व्याख्या र प्रयोग गर्दा वर्गीय राजनीतिको छाप पर्नु अवश्यम्भावी हुन्छ, किनभने वर्गहरूमा विभाजित समाजमा वैज्ञानिक पनि कुनै न कुनै वर्गभित्र पर्दछ र समाजको शासकवर्गले ती सिद्धान्त र आविष्कारलाई आफ्नो वर्गीय हितअनुकूल नै प्रयोग गर्दछन् । यसरी बाहिरबाट तटस्थ र निरपेक्ष सत्त्mैँ देखिने विज्ञान पनि सामाजिक आएर वर्गसापेक्ष बन्न जान्छ । यो दमनको साधन भएको छ र वैज्ञानिक साधनहरूको पनि यान्त्रिक रूपबाट उपयोग भएको छ र केवल आफ्नो चमत्कार देखाउने, एसिया, अफ्रिका र संसारका अन्य मुलुकका पिछडिएका जनतालाई चटकेले झँै तर्साउने र उल्लू बनाउने साधनका रूपमा मात्र पश्चिममा पुँजीवादी मुलुकहरूले यसलाई लिएको देखिन्छ । त्यसैले गर्दा पिछडिएका व्यापक जनसमूहमा विज्ञानप्रति पनि एउटा अनौठो उदासीनता उत्पन्न हुँदै गइरहेछ । यस उदासीनता र जडताका पछाडि राजनैतिक र आर्थिक कारणहरू मुख्यरूपले सक्रिय हुन्छन् ।

धार्मिक रूढिवादले यस उदासीनताको ठूलो फाइदा उठाएर सामन्तवाद र साम्राज्यवादलाई सांस्कृतिक रूपबाट पुनः जीवित हुन र पुनः प्रतिष्ठापित गर्न ठूलो सहयोग गर्दै छ । यस तथ्यलाई राम्ररी बुझेर चलेमा हामीले नेपाली जनताको साँच्चै न एक ज्यादै ठूलो सेवा गर्न सक्नेछौँ । नेपालीमा वैज्ञानिक साहित्यको निकै ठूलो खाँचो छ । यसतर्फ विदेशी भाषाबाट अनुवाद हुने काम पनि नगण्य नै छ । यस कमीको पूर्ति गर्न सक्नुपर्छ । अनुवाद गर्दा जनताको आवश्यकताअनुसार विज्ञानलाई लोकप्रिय पार्ने खालका रचनाहरूलाई प्राथमिकता दिनुपर्छ ।
पुँजीपति र सामन्तीहरूले विज्ञानका आविष्कारहरूलाई नाफा कमाउने साधन बनाई व्यापक मात्रामा जनताको शोषण गरेका छन् र अणुवम, रासायनिक र आणविक शस्त्रास्त्र आदिद्वारा युद्ध थोपरेर जनतालाई दास बनाउने र मानव सभ्यतालाई नै नष्ट गर्ने कुप्रयास गरेका छन् । वैज्ञानिक चेतना भएकाहरूले न्याय र प्रगतिका समर्थकहरूले विज्ञानलाई सामन्ती र साम्राज्यवादीहरूको यस्तो नियन्त्रणबाट मुक्त पार्नैपर्छ । विज्ञानको मद्दतबाट आफ्नो अधिनायकवादी र आक्रामक शासन व्यवस्था टिकाइराख्न खोज्नेहरूको विरोध गर्नैपर्छ । यसरी शोषकवर्ग र शोषितवर्गका बीचको वर्गसङ्घर्षमा विज्ञान मुछिन जान्छ, विज्ञान र राजनीतिको सम्बन्ध प्रस्ट हुन्छ । यस तथ्यप्रति आँखा चिम्लनेहरूलाई यथार्थवादी अर्थात् वैज्ञानिक दृष्टिकोण भएका मानिस भन्न सकिन्न । विज्ञानलाई समाजमा वर्गसङ्घर्ष, उत्पादनका लागि प्रकृतिसितको सङ्घर्ष र वैज्ञानिक विश्व दृष्टिकोणको आधारमा शोषितवर्गको मुक्तिका समस्याहरूसित गाँसेर हेर्नुपर्छ । समाज र जीवनसित काटिएको विज्ञान वास्तविक अर्थमा विज्ञान कहलाउन सक्दैन ।
दर्शनको क्षेत्रमा विज्ञान द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको रूपमा प्रकट हुन्छ र योमात्र एक सही ज्ञान हुनुका साथै जनकल्याणकारी जीवनदृष्टि पनि हो भन्ने कुरा प्रमाणित भइसकेको छ । वैज्ञानिक दृष्टिमा आधारित नैतिकता र संस्कृति आदर्शवादी नैतिकता र संस्कृतिभन्दा श्रेष्ठ पनि हुन्छ । समाजमा व्याप्त विभिन्न घटनाहरूलाई गहिरिएर विश्लेषण गर्नु अन्तर्विरोधहरू पत्ता लगाउनु र तिनको समाधानको बाटो पहिल्याउनु र भ्रमात्मक र आधारहीन छिपछिपे ज्ञानबाट अनुभवमा आधारित प्रयोगबाट प्रमाणित बढी पूर्ण र विकसित गहिरो ज्ञानतर्फ अघि बढ्नु विज्ञानको विशेषता हो, हास्यास्पद काम विज्ञानको होइन ।
