भर्खरै :

चानपा – ३ झौखेलमा चुनावी सभा

भक्तपुर, २० वैशाख । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिको आयोजनामा मङ्गलबार झौखेलमा चुनावी सभा सम्पन्न भयो ।
सभामा पार्टीका सचिव प्रेम सुवालले एमसीसी पारित गर्नेहरू देशघाती भएकोले एमीसीसीको विरोधमा सङ्घर्ष गर्ने देशभक्त पार्टी नेमकिपालाई मतदान गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी पारित भएपछि संयुक्त राष्ट्र सङ्घको बैठकमा नेपाललाई रुसविरुद्ध बोल्न बाध्य पारियो । यो नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत छ ।”
अफगानिस्तानमा अमेरिकी लडाकु विमानले आक्रमण गर्दा प्रम देउवाले नेपालको एअरपोर्टमा अमेरिकी वायु सेनालाई इन्धन भर्न दिने काम गलत भएको उहाँले बताउनुभयो ।
नेपाली काङ्ग्रेस, एमाले, माओवादीले तीन प्रतिशतको मतसीमा (थ्रेसहोल्ड) पारित गर्नु प्रजातन्त्रविपरीत कार्य भएको सचिव सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “शासक दलहरूले देशलाई बर्बाद पारेकाले शासक दलहरूलाई मत दिए भष्मासुरलाई बरदान दिएसरह हुनेछ ।”
नेमकिपाको तर्फबाट चाँगुनारायण नगरपालिकाको प्रमुख पदका उम्मेदवार केशवप्रसाद तिमल्सेनाले आफू निर्वाचित भए चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिज्ञा गर्नुभयो ।
उहाँले भन्नुभयो, “चाँगुनारायण नगरपालिकामा नेमकिपाका उम्मेदवारहरू निर्वाचित भएमा शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर जनताको सेवामा लाग्नेछु ।”
चानपा – ५ का वडाध्यक्ष उम्मेदवार न्हुछेभक्त फोजूले नेमकिपाले सांसद विकास कोषको चाँगुनारायण नगरपालिकामा खर्च गरेको चर्चा गर्दै नेमकिपाले देश र जनताको इमानदारीपूर्वक सेवा गरिरहेको हुँदा नेमकिपाका उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ भन्नुभयो ।
चानपा – ३ का वडाध्यक्ष उम्मेदवार कृष्णराम सुलुले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले भक्तपुर नगरपालिकालाई देशकै उत्कृष्ट नगर बनाएको हुँदा चाँगुनारायण नगरपालिकालाई पनि राम्रो बनाउन नेमकिपाका उम्मेदवारहरूलाई निर्वाचित गर्न आग्रह गर्नुभयो ।
लक्ष्मीभक्त दुवालको सभपातित्वमा भएको कार्यक्रममा उपप्रमुखका उम्मेदवार कल्पना लामा, परशुराम गेलाल, मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *