जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
स्थानीय तहको उम्मेदवारी मनोनयनसँगै पैसाको छेलोखेलो हुन थालेको खबर छ । कति दलले सोझासीधा सर्वसाधारण जनतालाई पैसा दिएरै उम्मेदवारी दिन लगाएको खबर टोलटोलमा चर्चा परिचर्चा हुन थालेको छ । पार्टीबाट प्राप्त रकम उम्मेदवारी बन्नेलाई थोरै दिएर बाँकी पैसा दिनेले लिएको कारण तिनीहरूबीच विवाद भएको पनि चियापसलमा सुन्न पाइन्छ । निर्वाचनमा उम्मेदवारी दिन लगाउन नै पैसा बाँडिन्छ भने अरू बेला कति बाँडिन्छ होला ? पैसा बाँडेर जनताको मत लिने दलको स्वार्थ जनताको सेवा गर्न होइन मन बिगार्न हो भन्ने कुरा बुझ्न कठिन छैन ।
पैसामा व्यक्ति बिक्नु राम्रो होइन । आफ्नो मत पैसामा बिक्नु हुँदैन । मानिसको मत कुनै वस्तुसरह बेचिनु ठीक होइन । मानिस पशु होइन बिक्न । पैसामा मानिस र राजनीति बिकेपछि, बिकाउने राजनीति गरेपछि त्यो दलको उद्देश्य ठीक छैन भन्ने कुरा थाहा हुन्छ । पैसा बाँडेर मत लिने दल र जित्ने व्यक्तिको मन कसरी सफा हुन्छ ? राजनीतिलाई व्यापार–व्यवसायको रूपमा लिनु राजनीतिमा देखिएको विकृति हो । मनोनयन दर्तासँगै देखिएको यो मनोवृत्तिले जनताको मन भाँड्ने काम गर्छ । कार्यकर्ताले दलको सिद्धान्त र विचार थाती राखेर पैसाको राजनीतिमा हाम फाल्नु ठीक होइन । त्यस्तो गलत राजनीतिको विरोध गर्नुपर्छ । पैसा, भ्रम, झूटको राजनीतिले ठाउँ पाउनु शुभ सङ्केत होइन । राजनीति व्यापार होइन । पैसाको आडमा बिक्ने र बिकाउने राजनीति फोहर राजनीति हो । यस्तै फोहरी राजनीतिले गर्दा राजनीतिक दलहरूको बदनाम भएको हो । यसरी एक दुई वटा राजनीतिक दलको बेइमानीले गर्दा अरू दलको समेत बदनाम भइरहेको छ ।
तर, एउटा दलले गरेको नराम्रो कामको दोष सबै दललाई दिनु ठीक होइन । एमाले र माओवादी केन्द्रले माक्र्सवाद–लेनिनवादको विचार छोडे भनेर सबै दललाई मुछ्ने गरी टिप्पणी गर्नु सही हुँदैन । एक अर्थ विश्लेषकले भने, “बैङ्कमा राजनीतिक दलले अरबौँ रकम राखेको छ, त्यो रकम स्थानीय तहको चुनावमा खर्च हुन्छ । निर्वाचनमा खर्च गर्नका लागि नै त्यो रकम जम्मा भएको थियो ।” कुनै व्यक्तिको आत्मा पैसाले किन खोज्ने कार्यको विरोध गर्नैपर्छ । साथै राजनीतिलाई वस्तुभाउ बनाउने कामको विरोध गर्नुपर्छ । पैसाको आसमा लोभिने, पैसाको भरमा राजनीतिमा लाग्ने कार्यकर्ता, समर्थक या शुभेच्छकहरूलाई एकक्षण ऐस, आराम गर्ने अवसर मिल्ला, खान लाउन पाउला । तर, त्यो राजनीति गलत छ । कति दलले कार्यकर्ता बिगार्न, जनताको मन भाँड्न नै यस्ता आपराधिक क्रियाकलाप गरेको हुन्छ । सही दलको सही राजनीति बिथोल्न र जनताका योग्य उम्मेदवार हराउन यस्ता विकृत राजनीतिक कार्य भइरहेको हुन्छ । यसमा हामी सबै सचेत हुनुपर्छ ।
Leave a Reply