निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, १९ वैशाख । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति सूर्यविनायकको आयोजनामा आइतबार देउजागाउँमा चुनावी सभा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले खोला र नदीनाला बेच्ने, एमसीसी सम्झौता गरी देशघात गर्ने पार्टी र उम्मेदवारहरूलाई चिन्नुपर्छ भन्नुभयो ।
कामदारहरूको हितमा लाग्ने पार्टी नेपाल मजदुर किसान पार्टीलाई जिताउन आग्रह गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचार दिन दुगुना रात चौगुना बढिरहेको छ । भ्रष्टाचार बढ्नुमा सरकारमा जाने पार्टी जिम्मेवार छन् । भ्रष्टाचारकै कारण महँगी बढिरहेको छ । प्रत्येक मालसामानमा कमिसनको खेल चलिरहेको छ ।”
कोरोना महामारीको बेलामा जनतालाई औषधि मूलोको व्यवस्था गर्न नसक्नु सरकारको नालायकीपन हो, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सचिव एवम् सूर्यविनायक नगरपालिका वडा नं १० का वडाध्यक्ष उम्मेदवार पाण्डव सुवालले विकासको नाममा सूर्यविनायक नगरपालिकामा कार्यकर्ता पोस्ने कामको विरोध गर्नुभयो । आफ्नै कार्यकर्ता ठेकेदार हुने र उनै ठेकेदारलाई उपभोक्ता समितिको अध्यक्षको नाममा योजना सञ्चालन गर्न दिनु कमिसनको खेल हो । जनताको जग्गा र सार्वजनिक सम्पत्तिमा रजाइँ गर्ने नगरपालिकाका जनप्रतिनिधिलाई सजाय दिन नेमकिपाका उम्मेदवारलाई जिताउनुपर्छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य सुलोचना छ्वाजूले मजदुर आन्दोलनकै कारण मजदुरको हितमा केही कानुन बनेको हो भन्नुभयो । आन्दोलनबाहेक मजदुरसँग अर्काे विकल्प नभएको हुँदा मजदुर सङ्गठित हुनुपर्छ, उहाँले भन्नुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न सो सभामा नेमकिपाको तर्फबाट सूर्यविनायक नगरपालिका प्रमुखका उम्मेदवार श्याम विसुंके, उपप्रमुखका उम्मेदवार चनमती खुलिमुली, वडा नं १० का वडा सदस्य उम्मेदवार सानुमाया सुवाल र कृष्णहरि खड्काले पनि बोल्नुभएको थियो ।
Leave a Reply