वैज्ञानिक विषयवस्तुहरूलाई प्राथमिकता दिएर वैज्ञानिक चिन्तन प्रणालीमा जनतालाई सोच्न लगाउने महान् उद्देश्य लिएर चल्ने एक अभियानको खाँचो नेपाली समाजमा धेरै अघिदेखि नै रहेको छ । ठूल्ठूला प्रतिष्ठान, संस्थान, विश्वविद्यालय र गुठीहरूले यो काम गर्नुपर्ने हो । तापनि, आफ्नै वर्गीय स्वार्थले गर्दा नेपाली समाजमा विज्ञानको प्रचार–प्रसार गर्नतर्फ उत्साहित हुनसक्दैनन् । बुद्धिजीवीहरूको प्रयासबाट नयाँ दृष्टिकोणमा रचनाहरू आउनुपर्छ । साम्राज्यवाद, उपनिवेशवाद, सामन्तवाद, पुँजीवाद तथा तिनको पृष्ठपोषक संस्कृति अर्थात् जातिगत भेदभाव, धार्मिक रूढिवाद र शोषण व्यवस्थालाई टेवा दिने, बिरामी पर्दा भाकल राख्ने, कुनै काममा असफल हुँदा देवीदेवताको पूजा गर्ने, भविष्यमा भलो होस् भनेर भाग्यमा भर परी बस्ने, आफ्ना दुःखकष्ट, पिरमर्काहरू साम्राज्यवाद, उपनिवेशवाद र सामन्तवादले गर्दा भएका हुन् भन्ने कुरा नबुझेर अघिल्लो जन्मको फल हो भनेर सारा अन्याय अत्याचार सहिरहने, आफूलाई पुस्तौँदेखि शोषण गर्ने जालीफटाहाहरूमा पनि ‘उही आत्मा’ देखेर प्रतिरोध नगर्ने, आफूलाई चुस्नेहरूप्रति पनि निमकको सोझो गर्ने, मरेपछि स्वर्ग जाने उमेदमा यो जुनी नर्कै भए पनि केही नमान्ने, देशको कृषि इन्द्र भगवानको पूजाबाट र उद्योग व्यवसाय लक्ष्मीपूजाको वर्तबाट सप्रन्छ भन्ठानेर पात्रो उल्टाउने निमुखा सोझा नेपाली जनताको सांस्कृतिक जडता र मानसिक दासताको उपचार वैज्ञानिक दृष्टिकोणको प्रचार–प्रसारबाट मात्र सम्भव छ । शोषकवर्ग आफ्नो वर्गीय स्वार्थको हित गर्ने कुरालाई नै ‘वैज्ञानिक’ भनेर जोड दिन्छ र आफ्नो नोक्सान पर्ने स्थितिमा विज्ञानका नियमहरूलाई पनि ढाकछोप गर्ने र बङ्गयाउने दुस्साहससम्म गर्दछ । तर, संसारका वस्तुगत नियमहरू र इतिहासको गतिशीलतालाई उल्लङ्घन गर्न खोज्नेहरू आखिरमा आफै मूर्ख सिद्ध हुन्छन् ।
आफ्ना सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक समस्याहरूलाई वैज्ञानिक अर्थात् वस्तुगत र प्रगतिशील दृष्टिबाट हेर्न थाल्नासाथ जनता आफ्ना शत्रु र मित्रहरूलाई छुट्याउन समर्थ हुन थाल्छन्, आफ्नो हित र अहित भन्ने कुरालाई राम्ररी बुझ्न थाल्छन् र आफ्नो दासतापूर्ण पिछडिएको जीवनमा आमूल परिवर्तन गर्न कम्मरकसेर उभिनेछन् । यसरी जनताको सङ्घर्षसित गाँसिएर वैज्ञानिक दृष्टिकोण क्रान्तिकारी दर्शनमा फेरिन जान्छ । जनताको वास्तविक समस्यालाई समाधान गर्नमा प्रयोग नगरिउन्जेल वैज्ञानिक दृष्टिकोणको कुनै अर्थ नै रहँदैन । वैज्ञानिक दृष्टिकोण सबै जनताको पक्षमा रहन्छ किनभने यसले सारा अन्धविश्वास, रूढिवादी र त्यससित गाँसिएर रहेका व्यवस्थाहरूलाई जरैदेखि उखेली जनतालाई मुक्त पारिदिन्छ । जनताविरोधीहरूको सारा शब्दजाल जसको धारिलो मारबाट छ्यान्नव्यान्न हुन्छ । हामी गरीब, पिछडिएका र शोषित नेपालीहरूले वैज्ञानिक दृष्टिकोण लिएर सोच्न थालेपछि मात्र हाम्रो मुक्ति र प्रगतिको सपना साकार होला । हामीले ‘किन ?’ भनेर सोध्न थालेपछि मात्र हाम्रा गरिबी, अशिक्षा र दासताका कारणहरू छर्लङ्ग होलान् अनि ‘कसरी ?’ भनेर गम्न थालेपछि मात्र हाम्रो मुक्ति र प्रगतिको बाटो देखा पर्ला ।
स्रोतः गोविन्द भट्टका दार्शनिक रचनाहरूबाट
Leave a Reply