निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २० वैशाख । नेपाल मजदुर किसान पार्टीको आयोजनामा मङ्गलबार भक्तपुरको भार्वाचोमा चुनावी सभा भयो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूलाई अत्यधिक मतले विजय गर्न आह्वान गर्दै आयोजित सभामा वक्ताहरूले एमसीसी सम्झौताको समर्थन गरेर देशहित विपरीतको काम गर्ने शासक दललाई सजाय गर्न आह्वान गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव तथा सङ्घीय संसद् सदस्य प्रेम सुवालले काङ्ग्रेस र एमालेले नेतृत्वका अलग अलग गठबन्धनबीच चुनावी प्रतिस्पर्धाले अन्ततः देशलाई दुईदलीय तानाशाही शासनमा पु¥याउने र दुईदलीय तानाशाही नेपाली जनताको बहुदलीय प्रजातन्त्रको भावनाविपरीत भएको बताउनुभयो ।
एमसीसीमार्फत संरा अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा सैन्य मोर्चा विस्तार गर्न खोजिरहेको र एमसीसी सम्झौता पारित गरेर शासक दलले नेपालमा अमेरिकी सेना पस्ने बाटो खोलिदिएको भन्दै स्थानीय तहको निर्वाचन एमसीसी सम्झौता पारित गर्ने र मौन समर्थन गर्ने दलहरूलाई सजाय गर्ने जनतासँग भएको अवसर हो भन्नुभयो ।
“नेपाली जनतासँग बाँकी भएकै सार्वभौमिकता मात्र हो । एमसीसी सम्झौताले त्यो सार्वभौमिकता पनि नेपाली जनताबाट खोसेको छ । त्यसकारण, नेपाली जनता मिलेर एमसीसी सम्झौता गराउन दिनुहुन्न”, सांसद सुवालले भन्नुभयो ।
उहाँ सिंहदरबार कब्जा गरेका शासक दलहरू भक्तपुर नगरपालिकामा नेमकिपाले गरेका जनहितका कामबाट डराएको भन्दै नेमकिपाले गरेका असल काम देखिनसहने शासक दलहरूले आफ्नो घर पनि नबनाउने र अरूले बनाएको घर पनि भत्काउने गरेको बताउनुभयो ।
सांसद सुवालले देशमा ३२ वर्षदेखि शासन गर्दै आएका राजनीतिक दललाई फेरि पनि मत दिनु भस्मासुरलाई वरदान दिनुजस्तै हुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख पदका लागि नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिले नेमकिपा अध्यक्ष नारायणमा बिजुक्छेँ (रोहित) ले ‘सय वर्ष पछिको भक्तपुर’ मा परिकल्पना गरेको अवस्थामा भक्तपुरलाई पु¥याउन गर्न बाँकी काम धेरै रहेको र नेमकिपाले त्यस्तो समाज निर्माणको निम्ति लगातार काम गरिरहने बताउनुभयो ।
नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले देश र जनताको स्वाभिमान झुक्ने कुनै पनि काम नगरेको भन्दै उहाँले आफूलाई कम्युनिस्ट भन्ने दलका मन्त्रीहरूले जनस्तरमा सञ्चालनमा रहेको कलेज बन्द गराएकोप्रति खेद व्यक्त गर्नुभयो ।
जनताको सहयोग र ऐक्यबद्धताको कारण प्रतिकूल समयमा पनि भक्तपुर नपाले जनताको सेवामा लगातार उदाहरणीय काम गर्न सकेको भन्दै प्रजापतिले शासक दलहरूले विधेयक पारित गर्दा ख्वप विश्वविद्यालय स्थापना गर्ने भक्तपुरका जनताको सपना अझै अधुरो रहेको बताउनुभयो ।
उहाँले विश्व सम्पदा क्षेत्रमा रहेको भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला सङ्ग्राहलय पुनः निर्माणको निम्ति युनेस्कोबाट आवश्यक पत्र प्राप्त नहुँदा ऐतिहासिक स्मारकको काम पूरा नगरेको भन्दै भक्तपुर नपाले विगत पाँच वर्षमा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा प्राप्त सफलताबारे चर्चा गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सृजना साय्जूले कुनै बेला टाउकोको मोल तोक्ने पार्टी र टाउकोको मोल तोकिने पार्टीको अराजनीतिक गठबन्धनप्रति नेपाली जनताले प्रश्न उठाइरहेको भन्दै जनताको सेवा गर्नुबाहेक नेमकिपाका नेता कार्यकर्ताको जीवनको कुनै उद्देश्य नभएको बताउनुभयो ।
उहाँले शासक दलका अदूरदर्शी नीति, कार्यक्रम र गतिविधिको कारण देश आर्थिक रूपमा परनिर्भर र कमजोर भएको बताउनुभयो ।
नेमकिपाको तर्फबाट भक्तपुर नपा वडा नं १ का वडाध्यक्ष पदका उम्मेदवार श्यामकृष्ण खत्रीले पाँच वर्षको अवधिमा जनताको सहयोगमा वडामा भएका विकास निर्माणका गतिविधिबारे प्रकाश पार्नुभयो ।
सभा नेमकिपा भक्तपुर वडा नं १ का अध्यक्ष लक्ष्मीनारायण खत्रीको सभापतित्वमा भएको थियो । सभामा बाराही अजिमा भजन खलका कलाकारहरूले मादल चिह्नमा मतदानको निम्ति आह्वान गर्दै गीत प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply