निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २० वैशाख । नेपाल मजदुर किसान पार्टी भनपा वडा नं. ४ समन्वय समितिको आयोजनामा मङ्गलबार उम्मेदवार परिचयात्मक कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिले अघिल्लो कार्यकालमा नेमकिपाको चुनावी घोषणापत्रअनुसार ९० प्रतिशत काम भएको पुष्टि गर्दै १२४ वटा सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेको तर दूधपाटीस्थित भाज्यापोखरी, गःहिटीको लक्ष्मीनरसिंह मन्दिरजस्ता केही महत्वपूर्ण सम्पदाहरूको पुनःनिर्माण कार्य चालु रहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, कला र संस्कृतिको क्षेत्रमा भक्तपुर नगरपालिकाले नमुनाको रूपमा कार्य गर्नसक्नुमा जनताको अपार साथ र सहयोगको देन रहेको भनाइ राख्दै उहाँले पछिल्लो समय ख्वप मोडेलबारे चारैतर्फ चर्चा हुन थालेको प्रसङ्गबारे प्रस्ट पार्नुभयो ।
सरकारले ख्वप विश्वविद्यालय र मेडिकल कलेजको स्वीकृति नदिनु निजी क्षेत्रको स्वार्थका लागि पूर्वाग्रही मानसिकताको उपज भएको उहाँले टिप्पणी गर्नुभयो । हरेक विकास निर्माणमा उपभोक्ता समितिमार्फत काम हुँदा ६२ प्रतिशतमात्र खर्च लागेको तथ्य प्रस्तुत गर्दै कोभिडको बेला ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि जनताबाट उत्साहप्रद सहयोग जुटेको दृष्टान्त राखी उहाँले नेपालमा पहिलो श्वासप्रश्वास केन्द्रको स्थापना भनपामै भएको बताउनुभयो ।
नेमकिपा भनसका सदस्य अनिता जधारीले शोसितपीडित जनतालाई शासन सत्तामा पु¥याउन नेमकिपाले चुनावलाई उपयोग गर्दै आएको चर्चा गर्दै नेमकिपाले निजी व्यक्तिको लाभहानिको निम्ति नभई व्यापक जनताको सेवाको लागि राजनीति गर्दै आइरहेको बताउनुभयो ।
नेमकिपाका अग्रज कार्यकर्ता विश्वनाथ प्रजापतिले भक्तपुर कम्युनिस्ट आन्दोलनको पथप्रदर्शक भएको पुष्टि गर्दै समाजको आमूल परिवर्तनको लागि वर्गसङ्घर्षलाई निरन्तरता दिई अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले जनताका सच्चा उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजयी गराउन जोड दिनुभयो ।
नेमकिपा भनपा ४ वडा समन्वय समिति संयोजक एवम् उम्मेदवार उपेन्द्र सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा सदस्यका उम्मेदवार पुरूषोत्तम तमखू, कृष्णसुन्दर प्रजापति, महिला वडा सदस्य पदका उम्मेदवार विष्णुकेशरी दुवाल, राजेन्द्र माक, पञ्चरत्न सैंजूलगायतले बोल्नुभयो ।
Leave a Reply